अमेरिका ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने दिन नजिकदै गर्दा टेक्सस च्याप्टरमा समेत नेतृत्व हत्याउन र आफ्नो प्रभाव देखाउन दाउपेच चलिरहेको छ । नेपाली काँग्रेस निकट नेपाली जन सम्पर्क समिति अमेरिकाको राजनीतिमा लामो समय देखि सक्रिय राजेश अर्याल अहिले नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्चसँग मिलेर एनआरएनए अमेरिकामा अगाडि बढ्न प्रयासरत छन् । च्याप्टर अध्यक्षमा उनलाई सहयोग गरेर महत्त्वपूर्ण केही पद लिने लालसामा प्रवासी मञ्च झनै सक्रिय देखिएको छ । नमिलीकन चुनावी प्रतिस्पर्धामा जाँदा कुनै पद पाउन नसक्ने प्रवासी मञ्चका लागि जे जति लिन सके पनि उपलब्धि नै हुन्छ ।

टेक्सस च्याप्टरमा अध्यक्षका लागि अगाडि बढिरहेका राजेश अर्यालले दूरबिन नेपालसँग कुरा गर्दै भने “इलेक्सनमा जाँदा राजनीतिक हस्तक्षेप बढ्छ । यसले समाजमा असर पारेको छ । सकेसम्म समझदारीमा जायौं । राजनीतिक असझदारी हटाऔँ भन्न छलफल भएको हो ।”
दुई समूह बिचको वार्तालाई एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा अध्यक्षका उम्मेदवार डाक्टर अर्जुन बनजाडेले सकारात्मक रूपमा लिनु पर्ने प्रतिक्रिया दिएका छन् । उनले भने “नमिलिकन निर्वाचनमा जाँदा एउटा पक्ष वाहिरन्छ । सबै मिलेर, मिलाएर जाँदा संस्थामा काम गर्न सजिलो हुन्छ र समाजमा राम्रो सन्देश जान्छ ।”
एनआरएनए अमेरिका टेक्सस च्याप्टरको आसन्न निर्वाचनमा नेतृत्व चयनका लागि दुई राजनीतिक समूह बिच भएको छलफलमा अध्यक्षका अर्का आकाक्षि एनआरएनए टेक्ससका उपाध्यक्ष द्रोण गौतमलाई भने उनीहरूले सहभागी गराएनन् । द्रोण गौतम भन्छन् “यो दुई पक्ष को निर्णय भन्ने कुराले गैर राजनीतिक सस्था एन आर एन ए लाई नै नराम्रो प्रभाव पार्छ किनकी दुइ पक्ष भनेको के हो? यदि दुई पार्टीको हो भने एन आर एन भनेको एउटा सिटिको दुई पार्टी को मात्र सिमित गराउन खोजियो यदि दुई उम्मेदवार को हो भने म अहिलेको उपाध्यक्ष र अध्यक्षको दाबेदर मलाई खबर नै गरियेन। यो कसरी दुईभाग पक्ष भयो। मिल्न त म पनि सबै मिलेर जाउ भनेर सबै भन्दा पहिले प्रताब गर्ने म नै हु र म पनि अन्तिम समय सम्म प्रयास गर्ने छु।”
जनसम्पर्क र प्रवासी मञ्चका प्रतिनिधि बिच वार्ता भएको भोलि पल्ट नै गौतमले अध्यक्षमा आफ्नो उम्मेदवारी सार्वजनिक गरे । उम्मेदवारी घोषणा सभामा गौतमले अध्यक्षका अर्का आकाक्षि राजेश अर्र्याललाई लक्षित गर्दै भने “च्याप्टरमा छुटै विधान छैन । एनआरएनए अमेरिकाको विधानलाई नै च्याप्टरले फलो गर्ने हो । विधानले एक कार्यकाल कार्यसमितिमा बसेर काम गरेको व्यक्तिले मात्र अध्यक्षमा दाबी गर्न मिल्छ । सहमतिका नाममा विधान भन्दा बाहिर गएर अध्यक्ष बन्न मिल्दैन ।”
गौतमको यो भनाइले राजेश अर्याललाई निक्कै चोट पुगेको छ । अर्यालले भने “एक कार्यकाल काम नगरेको व्यक्ति अध्यक्ष बन्न मिल्दैन भन्नु भ्रम फैलाउने कुरा मात्र हो ।”
एनआरएनए एनसीसी अमेरिकामा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन टेक्ससकै आकाक्षि बिच ठुलै लडाइ चलिरहेको छ । च्याप्टरमा मिल्ने र मिलाउने प्रयास गरिरहेका राजेश अर्याललाई दूरबिन नेपालले माथि नमिली तल मिल्ला ? भनी गरेको प्रश्नको जवाफमा भने “टेक्ससमा हार्ड ड्राइभ र पेन ड्राइभबाट पहिला संस्था माथि हस्तक्षेप भयो । त्यस कारण अहिलेको परिस्थिति आएको हो । यसलाई निस्तेज गर्न पनि अन्तिमसम्म मिल्ने मिलाउने प्रयास गर्नु पर्छ ।”
टेक्ससबाट अध्यक्षका लागि आकाक्षि धेरै देखिएका छन् उनीहरू मिलेनन् भने टेक्सस बाहिरका अध्यक्षका उम्मेदवारलाई सहयोग गर्नु हुन्छ की गर्नु हुन्न ? भन्ने अर्को प्रश्नमा राजेश अर्यालले प्रस्ट जवाफ दिएनन् । उनले भने “अन्तिमसम्म मिलाउन प्रयास गर्ने हो ।”
तस्बिर: दिनेश शर्मा र द्रोण गौतमको फेसबुकबाट







प्रतिक्रिया लेख्नुहोस्:-