दूरबिन संवाददाता ,अमेरिका ।
अबको २२ दिन अर्थात जुलाई ४ र ५ तारिखमा गर्ने भनिएको एनआरएनए अमेरिकाको साधारण सभा कुनै पनि हिसाबले नरोकिने महासचिव पशुपति पाण्डेले दावी गरेका छन् । महासचिव पाण्डेले साधारण सभा रोक्न वा सार्नलाई संस्था भित्र प्रयास गरिरहेको आरोप र भनाइको प्रतिवाद गर्दै दूरबिन नेपालसँग भने “रोक्ने वा संस्थालाई गतिहीन बनाउने कतिपयका चाहना र इच्छा होलान् तर म साधारण सभा सार्ने वा रोक्ने पक्षमा छैन । एनआरएनए अव रोकिदैन । सूचना प्रविधिको प्रयोग गरेर महामारी कै बिचमै एनआरएनए अमेरिकाको साधारण सभा सम्पन्न गर्छौ ।”
महासचिव पाण्डेले यस्तो बिषम परिस्थितिमा साधारण सभा गर्दाका चुनौति र तयारीका बिषयमा कार्यसमितिमा दुई पटक छलफल भइसकेको बताए । कार्यसमितिले साधारणसभालाई सफल बनाउन कार्यविभाजन गरिसकेको छ । साधारणसभाको संयोजन बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले गर्दैछन् । त्यस्तै संस्थाको कार्यक्रम र वैज्ञानिक कार्यपत्रहरुको तयारीका लागि डाक्टर तारा सिग्देललाई जिम्मेवारी दिइएको छ । डिजिटल विधिबाट हुने अधिवेशनको प्राविधिक पक्ष पदम भण्डारी र दधि ढुंगानाले हेर्दै छन् । डाक्टर सिग्देल, दधि ढुङ्गाना र भण्डारीले साधारणसभाको दौडान हुने प्रस्तुति, प्राविधिक हिसाबले सबै सदस्यलाई सहज प्रवेश र उपस्थितिका लागि भइरहेका तयारीका विषयमा कार्यसमितिलाई जानकारी गराइसकेका छन् ।
कन्भेनर डाक्टर अर्जुन बन्जाडेले दूरबिन नेपालसँग कुरागर्दै भने “एनआरएनए अमेरिकाको विधानले नै जटिल अवस्थामा डिजिटल विधिबाट पनि साधारणसभा गर्न सकिने बाटो खुला गरिदिएका कारण साधारणसभा रोकिने अवस्था छैन । आम सदस्यको सहभागिता र कोरम पुरा गरेर साधारणसभा सम्पन्न गर्न चाहिने उपस्थितिको बारेमा पनि विधानमा प्रष्ट ब्यवस्था भएका कारण डिजिटल विधिबाट हुने साधारण सभाको निष्कर्ष र वैधानिकतामाथि कसैले प्रश्न गर्ने ठाउँ पनि हुँदैन ।”
सदस्यहरुले कोरोनाको जोखिमबाट जोगिदै घरबाटै अनलाइनमा जोडिएर, डिजिटल विधिबाट हुने प्रस्तुति सुन्दै आफ्ना बिचार राख्न , टिक्का टिप्पणी गर्न पाउनु हुन्छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह भन्छन् “अव संस्थाहरूलाई प्रविधि मैत्री बनाएर अप्ठ्यारो समयमा पनि काम रोकिनु हुँदैन भन्ने सन्देश एनआरएनए अमेरिकाले अरु देशका एनसीसीहरु समक्ष पुर्याउनु पर्छ । महामारीले हामीलाई प्रविधि उपयोगको बाटोमा हिँडाएको छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-