ह्युस्टन, टेक्सस, एप्रिल ८/ एनआरएनए अमेरिकाको २०१९-‘२१ कार्यकालका लागि आगामी मे महिनामा हुन गइरहेको चुनावमा टेक्सस च्याप्टरको अध्यक्ष पदका लागि ह्युस्टनका द्रोण गौतमद्वारा आज एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । टेक्सस च्याप्टरको वर्तमान उपाध्यक्ष रहेका गौतम पेशाले एक गैर-नाफामूलक स्वास्थ्य संस्था भि-केयर (Vcare) को कार्यकारी अधिकृत समेत हुन्। ह्युस्टनकै नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) मा समेत उपाध्यक्षको जिम्मेवारीमा रहेका गौतमले सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने उद्देश्का साथ एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिन अग्रसर भएको बताएका छन्।
ह्युस्टनमा सक्रिय सबै नेपाली संस्थाहरुका नेतृत्व तहमा रहेका र नेपाली समुदायका अग्रजहरुको उपस्थिति रहेको एक कार्यक्रमकाबीच अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका गौतमले अमेरिकामा दोश्रो धेरै सदस्य भएको राज्य टेक्ससको स्टेट च्याप्टरमा रहेर नेपाली-अमेरिकी समुदायको बृहत्तर हितका लागि काम गर्ने योजना सहित अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन्।
टेक्ससमा प्रत्येक वर्ष नेपालीहरूको सङ्ख्या बढेसंगै नेपाली समुदायको आवश्यकता र समस्याहरू पनि बढ्दो छ। तसर्थ, एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरको जिम्मेवारी पनि पक्कै बढेको छ। ‘नेपाली समुदायको अधिकतम हित प्रबर्द्धन गर्न भनेर नै टेक्सस च्याप्टर अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ’, उम्मेदवारी घोषणा गर्दै गौतमले भने। गौतमले आफू अध्यक्षमा बिजयी भएमा गर्ने कामहरुको संक्षिप्त सूचि समेत सार्वजनिक गरेकाछन्।
उनले टेक्सस च्याप्टरको अगुवाईमा टेक्ससमा रहेका सबै नेपाली संघसंस्थाहरुको सम्मेलन गर्ने र आपसी सहकार्यमा जोड दिने बताएका छन्। यसैगरी टेक्सस च्याप्टरले हाल जारी राखेको नेपाली भाषामा ड्राइभिंग लाइसेन्सको परीक्षा दिने व्यवस्था कार्यान्वयनका लागि स्टेटसंगको समन्वयलाई निरन्तरता दिने, आकस्मिक कोष स्थापनाको कामलाई टुंगोमा पुय्राउने, च्यापटरको स्थानीय सम्पर्क कार्यालय राख्न जोड गर्ने, नेपालीहरुको लागि रोजगारी समन्वय संयन्त्र बनाउने लगाएतका योजना सार्वजनिक गरेका छन्।
सहभागिहरुले सोधेको एक प्रश्नको जवाफ दिंदै च्याप्टर अध्यक्षमा आफ्नो कोही प्रतिस्पर्धी नरहेको र सम्भावित उम्मेदवार भनेर बाहिर प्रचारमा आएका व्यक्तिसंग समेत सहकार्य गरेर जाऔं भन्ने प्रस्ताव राखेको र अन्तिमसम्म पनि सहमतिका लागि प्रयास गरिरहने बताए।
एनआरएनए- एनसीसीको बिधानले अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने भनेको र च्याप्टरको हालको कार्यसमितिका अरु कसैले पनि उम्मेदवार हुने मनसाय नदेखाएकाले आफ्नो प्रतिद्वन्द्वी कोही नरहेको समेत गौतमले बताए।
उनले आफू राजनीतिक दाउपेचमा नलाग्ने र एनआरएनए टेक्सस च्याप्टरलाई राजनीतिक जोड-घटाउको केन्द्र हुन नदिने प्रतिबद्धता पनि जनाए। एनआरएनएले मुख्यत नेपाली समुदायको हितको पक्षपोषण गर्नु पर्नेमा जोड दिए।
एनआरएनए सबै गैरआवासीय नेपालीहरुको साझा संस्था हो र यो एउटा अभियान पनि हो। यसलाई सबै टेक्ससबासी नेपाली समुदायबीच पुय्राउन पहल गर्ने र ‘हाम्रो लागि एनआरएन’ भन्ने विश्वास दिलाएर टेक्ससमा बसोबास गर्ने नेपालीहरूको यकिन सङ्ख्या निर्धारण गर्न स्थानीय संस्थाहरुसंग सहकार्य गर्न आफूले विशेष ध्यान दिने बताए। गुल्मी समाजका लक्ष्मण भण्डारीले संचालन गरेको कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुका जवाफ पनि गौतमले दिएका थिए।
कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपाल, सल्लाहकारहरु वरिष्ठ पत्रकार तारा बराल, दिनकर अमात्य, एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, ह्युस्टनका समाजसेवी तथा व्यवसायी ज्ञानेश्वर श्रेष्ठ, एशोसियसन अफ नेपाली तराएन इन अमेरिका (एन्टा) ह्युस्टनका अध्यक्ष कौशल झा, गुल्मी समाज ह्युस्टनका अध्यक्ष भिष्म मरासिनी, नेप्लिज हेरिटेज यूनियनका कार्यबाहक अध्यक्ष बावुराम बस्याल, क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस) का प्रतिनिधी लगाएतले आफ्नो बिचार राख्दै गौतमको उम्मेदवारी र जीतका लागि समेत सम्पूर्ण ह्युस्टनवासी नेपाली समुदायले सघाउनु पर्नेमा जोड दिएका थिए।
गौतमको उम्मेदवारी घोषणा अघि हालै नेपालको बारा र पर्ला जिल्लामा आँधीबेरीबाट प्रभावितहरुको सहयोगार्थ एन्टाले संचालन गरेको सहयोग संकलन अभियानको सहयोगार्थ एनएएच कार्यसमितिका सदस्य एवं शुभचिन्तकहरुका तर्फबाट १,९४४ डलरको चेक एनएएचका अध्यक्ष बिष्णु नेपालले एन्टा ह्युस्टनका अध्यक्ष कौशल झालाई हस्तान्तरण गरेका थिए।


तस्बिर: सुजन पण्डित/दूरबिन नेपाल










प्रतिक्रिया लेख्नुहोस्:-