काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार गरिब र विपन्नलाई सुलभ र सहज रूपमा उपचार दिलाउन प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री बस्नेतले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले भने, “संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ, यस क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ ।”
स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उनले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान पुर्याउन सुझाव दिए ।
मन्त्री बस्नेतले भने, “स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको धेरै ठूलो जिम्मेवारी, भूमिका र दायित्व छ, मानवीय सेवाभावका हिसाबले भगवानकै जस्तो भूमिका छ ।”
स्वास्थ्य क्षेत्रका जनशक्तिप्रतिको दायित्व पूरा गर्दै उत्साहित तुल्याउन राज्य कटिबद्ध रहेको बताउँदै उनले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने घोषणा गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-