जुन २६, २०१८, अमेरिका
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गतसाल छ वटा मुस्लिम बाहुल्य देश सहित आठ देशका मानिसहरुलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले ५-४ को बहुमतले सदर गरिदिएको छ। राष्ट्रपति ट्रम्पले जनवरी २०, २०१७ मा पद बहाल गरेको केही दिनमा नै आतंकबादीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने उद्देश्य सहित शुरु गरेको यात्रा प्रतिबन्ध मार्च, जुन र सेप्टेम्वरमा आइपुग्दा केही परिवर्तन भए र शुरुको सूचीको सुडानलाई हटाइयो भने यमन, चाड, उत्तर कोरिया र भेनेजुयला थपेर आठ पुर्याइयो। राष्ट्रपतिको कार्यकारी आदेशलाई विभिन्न स्तरका अदालतहरुबाट बेलाबखत स्थगन गरिदिएको थियो।
तर ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा गरेको अपील अनुरुप नै सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी आदेश अनुसारको यात्रा प्रतिबन्धलाई सामान्य बहुमतले सदर गरिदिएको छ। अब इरान, सुडान, सिरिया, ओमन, चाड, सोमालिया, भेनेजुयला र उत्तर कोरियाका नागरिकहरुलाई अमेरिका प्रवेशमा लागेको रोकले बैधता पाएको छ। केही मानव अधिकारवादी संस्थाहरुले भने शुरु देखि नै ट्रम्पको घोषणाको विरोध गरिरहेका थिए।
सर्वोच्च अदालतको ताजा फैसलाले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ भने आप्रवासीहरुप्रति अति नै कडा नीति अख्तियार गरिरहेका राष्ट्रपति ट्रम्प र उनको प्रशासनलाई निकै राहत मिलेको छ। राष्ट्रपतिले सर्वोच्चको फैसलाप्रति निकै खुसी व्यक्त गर्दै ट्वीट गरेका छन्। ह्वाइट हाउसको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन।
तस्वीर: विकीपेडिया, गेटी इमेज
प्रतिक्रिया लेख्नुहोस्:-