अमेरिका, १३ अप्रिल । राजनीतिक दलहरू प्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन् । जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्री रहेको बताए। “नेपाली काँग्रेस एउटा डेमोक्रेटिक पार्टी त हो , तर डेमोक्रेटिक नर्म्स अनुसार हिँडेका छौ कि छैनौ? हामी हिँडेका छैनौ। हाम्रो प्रयत्न २०८२ को मंगसिरभित्र अधिवेशन गर्नु पर्ने हो – पार्टीको विधान अनुसार चार वर्ष भित्र। आम निर्वाचन पछि – २०८४ पछि – काँग्रेसको अधिवेशन गर्ने भनेर पनि आइ रहेको छ। यो कुरालाई कसरी समाधान गर्ने – यो कुरा तपाईंहरुलाई नै छाडी दिन्छु,” कोइरालाले भने। “कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशन हुन् नसकेको वर्षौँ भयो। पार्टी तदर्थवादमा चलिरहेको छ। दुई ठुला दल नेका र एमाले मिलेर सरकार बनायौँ। नेका र माओवादी मिलेर चुनाव लड्यौँ – एमाले र माओवादी, नेका र माओवादी , एमाले र नेकाको सरकार बन्यो। राजनीतिक अस्थिरता भयो। भ्रष्टाचार न्यूनीकरण गर्ने , सुशासन दिने , कानुनको शासन स्थापना गर्ने , नौ महिनामा यी कुनै पनि कुरामा यो सरकार अगाडी बढ्न सकेको छैन,” उनले भने।
कांग्रेस नेता कोइरालाले युवाहरुले किन सडकमा आक्रोश पोखी रहेका छन् भन्ने प्रश्न गर्दै उनीहरुलाई शान्त पार्ने उपाय छ, तर त्यसको पहल सरकारले गर्नु पर्ने बताए। “आज सडकमा शिक्षकहरू छन् ,सहकारी पीडित, लघुवित्त पीडितहरू, रेजिडेन्ट डक्टरहरू पनि सडकमा छन्। यसलाई सम्बोधन गर्न सकेनौँ भने स्थिति हाम्रो हातबाट बाहिर जान सक्छ। हामी डेमोक्र्याटहरुको काँधमा, तपाईँहरूको काँधमा ठुलो जिम्मेवारी आएको छ। यही संविधान भित्र बसेर सबै दलसँग छलफल गर्नु पर्छ , त्यो काम नेपाली काँग्रेसले मात्रै गर्न सक्छ,” उनले भने ।
कांग्रेस नेता कोइरालाले संविधानमा एनआरएनको लागि जे कुरा लेखिएको छ राजनीति बाहेक सबै अधिकार दिइनि पर्ने बताए। उनले समुन्नत नेपाल, विकसित नेपाल बनाउनको लागि क्लिन इनर्जी, हाई भ्यालु एग्रिकल्चर, पर्यटन, डिजिटलाइजेशनको महत्व पूर्ण भूमिका रहने बताउंदै आफ्नो अनुभव र विज्ञता नेपालको हितका लागि उपयोग गर्न आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नयाँ वर्ष भनेको क्यालेन्डर परिवर्तन मात्रै नभएर नयाँ यात्रा र नयाँ संकल्पको सुरुवात पनि भएको बताए । ” विदेशमा बसेका साथीहरू हामी भन्दा बढी चिन्तित पाएको छु। विश्वको परिवेशबाट हेर्दा हामी कुन अवस्थामा छौँ मूल्याङ्कन गर्नु पर्यो। राष्ट्रिय परिस्थिति अत्यन्त जटिल छ। जनतामा व्याप्त निराशाले निकास खोजेको छ। अहिले जति नकारात्मक स्थिति कहिल्यै थिएन। हामी नयाँ कार्यक्रम र दृष्टिकोण लिएर अगाडी बढ्न सकेनौ भने असंगठित अराजकतातर्फ जान सक्ने खतरा छ,” केसीले भने। उनले दुवै छिमेकीसँग सन्तुलन गर्न सक्ने शक्ति नेपाली काँग्रेस हो भनाइ तर पहिले काँग्रेसभित्रै सुधार गर्नु पर्ने आवश्यकता रहेको जनाए। “हरेक दिन हजारौँ युवा विदेश गै रहेका छन्। मुलुक दक्षिणपन्थी र कम्युनिस्टहरुको चेपुवामा परेको छ। भ्रष्टाचारको स्थिति कहाली लाग्दो छ। एसिया प्यासिफिक ग्रुप टास्क फोर्सले ग्रे लिस्टमा राखेको छ। पूर्व प्रधान न्यायाधीशको संयोजकत्वमा एउटा शक्तिशाली आयोग बनाएर छानबिन गर्न दिऊँ। त्यसो भयो भने २५ प्रतिशत निराशा कम हुन्छ,” उनले भने।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमंत्री एनपी साउदले गठबन्धन सरकारका बारेमा नेपाली जनतामा अन्योल रहेको बताउंदै यसले अस्थिरताको संदेश दिएको बताए । “संविधान संशोधन गरेर हामीले नेपाली जनताका समस्यालाई सम्बोधन गर्न सक्छौ कि भन्ने हो। तर स्थिरताको संदेश दिन सकी रहेका छैनौ। काँग्रेस र एमाले बिच गरिएको सात बुँदे सहमति लागू भै रहेको छैन। पार्टी एक्लै आफ्नो बुतामा चुनाव लडेर बहुमत प्राप्त गर्न पार्टीलाई बलियो बनाउनु पर्ने आवश्यकता छ। कार्यकर्ताहरूको योगदानको आधारमा मूल्यांकन गर्नु पर्छ । भ्रात्री संस्थाहरूको समयमै अधिवेशन गर्नु पर्छ । अभिलेख राख्ने पद्धति विकास गर्नु पर्नेछ । पार्टी बलियो बनाए पछि मात्रै प्रजातन्त्र बलियो हुन्छ,” उनले भने। उनले परराष्ट्र नीति देशको आन्तरिक नीतिको विस्तार हो भन्दै तर नेपालको आन्तरिक नीति बाह्य शक्तिको छायामा पर्न सक्ने खतरा देखिएको पनि जनाए। “एनआरएनहरुले राजनीतिक अधिकार बाहेक सबै अधिकार नेपाली नागरिक सरह पाउनु पर्छ भन्ने संविधानको मान्यता हो। तर कार्यान्वयनमा आउन सकेको छैन। तुरुन्त सम्बोधन गर्नु पर्छ,” साउदले भने।