क्यालिफोर्निया/अमेरिका
दूरवीन सम्वाददाता
सानै उमेरमा अध्ययनको लागि बेलायतको लण्डन पुगेका झापाका सुमन अधिकारीलाई कुनैदिन आफ्नो सफलताको कुरा मात्र होइन, अरु नेपालीहरुको सफलताको कुरा पनि संकलन गरेर प्रकाशमा ल्याउने ल्याउने मन थियो । नेपालमै रहदा पत्रकारिताको जोश बोकेको सुमनलाई बेलायतमा रहंदा पनि अथक मेहनत र परिश्रमवाट आर्थिक, सामाजिक, प्राज्ञिक क्षेत्रमा सफल बनेका नेपालीहरुको कथा संकलन गरेर टेलिभिजनको पर्दामा उतार्छु भन्ने लागिरहन्थ्यो । त्यसैले त उनी लण्डनका गल्लीहरुमा नेपालीहरुले पाएको सफलतालाई नजिकवाट नियाल्ने गर्थे ।
समयक्रमसंगै उनी बेलायतवाट क्यानडा बसाई सरे । तरपनि भूईवाट माथी उठेकाहरुको ‘सक्सेस स्टोरी’ संकलन गर्ने उनको चाहना झनै बढ्यो । सुमन ती सफल ब्यक्तिहरुको कथा नेपालका सर्वाधिक सफल ब्यक्तिवाट संप्रेषण गर्न चाहन्थे र यही क्रममा उनले त्यो प्रस्ताव नेपाली सिने जगतका महानायक राजेश हमाललाई सुनाए । महानायक हमाल सुमनको कुरामा राजी भए र सफलताको शिखर चढेका नेपालीहरुको कथा संप्रेषणका लागि तयार भए ।
त्यसो त सुमन अधिकारी आफैपनि इभेन्ट म्यानेजमेण्टमा सफल युवा हुन् । लण्डनदेखि टोरण्टो हुदै सफलताका कथा खोज्न अमेरिकाका विभिन्न शहरहरुमा पुग्दा उनलाई लाग्यो, यस्ता सफलताका कथाहरु नेपालका आम मानिसले पनि थाहा पाउनपर्छ । अनि उनले महानायक राजेश हमालसंगै एक महिना लगायर अमेरिकाका विभिन्न शहरहरुमा रहेर आर्थिक रुपमा सफल भएका मानिहरुका जीवनका अनेक रंगहरु खोतल्ने काम गरे । सुमन भन्छन,-‘वास्तवमा यो कथा उहाँहरुको सफलताको कथा मात्र नभई भावी पुस्ताको लागि प्रेरणा र उर्जाको श्रोत पनि हो’ ।
गत शुक्रवार आयोजित एक बिशेष कार्यक्रममा नेपाली हास्य जगतका हस्ती मदनकृष्ण श्रेष्ठ र महानायक राजेश हमालसंगै उभिएर सुमनले बिदेशमा आफ्नै परिश्रम र मेहनतले सफलता पाएक ब्यक्तिहरुको कथा उनीहरुकै मुखवाट नेपाल र नेपाल बाहिर रहेका सबै नेपालीहरुमाझ पुर्याउन पायदा निकै खुशी लागेको बताए र महानायक राजेश हमालले प्रस्तुत गर्ने ‘सफलताको कथा’ नेपाली नयाँ बर्षको अवसर पारेर नेपाल टेलिभिजनवाट प्रशारण हुन लागेको उनले बताए ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र राजेश हमालले सफलताको कथाका पात्रहरुलाई सम्मान गर्दै यसले नेपालीको समृद्धिको कथा संसारसामु पुर्याउने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै महानायक हमालले नेपालीहरुले विदेशमा रहेर गरेको संघर्ष, मेहनत र परिश्रमको कारण नै सफलता पाएको बताउदै यसले अन्य नेपालीलाई हौसला र प्रेरणा मिल्ने बताए ।
संमृद्धि इन्टरटेनमेण्टले तयार पारेको सो फिलताको कथा हालसम्म १९ औ भाग तयार भएको र पहिलो सेरिज अन्तर्गत अमेरिका र क्यानडाका गरि २६ जनाको सफलताको कथा नेपाल टेलिभिजनवाट प्रशारण हुने सुमनले बताए । ‘नेपाल टेलिभिजन जति शशक्त माध्यम अर्काे छैन, यसकारण नेपालको राष्ट्रिय प्रशारण केन्द्रलाई रोजेका हौं’- उनले भने ।
उनका अनुसार नेपालीहरुको बसोवास रहेको युरोप, अष्ट्रेलिया, जपान लगायतका देशमा कार्यरत फिल नेपालीहरुको कथा छांयाकन हुने अधिकारीले बताए । सुमन हाल क्यानडाको लागि पर्यटन दूतको रुपमा पनि कार्यरत छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-