विराटनगर, ६ वैशाख / प्रदेश नं. १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताउनुभयो ।
सरिता थापाले संंखुवासभाका तीन स्थानीय तहलाई राष्ट्रिय सडक यातायातको सञ्जालसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
वसन्त बानियाँले मेची नदीमा तटबन्ध निर्माण गरी छेउमा सडक विस्तार गर्नुपर्ने तथा झापामा हात्ती नियन्त्रणका लागि दीर्घकालीन व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभयो ।
नारायणबहादुर मगरले सप्तरीको भेडिया–उदयपुर–नाम्चे सडकलाई राष्ट्रिय योजना आयोगमा राख्नुपर्ने तथा नदी नियन्त्रण व्यवस्थापन गर्र्नुपर्ने बताउनुभयो ।
शिवनारायण गनगाईले रतुवा तथा बक्राहा नदीको बाढी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।
रामचन्द्र लिम्बूले धनकुटाको सुन्तला खेतीका किसानलाई अनुदान दिनुपर्ने र झापाको गौरादह वडा नं १ र ६ सडकलाई कालोपत्रे गर्नुपर्ने बताउनभयो ।
विष्णु तुम्बाहाम्फेले युरोपियन संघले निर्वाचन सम्बन्धमा दिएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ । रासस
प्रतिक्रिया लेख्नुहोस्:-