दूरबिन संवाददाता ।
अमेरिका ८ अप्रिल ।
कोरोना भाइरसको संक्रमणले आक्रान्त अमेरिकामा रहेका सङ्क्रमित नेपालीहरूलाई मद्दत गर्न एनआरएनए अमेरिकाले अगाडि बढाएको सहयोग सङ्कलनको प्रक्रिया नै आधिकारिक भएको एनआरएनए आइसीसीले प्रष्ट गरेको छ । अप्रिल ७ तारिख महासचिव हेमराज शर्माले एनसीसी र आइसीसीलाई पठाएको पत्रमा संस्थागत रुपमा मात्र सहयोग सङ्कलन गर्ने निर्णय भएको जनाइएको छ । केन्द्र अर्थात अन्तराष्ट्रिय समन्वय परिषद आइसीसीको अप्रिल ५ मा बसेको बैठकले क्षत्रीय संयोजकहरुको सहकार्यमा केन्द्रमा र राष्ट्रिय समन्वय परिषद एनसीसीहरुले संवन्धित देशमा बाहेक अरु कसैले कही सहयोग सङ्कलन गर्न नपाउने निर्णय भएको महासचिव हेमराज शर्माले पठाएको पत्रमा उल्लेख छ ।
सचिव गौरि जोशीले केन्द्रको निर्णय विपरित अमेरिकामा आफ्नै संयोजकत्वमा सहयोग सङ्कलन गर्न थालेपछी उपाध्यक्ष सोनाम लामाले संस्थागत प्रक्रियामा जानु पर्ने सार्वजनिक अपिल गर्दै गौरी जोशीको कदमलाई चुनौति दिएका थिए । लामाले सङ्कटको बेला एक भएर सहयोगका लागि जुट्नु पर्ने बेला हिरो देखिन राजनीति गर्न खोज्ने प्रवृत्ति ठिक नभएको भन्दै आपत्ति जनाएका हुन् । तर सचिव जोशीले उपाध्यक्ष लामाले केन्द्रको निर्णय नबुझेको भन्दै आफ्नो अभियानको बचाउ गरे ।
केन्द्रको निर्णय बमोजिम एनसीसीलाई सहयोग गर्नु पर्ने पक्षका लामा र विगतमा जस्तै यसपटक पनि एनसीसीलाई असफल देखाउन लागि परेका जोशी बीचको तनाव कम गर्न महासचिव शर्माले पत्राचार गरेका हुन् । महासचिव शर्माले गरेको पत्राचारबाट सचिव गौरी जोशीको आफ्नो नेतृत्वमा सहयोग संकलन गर्ने प्रयास संस्थागत निर्णय विपरित भएको प्रष्ट हुन्छ ।
नेपाली समाजका अगुवाहरूका अनुसार अमेरिकामा घरभित्र बसेका नेपालीहरूका लागि अहिले ठुलो आर्थिक साहयता भन्दा पनि मानसिक तनाव कम गर्ने, संक्रमित भएमा विज्ञहरूसँगको परामर्श र बिरामी भएमा उपचारका लागि जाने प्रमुख प्राथमिकता हुन् । पैसा नभएर खान नपाएको र उपचार गर्न नसकेको नगन्य घटनाहरू मात्र छन् । यस्तो बेला सहयोग सङ्कलनका नाममा रडाको मच्चाएर आफू सक्षम देखिन खोज्ने प्रवृत्ति र घटनालाई कतिपयले मानवीय सङ्कटलाई पनि आफ्नो स्वार्थको सिद्धिको लागि भ¥याङ बनाउने तल्लो स्तरको राजनीतिक चरित्रको रुपमा बुझेका छन् ।
महासचिव हेमराज शर्माले पठाएको पत्र ।
Subject: ‘COVID-19 Relief Fund’ सहयोग संकलनका सम्बन्धमा
आदरणीय एनसिसि र आईसिसि परिवार,
COVID-19 बाट पिडित नेपालीहरुको सहयोगको लागि आर्थिक संकलन गर्न कोषाध्यक्ष महेश श्रेष्ठज्यूको संयोजकत्वमा एक समिति बनी यस तर्फ काम अगाडी बढेको यहाँलाई अवगत नै छ । मिति ५ अप्रिल २०२० मा बसेको आईईएसको बैंठकले ‘COVID-19 Relief Fund’ सञ्चालन सम्बन्धी कार्यविधी निर्माण गर्न कोषाध्यक्षज्यूलाई जिम्मेवारी दिएको छ । उक्त कार्यविधी अहिले निर्माणको क्रममा छ । क्षेेत्रीय संयोजकहरुको सहकार्यमा आईसिसि आफैंले र एनसिसिहरुले बाहेक संघका समिति वा उपसमिति छुट्टै रकम संकलन गर्न अनुमती नदिइएको स्मरण गराउन चाहान्छु । आईसिसिले नेपालको बैंक खातामा जम्मा गर्ने वा अनलाईन मार्फत क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था गरेको छ ( जसको लिङ्क रहेको छ www.nrna.org/donate) । यसै गरी एनसिसिहरुले आ-आफ्नो बैंक खाता वा अनलाईन डोनेसनको व्यवस्था गरेका छन् । क्षेत्रीयस्तरमा रकम कसरी संकलन गर्ने भन्ने बारे कार्यविधीमा प्रष्ट भएर आउदैछ। अत: कार्यविधी आउनु भन्दा पहिले र कोषाध्यक्षको प्रत्यक्ष निगरानी बिना पदाधिकारीहरुले व्यक्तिगत रुपमा वा संघको समिति वा उपसमितिको नाममा सहयोग संकलन नगर्नको लागि निर्देशन गरिन्छ । अनलाईनबाट सहयोग गर्न चाहाने सदस्य तथा शुभचिन्तकहरुलाई संघको आधिकारीक पेज प्रयोग गर्न अनुरोध गरिन्छ । आर्थीकरुपमा पारदर्शी र सदस्यहरु प्रति जवाफदेही हुने हाम्रो प्रणलाई व्यवहारमा लागु गर्न एकिकृत प्रणालीको व्यवस्था गर्नु परेको हो ।
COVID-19 ले असर पारेका नेपालीहरुहरुको तथ्याङ्क संकलन सचिवालयबाट भएकोछ, यसको लागि फाराम वितरण गरि सकिएको छ भने १-२ मा हामीले २४औ घण्टा हटलाईनको व्यवस्था गरेका गर्दैछौँ। एनसिसिहरुले पनि आ-आफ्नै किसिमले तथ्याङ्क संकलन गर्दै छन् । अत: आईसिसि वा एनसिसिले स्थापना गरेको तथ्याङ्क संकलन प्रणाली नै प्रयोग गर्न अनुरोध छ । महामारीको यस बिषम परिस्थितिमा हामीहरु एकतृत रुपमा काम गर्नु आवश्यक छ।
हेम राज शर्मा
महासचिव
प्रतिक्रिया लेख्नुहोस्:-