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ने वि संघ का पूर्व अध्यक्ष गुरुराज घिमिरेले नेपाली समाजले आर्थिक फड्को मार्न नसकेको, दल भित्र र दलहरूबीच एकता नदेखिएको र देशभरिका ७६१ सरकारले उत्साहजनक काम गर्न नसकेको बताए। उनले काँग्रेस अहिले औसत दलमा परिणत भएको र सत्तामा मात्रै केन्द्रित भएको बताउंदै नयाँ पुस्ता निराश हुँदै विदेशीइ रहेको बताए। उनले २०८२ सालमा एउटा रोड म्याप तयार गरेर सफलता प्राप्त गर्न सकौँ भन्दै शुभकामना पनि दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्र राज शर्माले काँग्रेस आफ्नो विरासतमा फर्कने काम गर्न पर्ने बताए।” विगतमा जो आन्दोलन गर्यौँ , त्यति बेला हामीसँग विरासत थियो, त्यसलाई हामीले छोडेका छौँ। प्रजातन्त्र र लोकतन्त्र कदापि एक हुन् सक्दैनन्। कम्युनिस्टका नारा र सिद्धान्त अंगिकार गरेको हुनाले कुनै पनि परिणाम जनतालाई दिन सकेका छैनौ। धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रतामा जाऔँ। समाजवाद उन्मुखको ठाउँमा समाजवाद कायम गरौँ। जय नेपालको अभियान सबै नेपालीको साझा बनाउने तपाईँहरूको प्रयास सफल होस्,” शर्माले भने।
फाउन्डेशन अन्तर्गत ग्लोबल महिला संजालकी अध्यक्ष विनीता अधिकारीले महिला संजालका गतिविधिबारे जानकारी दिंदै कविता वाचन गरेर शुभकामना दिइन् । फाउन्डेशन अन्तर्गतकै ग्लोबल नलेज नेटवर्कका संयोजक डा निरज श्रेष्ठले सबै सहभागीलाई धन्यबाद दिँदै शुभकामना पनि दिए ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले गैर आवासीय नेपालीहरूका मागलाई एकबद्ध भएर मात्र समाधान गर्न सकिने बताउंदै आगामी मे महिनामा काठमाडौँमा हुन गै रहेको एनआरएनएको एकता महाधिवेशनमा भाग लिन सबैलाई आव्हान गरे ।
गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलले जय नेपाल फाउन्डेशनलाई नीति निर्माणमा सुझाव दिन आग्रह गरे। उनले देशको बारेमा चिन्ता मात्रै हैन चिन्तन गर्नु पर्ने बेला आएको बताउंदै एनआरएनको बारेमा संविधानमा लेखेको कुरा लागू हुन नसक्नु लज्जास्पद स्थिति भएको बताए। नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष विष्णु सुवेदीले नेपाली कांग्रेसका भ्रातृ संस्था र जनसम्पर्क समितिहरुको अधिवेशन समयमै गराउन जरुरी रहेको बताए।
गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले नयाँ वर्षको शुभकामना दिंदै एनआरएनएको एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरिन्। गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिको सदस्य कुल आचार्यले एनआरएन नागरिकता कार्यान्वयन गर्न नसक्नु देशकै कमजोरी भएको बताउंदै नेताहरूमा संकीर्ण सोचाइ देखिएको बताए । उनले एनआरएन नागरिकता कार्यान्वयन हुना साथ सम्पत्ति विदेश नजाने र पलायन कम हुने बताए । “संविधानले चुन्ने र चुनिने कुरा मात्रै रोकेको छ, अन्य कुरामा बन्देज न गरियोस्,” उनले भने।
फाउन्डेशन अन्तर्गत ग्लोबल युथ नेटवर्कका संयोजक मदन राज पौडेलले संचालन गरेको कार्यक्रममा युथ नेटवर्कका महासचिव नवराज न्यौपानेले गरेका थिए ।
कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले मानवअधिकार, वाक् स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको संजाल भएको भन्दै आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेशनको स्थापना भएको बताए। उनले संस्थाले समसामयिक विषयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको र फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेको तथा नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा कार्यालय रहेको बताए।
कार्यक्रममा एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन अभियन्ता डा ज्ञानेन्द्र रेग्मी, नेपाली जनसम्पर्क समिति कुवेतका केशर घलान, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, पत्रकार कृष्ण केसी लगायतले नयाँ वर्ष २०८२ को शुभकामना र सुझाव दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-