सानफ्रानसिस्को। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा क्यालिफोर्निया राज्यका ठूला शहर लस एन्जलस र सानफ्रानसिस्कोमा नेपाली दूतावास र विभिन्न सामाजिक संघ संस्थाहरुको पहलमा संचालित घुम्ति कन्सुलर शिविर र सामाजिक अगुवाहरुसँग अन्तरकृया सम्पन्न गरि बुधवार राजधानी डि.सी. फर्केका छन् । क्यालिफोर्नियामा संचालित कन्सुलर सेवा शिविर र नेपाली बौद्धिक समुदायसँगको छलफल सकारात्मक र उपयोगी रहेको राजदूत खतिवडाको भनाइ छ । प्रस्तुत छ, क्यालिफोर्नियामा रहदा राजदूत खतिवडासँग दूरबिन नेपालले गरेको संक्षिप्त कुराकानी ।
दूरबिन नेपाल: क्यालिफोर्नियामा दूतावासको कार्यक्रम कस्तो रह्यो ?
राजदूत युवराज डा खतिवडा : क्यालिफोर्नियाको हाम्रो कार्यक्रम अत्यन्त महत्वपूर्ण रह्यो । मैले यसलाई तीनवटा बुदामा महत्वपूर्ण ठानेको छु ।
दूरबिन नेपाल: तीन बुदा भन्नाले ?
राजदूत युवराज डा खतिवडा: पहिलो कुरा त झण्डै चार सयको हाराहारीमा यहाँका नेपालीहरुले सेवा प्राप्त गरेका छन् । पासपोर्ट, भिषा, वारेसनामा, लगायत दूतावासले प्रदान गर्ने सेवा यहीबाट प्राप्त हुंदा वेस्टवाट इस्ट सम्म जानु परेन । समय र खर्चको बचत भयो । यसको लागि हाम्रो यहाँको अनररी काउन्सिल, एनआरएनए, स्थानीय संघसंस्थाका साथीहरु र सामाजिक अभियन्ताहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले दिनुभएको लजिस्टिक सर्पोट एकदम महत्वपूर्ण रह्यो । जसको कारण हाम्रो कार्यक्रम अत्यन्त सफल भयो । नेपाली समुदायले सेवा र सुविधा प्राप्त गर्यो । दोश्रो कुरा, क्यालिफोर्नियाका स्थानीय संघ संस्थाका प्रतिनिधि साथीहरुसँग नेपाली समुदायलाई परेको समस्या र उहाँहरुको गुनासोसंग परिचित हुने अवसर पनि मिल्यो । यही अवसरमा लस एन्जलस सिटी र बर्कली सिटीमा मेयरसँग पनि भेटघाट भयो । यहाँ रहेका नेपाली समुदायको हित र उन्नतिको वारेमा कुराकानी भयो ।
तेश्रो, यहाँका विश्वविधालयमा प्राध्यापन गर्नुहुने र प्रविधिमा कार्यरत बौद्धिक समुदायका साथीहरुसँग पनि छलफल र अन्तरकृया भयो । यसलाई मैले अत्यन्तै सकारात्मक ठानेको छु । यसवाट राम्रो फिडब्याक पाएको छु । यसको आयोजना गर्नुहुने साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
दूरबिन नेपाल: लस एन्जलस र बर्कलीका मेयरसँग के विषयमा कुराकानी भयो ?
राजदूत युवराज डा खतिवडा: नेपाली समुदायको हित र नेपालको प्रवर्धनको सम्वन्धमा । नेपाल र नेपाली समुदायको वारेमा उहाँहरु सहयोग गर्न इच्छुक हुनुहुन्छ । उहाहरुले नेपाल डे परेडलाई आफ्नो सिटीको कार्यक्रममा राख्न सहयोग गर्ने भन्नुभएको छ । यसले नेपाल र नेपाली समुदायलाई अझ बढी चिनाउन मद्दत गर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-