सानफ्रानसिस्को ।
सानफ्रानसिस्को बे एरियामा शिव बुद्ध मन्दिर निर्माणका लागि भएको पहिलो भेलामा उत्साहजनक सहभागिता र राम्रो आर्थिक सङ्कलन भएको छ । ४ सय भन्दा बढी सहभागी भएको भेलामा नेपालीहरूले एकै दिनमा करिब ४ लाख डलर सङ्कलन गरेका हुन् । अर्थ सङ्कलनमा जुटेका सूर्य शर्माले भने ‘स्वतःस्फूर्त रूपमा मन्दिर निर्माणका लागि सहभागी बन्न र हिस्सेदारी लिन धेरै जना आउनु भयो । यो खुसीको कुरा हो । रकम सङ्कलन हुने क्रम जारी छ । आज करिब ४ लाख डलरको हाराहारीमा सङ्कलन हुने सम्भावना छ ।’ भेलामा यो रकम एकै दिनमा उठ्ला भनेर अपेक्षा गरे भन्दा केही बढी हो । यो अभियानमा जुटेका राजेश थापाले अब मन्दिर निर्माणले नेपालीहरूलाई आध्यात्मिक र भावनात्मक रूपमा जोड्न सहयोग पुग्ने बताए ।
कतिपयले यस्तो ठुलो अभियानलाई सफल बनाउन बे एरियाको नेपाली समाज र सङ्घ संस्था वीचमा एकता हुनु पर्ने विषयहरूमा चासो देखाएका थिए । मानिसहरूको जिज्ञासालाई शान्त पार्दै समाजसेवी तथा व्यवसायी अनिल पाण्डे र यज्ञलाल श्रेष्ठले मन्दिर निर्माण गरेर सानफ्रानसिस्को बे एरियामा रहेका नेपालीहरूको चाहाना पुरा गर्न आफूहरू लागि परेको बताइरहेका थिए ।
भेलामा एनएएनसीका सल्लाहकार र पूर्व पदाधिकारीहरू ठुलो सङ्ख्यामा उपस्थित भएका थिए । न्यान्सका पूर्व कोषाध्यक्ष नारायण पोखरेल भन्छन् ‘बे एरियमा ठुलो सङ्ख्यामा नेपालीहरू रहेका कारण शिव बुद्ध मन्दिर निर्माण अपरिहार्य जस्तै भएको छ । यसले नेपालीहरूको आस्था, मौलिक र धार्मिक परम्परालाई जीवन्त गराउँछ ।’
कार्यक्रममा सहभागी हुन पुगेका पण्डित सी पी अर्याल नेपालीहरूको प्रयासमा वन्ने मन्दिरले काजक्रिया, पूजापाठ, श्राद्ध, धार्मिक अनुष्ठान गर्न र गराउन सहज हुने विश्वास गर्छन् । सबै भन्दा ठुलो आस्था र विश्वास हो । त्यसका लागि आत्मा र परमात्मालाई जोड्ने पुलको काम मन्दिरले मात्र गर्न सक्छ ।
अमेरिकामा रमाइलो र नाचगान गर्न भने जस्ता थुप्रै स्थानहरु छन् । औषधि उपचार गर्न जताततै अस्पताल छन् । आस्था र विश्वासको धरोहरको रूपमा रहेको नेपालीहरूको आफ्नै मन्दिर भने सानफ्रानसिस्कोमा छैन । सानफ्रानसिस्को क्षेत्रमा करिब २० हजार नेपाली रहेको अनुमान छ । यो जनसङ्ख्याको आधा भन्दा कम नेपालीहरू बसोबास गर्ने अमेरिकाका अरू साना सहरमा भने नेपालीहरूले पशुपति नाथको मन्दिर निर्माण गरिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-