अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले २०२१–२३ का लागि भएको निर्वाचनमा उम्मेदवारहरुले कुन राज्यबाट कति मत प्राप्त गरे भन्ने तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार न्युयोर्क सहित १४ वटा राज्यमा अग्रता लिएका बुद्धि सुवेदी एनआरएनए अमेरिकाको अध्यक्षमा विजयी भएका छन् । त्यस्तै उपविजेता कृष्ण लामिछानेले टेक्सस लगायत १० राज्यमा अग्रता लिएको देखिएको छ । त्यस्तै अर्का प्रतिस्पर्धी डाक्टर अर्जुन बन्जाडे इलेनइज सहित ५ राज्यमा पहिलो मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले कुनै पनि राज्यमा अग्राता लिन सकेनन् ।
मत परिणामको सन्दर्भमा विभिन्न पक्षबाट भएका पूर्व अनुमान भन्दा प्रतिशतमा केही भिन्न नतिजा आएको छ । चुनावको परिणामले लामिछाने र बन्जाडेले भित्री र प्रतिस्पर्धी राज्यमा सुधार गरेको देखाएको छ । अनुमानित मत हासिल गर्न नसकेपनि बुद्धि सुवेदी समुहले आफ्ना पक्षका अधिकांश उम्मेदवारहरुलाई विजयी गराउदै एक पक्षीय जित हात पारेको छ । राजनीतिक सन्जाल, समुदायमा रहेको लोकप्रियता र ब्यक्तिगत प्रभाव भएका केही उम्मेदवार बाहेक बुद्धि सुवेदी पक्षमा उभिएका सबै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले सबै राज्यबाट प्राप्त भएको मतको बिबरण सार्वजनिक गरेपछि चुनावी मैदानमा आएका सबै उम्मेदवारहरु आफुले प्राप्त गरेको मत केलाउन र विश्लेषण गर्न ब्यस्त भएका छन् । निर्वाचन परिणामको पूर्ण बिबरण प्राप्तहुनु अगाडि गरिएका अनुमान र विश्लेषणहरु यस पटक मेल नखाएको उम्मेदवारहरु बताउछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-