दूरबिन संवाददाता अमेरिका ३० अप्रिल
संस्था प्रति विश्वास स्थापित हुने प्रमुख आधार संस्थाको आर्थिक पारदर्शिता हो । कुन शीर्षकमा कहाँ कति खर्च भयो भन्ने कुरा जानकारी प्राप्त गर्न पाउनु संस्थाका सदस्यको अधिकार पनि हो । एनआरएनमा पारदर्शिता छैन भनेर आरोप खेप्दै आएको अवस्थामा हाल आएर एनआरएनए अमेरिकाले हरेक महिना इमेल मार्फत आफ्ना आर्थिक कृयाकलाप विवरण सदस्यहरूलाई उपलब्ध गराएर संस्था प्रतिको विश्वास जित्न प्रयास गरेको देखिन्छ ।
एक पटक शुरु गरिसके पछि त्यसलाई निरन्तरता दिनु वान्छनीय हुन आउँछ । आर्थिक पारदर्शिताको विषयमा बारम्बार उठ्ने प्रश्नको समाधानका लागि यो एउटा सकारात्मक कदमको रुपमा एनआरएनए अभियन्ताहरूले अर्थ्याएका छन् । पारदर्शी भएर मात्र पुग्दैन । यस्तो प्रतिकुल समयमा प्रवासी नेपालीहरुको हितमा काम गर्नु पर्ने यो संस्था आर्थिक रुपमा पनि सबल हुनु जरुरी छ । सदस्यता शुल्क बाहेक अरु कुनै माध्यमबाट संस्थाको कोष बृद्धि गर्न के कस्ता योजना छन् भन्ने पनि संस्थाले सार्वजनिक गर्नु पर्छ ।
कोषमा रहेको सदस्यता शुल्कको पैसा, कार्य समितिमा रहेकाहरुबाट बेला बखत उठाइने सानो पैसा साथै ब्यबसायी, उद्योगपति र कर्मचारीसँगबाट जम्मा गरिने रकमले नै एनआरएनएको आर्थिक गतिविधिलाई भरथेग गरेको छ । कोषाध्यक्ष नेत्र बन्धु पोख्रेल भन्छन् “आपत विपत पर्दा गोफन्ड मी एकाउन्ट खोल्नु परम्परा जस्तै बनिरहेको छ । यस अबस्थाबाट माथि उठाउन संस्थाको नियमित आर्थिक श्रोत हुने परिस्थिति सिर्जना गर्न हामी लागि परेका छौं ।”
एमाजोन एनआरएन अमेरिकाको एउटा आर्थिक श्रोत बन्ने कोषाध्यक्ष पोखरेलको विस्वास छ । भन्छन् “एमाजोनबाट नेपाली समुदायका अधिकांशले सामान खरिद गर्ने गर्नु भएकोमा अब एमाजोनले एनआरएनलाई उपलब्ध गराएको लिङ्क
https://smile.amazon.com/ch/62-1850599 बाट सामान किन्नु भएमा सामानको मूल्य बढ्दैन तर संस्थाले खरिद मूल्यको शून्य दशमलब पाँच प्रतिशत प्राप्त गर्नेछ ।”
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह पनि पोखरेलको अवधारणा र भनाइमा सहमत देखिन्छन् । साह भन्छन् “एमाजोनबाट दैनिक सयौं नेपालीहरुले सामान खरिद गरिरहनु भएको छ । एनआरएन अमेरिकाको वेबसाइटमा राखिएको एमाजोन स्माइल लिङ्कबाट सामान गरिद गर्दा संस्थाको कोष बढ्दै जान्छ । उहाँहरुको खरिद मुल्य पनि बढ्दैन ।”
अध्यक्ष साह र कोषाध्यक्ष पोखरेलका अनुसार एमाजोन स्माइलमा बाइ डिफल्ट एनआरएनको अमेरिकाको नाम आउने गरि सेट गरेमा हरेक पटक लिङ्क खोजिरहनु पर्ने झन्झट पनि रहँदैन । तर एमाजोन डटकमबाट नभई एमाजोन स्माइलबाट नै सामान खरिद गर्नु पर्ने हुन्छ ।
साह नेतृत्वको कार्यसमितिले संस्थाको आर्थिक गतिविधिलाई सदस्यता शुल्कको निर्भरता भन्दा माथि उठाउने प्रयास स्वरूपमा यस्ता काम भइरहेको दावी गरेकोछ । तथापी यो कति फलिभुत हुन्छ भन्ने हेर्न बाकी नै छ । यो बाहेक अन्य नियमित श्रोत के हुन सक्छ भनेर खोजि गर्न कार्य समितिले संरक्षक , सल्लाहकार अन्य बिभिन्न बिधामा दखल राख्नु हुने व्यक्तिहरुसंग छुट्टा छुट्टै छलफल गरिरहेको अध्यक्ष साह र कोषाध्यक्ष पोखरेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-