अमेरिका । कोरोना संक्रमणका कारण उत्पन्न विषेश परिस्थितिमा अमेरिकाबाट ६ सय ४१ जनाले तत्काल नेपाल फर्कने इच्छा राखेका छन् । गैर आवासीय नेपाली संघ अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा हाल अमेरिकामा रहेका मध्ये यो संख्याले आफु तत्काल स्वदेश फर्कन इच्छुक रहेको जनाएका हुन् ।
एनआरएनए अमेरिकाले मे २ तारिक सम्म फारम भराइएको जनाएको छ । महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा नेपाल फर्कन चाहानेको संख्या अझ धेरै हुन सक्ने भनिएको छ । पाण्डेले विज्ञप्तीमा भनेका छन्, ‘हामीले तथ्यगत रुपमा अगाडि बढ्ने उद्देश्यले विवरण सङ्कलनको लागि उपलब्ध गराइएको फर्म भरी मे २, २०२० सम्ममा जम्मा ६४१ जनाले तत्काल नेपाल फर्कन इच्छा देखाएकोले सो विवरण सहित अरु धेरै नेपालीहरु नेपाल फर्कन चाहेको ब्यहोरा जानकारी गराउँदै कोभिड-१९ को कारणले नेपाल फर्कन नसकेका नेपालीहरुलाई यथाशिघ्र नेपाल फर्कने वातावरण सिर्जना गर्नु हुनका लागि अमेरिकाका लागि महामहिम नेपाली राजदूत ज्यू मार्फत नेपाल सरकार समक्ष अनुरोध गरि सकेका छौं ।’
एनआरएन अमेरिकाले नेपाल फर्कन चाहानेका लागि पदल गरिदिन एनआरएन आइसीसी समक्ष पनि अनुरोध गरेको छ । ‘गैर-आवासीय नेपाली सङ्घ अन्तरास्ट्रिय परिषद्ले संसार भरि रहेका नेपाल फर्कन चाहने नेपालीहरुलाई फर्काउन आवश्यक वातावरण तयार गर्नका लागि पहल गरिरहेको परिपेक्षमा कोभिड-१९ को कारणले अमेरिकामा रोकिएका नेपालीलाई प्राथमिकताका साथ तत्काल स्वदेश फर्कने वाताबरणका लागि आवस्यक पहल गरि दिनु हुन गैर आवासीय नेपाली संघका सभापति ज्यू संग अनुरोध गरेका छौं ।’ पाण्डेले विज्ञप्ती मार्फत भनेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-