एनआरएनए अमेरिकाले आइसीसी डेलिगेटस चयनका लागि २५ प्रतिशत डेलिगेटसको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई जिम्मा दिएको छ । च्याप्टर, क्षेत्र र जनसंख्याको आधारमा आयोगले मोडालिटी बनाए पछि बिरोध र समर्थनमा वहसहरु चलिरहेका छन् । यसै सन्दर्भमा चर्चित कानुन ब्यबसायी तथा निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त वाशु फुलारासँग दूरबिन नेपालले गरेको कुराकानी :
दूरबिन नेपाल: २५ प्रतिशत डेलिगेटसको निर्वाचन प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?
वाशु फुलारा: एनआरएनए आइसीसी अमेरिकाको विधानले निर्वाचनसँग संवन्धित काम गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ । एनआरएनए अमेरिकाको कार्यसमितिले औपचारिक बैठक गरि २५ प्रतिशत आइसीसी सदस्यहरुको निर्वाचन गर्न निर्वाचन बोर्डलाई पत्र दिनु भएको छ । त्यसै आधारमा अहिले निर्वाचन प्रक्रिया अगाडि बढि रहेको छ । डेलिगेटस बन्न योग्यता पुगेका व्यक्तिहरुले उम्मेदवारी दिनु भएको छ ।
दूरबिन नेपाल: निर्वाचन बोर्डले आइसीसीको विधिविधान र प्रकृया फलो गरेन भन्ने आरोप तपाईहरु माथि लागेको छ । तपाईहरुले मनोमानी नै गरेको हो ?
वाशु फुलारा: हामीले एनआरएनए आइसीसीको २०२१मा संसोधित विधानको दफा १३ को उपदफा ७ बमोजिम र एनसीसीको विधानको धारा अनुसार काम गरेका छौ । साथै एनआरएनए अमेरिकाको विधानको १५ औं संसोधनको धारा १५७ सी ले ब्यबस्था गरे अनुसार मोडालिटी बनाएर । त्यसलाई सार्वजनिक गरि सबै सरोकार पक्षको सुझाव मागेर विधि संवत ढंगले काम गरेका छौ । एउटा बैध संस्थाले दिएको जिम्मेवारीमा विधिवत ढंगले काम गर्दा मनोमानी कसरी हुनसक्छ ?
दूरबिन नेपाल: २५ प्रतिशत डेलिगेटसको निर्वाचनमा २९ च्याप्टरहरुका लागि आरक्षित गरेर बाकी १८ जनामा मात्र निर्वाचन गराउन कसरी मिल्छ ? तपाईहरुले कुन आधारमा त्यो मोडालिटी बनाउनु भएको हो ?
वाशु फुलारा: आइसीसीको विधानले २५ प्रतिशतको निर्वाचन गराउन मात्र भनेको छ । कसरी, कुन विधि र कुन प्रक्रियाबाट गर्ने भन्ने किटान गरेको छैन । एनसीसीले कुन मोडालिटी अपनाउने र निर्वाचन गराउने भनेर विधि र प्रक्रिया दिएको छैन । निर्वाचन बोर्डलाई नै २५ प्रतिशतको निर्वाचनको विधि प्रकृया र मापदण्ड बनाउन जिम्मेवारी दिइएको छ । हामीले आइसीसी र एनसीसीको विद्यमान विधानले डेलिगेटस चयनका लागि प्रष्ट गरेका कुराहरु समावेस गरेर मोडालिटी बनाएका हौं । एनसीसीको धारा १५७ सी मा च्याप्टरले तोकेको ब्यक्ति डेलिगेटस् हुने भनेको छ । त्यसलाई हामीले समावेस गरेको मात्र हो । हामीले आरक्षित गरेको हैन ।
दूरबिन नेपाल: एनसीसी र आइसीसीका कतिपय पदाधिकारीहरुले नै तपाईहरुले बनाएको मोडालिटी विधिसम्मत छैन । सार्वजनिक गरेको निर्वाचन प्रक्रिया पनि ठिक छैन भनेका छन् । तपाईहरुले उनीहरुको कुरा नसुन्नु भएको हो ?
वाशु फुलारा: निर्वाचन बोर्ड एनआरएनए अमेरिकाको निर्वाचन गराउने एक मात्र बौधानिक निकाय हो । यसले विधि विधान र नजिरहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेर त्यसको परिधि भित्र रहेर काम गर्छ । एनसीसी कार्यसमितिको बैठकबाट विधिसम्मत ढंगले दिएको जिम्मेवारी अनुसार हामीले निर्वाचनको मोडालिटी बनायौं । प्रस्तावित मोडालिटीमा सुधार गर्नु पर्ने वा अरु उपयुक्त विधि र मोडालिटी छन् भने पठाउन र सुझाव दिन हामीले सबै सरोकारवाला पक्षलाई दूई दिनको समय दियौं । आईसीसी–एनसीसी साथै सरोकार राख्ने पदाधिकारी देखि आम सदस्य कसैले पनि लिखित रुपमा विकल्प दिनु भएन । त्यसपछि बल्ल हामीले प्रस्तावित मोडालिटिलाई आधार बनाएर अगाडि बढ्यौं । विधिसम्मत ढंगले आउदा हामीले कसैलाई नसुन्ने वा नटेर्ने भन्ने हुँदैन । निर्वाचन बोर्डले को ब्यक्तिले के बोल्यो भन्दा पनि विधि विधान र तय गरिएका मापदण्डले के भन्छ भनेर हेर्ने हो ।
दूरबिन नेपाल: अहिले निर्वाचन बोर्डले गरेको डेलिगेटसको निर्वाचनले बैधता पाउदैन भनिरहेका छन् । साथै डेलिगेटसको टुंगो लगाउन एनसीसी बोर्डले अर्को समिति पनि बनाइसकेको देखिन्छ । तपाईहरुले गरेको कामले बैधता पाउला ?
वाशु फुलारा: निर्वाचन बोर्डलाई विधिवत ढंगले निर्वाचनका लागि दिइएको जिम्मेवारी निर्वाह गरिरहेका छौं । बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गर्ने हो । विधिसम्मत ढंगले गरेको डेलिगेटस निर्वाचनलाई मान्यता दिने वा नदिने उहाँहरुको कुरा हो । कानुले विधि विधा र प्रक्रिया भन्दा माथि कोही पनि हुँदैन र हुनखोज्नु हुँदैन भन्छ । यदि त्यसो गरियो भने दण्डनीय हुन्छ भन्छ कानुनले । हामी त्यसमा विस्वास गर्छौ ।
प्रतिक्रिया लेख्नुहोस्:-