न्युयोर्क, अमेरिका, मे १८/ गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिका, न्युयाेर्क च्याप्टर र नेपाल-डे परेड इंकको संयोजन र अमेरिकामा सक्रिय ५० भन्दा बढी नेपाली संघ-संस्थाहरुको बृहत सहभागितामा आज अमेरिकी शहर न्युयोर्कमा नेपाल-डे परेड २०१८ सम्पन्न भएको छ। नेपालको राष्ट्रिय स्वाभिमान र नेपालीहरुको राष्ट्रिय पहिचान प्रवासमा समेत सशक्त बनाएर संसारलाई नै नेपाल चिनाउने उद्देश्यले तीन बर्ष अघि नेपाल डे परेडको शुरुवात भएको थियो।
नेपाली भेष-भूषा र कला-संस्कृति झल्कने झाँकी सहितको भव्य पदयात्रामा नेपाली संघ-संस्थाहरु आ-आफ्नो संस्थागत पहिचान सहित पदयात्रामा सहभागी भएका थिए। न्युयोर्कको म्याडिसन एभिन्युमा भेला भएर नेपालीहरुले एक बृहत नेपाली सामुदायिक सहभागितामा नेपाल-डे मनाएका छन्। संसार कै आर्थिक राजधानीको रुपमा लिइने न्युयोर्कमा भएको नेपालीहरुको साँस्कृतिक पहिचान झल्कने झाँकीले न्युयोर्कका स्थानीय देखि संसारभर कै पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको परेड आयोजकहरुले जनाएका छन्।
परेडमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधी लगाएत एनआरएनए अमेरिकाका पदाधिकारीहरु, आयोजक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । न्युयोर्क जस्तो शहरमा नेपाल-डे परेडको आयोजना हुनाले नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउन समेत सघाउ पुय्राउने परेड आयोजकहरुले विश्वास लिएका छन्।
न्युयोर्क बाहिरबाट समेत उल्लेख्य सहभागिता रहेको नेपाल-डे परेडले प्रवासमा नेपालीहरुको एकतालाई मजबुत बनाउन सघाउ पुय्राएको आयोजक एनआरएनए, नेपाल-डे परेड इंक लगाएतका संघसंस्थाहरुले जानाएका छन्। यसैबीच पेरड आयोजनाका विषयमा भएको मतभेद र स्वामित्वको बिवाद यो पटक पनि सतहमा नै देखियो र नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका लगाएत करीब ३० संघ-संस्थाहरुले परेडको विरोध गरेको भनेर सामाजिक संजालहरुमा सूचना/ बक्तब्यहरु देखिएका थिए। “नेपाल-डे परेडमा समेत राजनीति गर्ने र जुंगाको लडाईं गर्नेहरु यो पटक पनि न्युयोर्क र वरिपरिका अमेरिकी शहरहरुका गल्लीहरुमा बग्रेल्ती देखिएका छन्।यस्ता कार्यक्रमहरुमा सबै नेपालीहरु एक हुन नसक्नु भनेको प्रवासमा नेपालीहरु कै अवस्था कमजोर हुनु हो”, परेडमा सहभागी टेक्ससका एक नेपाली युवाले दूरबिन नेपाललाई बताए।
तस्वीर: बेद खरेल, प्रदिप परियार र नेपाल-डे परेड इंकको फेसबुकबाट
प्रतिक्रिया लेख्नुहोस्:-