वोस्टन, अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एन आर एन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी सुनील शाहले एनआरएनलाई स्थानीय च्याप्टरसँग सहकार्य गरेर लैजाने वचनवद्धता व्यक्त गर्नुभएको छ ।
शनिवार साँझ वोस्टनमा उहाँहरुको सम्मानमा आयोजित कार्यक्रममा शाहले सो कुरा व्यक्त गर्नुभएको हो । शाहसँग प्रजातान्त्रिक धारका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचन प्रचार प्रसारका क्रममा यहाँ आउनुभएको हो । उहाँले अरु देशहरुका यस्ता संस्थाले स्वदेशमा के कसरी काम गरिरहेका छन् त्यो बारेमा पनि जानकारी लिएर अगाडि बढ्ने सोच बनाएको बताउँदै संस्थाभित्र प्रजातान्त्रिक परिपाटी र पारदर्शीतालाई पूर्ण रुपमा पालना गरिने जानकारी दिनुभयो ।
अध्यक्ष पदका प्रत्यासी शाहले एनआरएनलाई राजनीतिक बाहेक अरु सबै अधिकार दिने कुरा संविधानमा नै उल्लेख भएको तर वर्तमान नेपाल सरकारले कानुन बनाउने क्रममा शर्त राखेको कुरा आफूहरुलाई अमान्य रहेको बताउँदै हामी हाम्रो देशमा केही गरौँ भनेरै यो संस्थामा लागेका हौँ भन्नुभयो । श्री शाहले अमेरिकामा बस्ने सबै नेपालीको आवाज पहिचान गरेर नेपाल र अमेरिकामा प्लेटफर्म सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विपक्षीहरुलाई कटाक्ष गर्देै प्रोपोगाण्डाको हौवा नफैलाउन अनुरोध गर्नुभयो ।
त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. अर्जुन बन्जाडेले हाम्रा आवश्यकता र इष्युहरु के के हुन् तिनीहरुको पहिचान गरेर नयाँ पुस्ताका युवालाई नेपालसँगको नाता गाँस्ने किसिमको कार्यक्रम ल्याइने जानकारी दिनुभयो । त्यसैगरी महासचिव पदका प्रत्यासी प्रत्यासी पशुपति पाण्डेले समृद्ध नेपाल निर्माणका लागि विशेषज्ञहरुलाई मूलधारमा ल्याउन आफूले पहल गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा पश्चिम क्षेत्रीय उपाध्यक्षका उम्मेदवार साहित्यकार सर्वज्ञ वाग्लेले नयाँ पुस्तालाई हामीले एनआरएनभित्र ल्याउनुपर्ने कुरामा जोड दिँदै यदि तिनीहरुलाई छुटाइयो भने उनीहरु छुटेको छुट्यै हुन्छन् भन्नुभयो ।
त्यसैगरी महासचिवका अर्का प्रत्यासी गोपेन्द्रराज भट्टराई, दक्षिणी क्षेत्रका उपाध्यक्ष पदका उम्मेदवार कृष्णजीवी पन्थ, मध्य पश्चिमी क्षेत्रका उपाध्यक्ष पदका उम्मेदवार वुद्धिसागर सुवेदी, उत्तर पूर्वी क्षेत्रका उपाध्यक्ष पदका उम्मेदवार बाबुराम (बीआर) लामाले पनि नेपाल र नेपालीको हितमा कार्यक्रम ल्याइने जानकारी दिनुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष पदका उम्मेदवारहरु वन्धु पोखरेल र प्रसन्न संग्रौला तथा सहकोषाध्यक्ष ज्ञानल थापाले पनि एनआरएनको आगामी कार्यदिशाका बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा वोर्ड अफ डाइरेक्टरका उम्मेदवारहरु क्रमशः टीपी खनाल, प्रकाश बस्नेत, सत्य चौधरी, राज श्रेष्ठ, वासुदेव अधिकारी, चित्रा केसी, डोलेन्द्र अधिकारी, दुर्गाप्रसाद श्रेष्ठ, नृपेन्द्र धिताल, राज सर्राफ, रोसन अधिकारी, शशिचन्द्र अधिकारी, राजीवप्रसाद श्रेष्ठ, पदम ठकुराठी र छत्र गुरुंगले संस्थामा रहेर एनआरएनलाई गतिशील बनाउने वचनवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हालकी वोर्ड सदस्य एवं एनआरएन अमेरिकाकी आइसीसी पदकी प्रत्यासी तृष्णा शर्माले महिलाहरुको समस्याका बारेमा अझ धेरै काम गर्न बाँकी रहेकोले आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । त्यस समयमा म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष पदका उम्मेदवार समन्त वज्राचार्यले आफूले यो संस्थामा रहेर लामो समय काम गरेको र अझै समाजसेवाको कामलाई निरन्तरता दिएर केही महत्वपूर्ण काम गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
त्यस अवसरमा च्याप्टरका सदस्य पदका उम्मेदवारहरु सानु अधिकारी, हजुरी सिंह, चन्द्रबहादुर मल्ल, अखण्ड श्रेष्ठ, खगेन्द्र रेग्मी, चन्द्रदेव मण्डल (कोषाध्यक्ष), महिला संयोजक रुक्मिणी कार्की (निर्विरोध), हरि काफ्ले (उपाध्यक्ष) र रञ्जन थापा (सचिव, निर्विरोध) ले पनि एनआरएनको भावी कार्यदिशा र च्याप्टरका बारेमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
समाजसेवी एवं एनआरएन अमेरिकाका पूर्व सल्लाहकार विजय शर्माको सभापतित्वमा सम्पन्न सो अवसरमा राम थापा, मिलन गुरुंग र यम पौडेलले पनि बोल्नुभएको थियो । यस अघि न्यूह्याम्पसायर च्याप्टरले शनिवार विहान आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पदका तीनैजना प्रत्यासीहरु सुनील शाह, सूर्य लम्साल र सञ्जय थापाले एनआरएनका विविध समस्या र एनआरएनमा पुगेपछि गर्ने कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । सुनिलको टिम आइतवार कनेक्टिकटको कार्यक्रममा सहभागी भइ न्यूयोर्कको अर्को कार्यक्रममा सहभागी भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-