दूरबिन नेपाल, न्युयोर्क । नेपालको कालापानी लिम्पीयाधुरा तथा लिपुलेक भारतद्वारा मिचिएको विषयमा गैर आवासीय नेपाली संघ एनआरएनएले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र बुझाएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बुझाइएको ज्ञापन पत्रमा नेपाल र बेलायतको इष्ट इण्डिया कम्पनी विच सन् १८१६ मा भएको सुगौली सन्धी अन्तर्गत महाकाली नदीको मुल मुहान लिम्पयाधुरा रहेको र सोही दस्तावेजका आधारमा कालापानी र लिपुलेक नेपालको भुमि भएको जिकिर गरिएको छ ।
लिम्पयाधुरा हुँदै बग्ने कालिनदी लिम्पयाधुरा र सो क्षेत्रको तीन सय ३५ बर्ग किलोमिटर क्षेत्र नेपालको भएको र लामो समयदेखि भारतले आधिपत्य जमाउंदै आएको दावी गरिएको छ । एनआरएनए क्षेत्रीय संयोजक राजन त्रिपाठीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा भारतले अक्टोबर २०१९ मा नेपालको कालापानी लिम्पीयाधुरा र लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरिएको विषयमापनि आपत्ती जनाइएको छ ।
नेपाल सरकारले मे २० मा अद्यावधिक गरेको नक्सा नै वास्तविक नक्सा भएको दावी गर्दै एनआरएनले सो क्षेत्रका जनताले नेपाल सरकारलाई तिरेको कर, मतदान तथा जनगणना जस्ता आधारलेपनि नेपालको बताएको छ । सुरक्षा परिषदका सल्लाहकार अहमद शमाले सुरक्षा परिषदका लागि अमेरिकी राजदुत केली क्राफ्टको तर्फबाट ज्ञापनपत्र बुझेका थिए ।
एनआरएनका क्षेत्रीय संयोजक त्रिपाठीले भारत सरकारलाई सम्मानपुर्वक सार्वभौम मुलुक नेपालको भुमिबाट आफ्ना फौज फिर्ता लान तथा नेपालको भुमिमा भारतीय क्रियाकलाप बन्द गर्न अनुरोध गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-