-सुजन पण्डित
संसारभर सबभन्दा बढी खेलिने र हेरिने खेल फुटबल हो भन्दा फरक नपर्ला। झन् अन्तराष्ट्रिय फुटबल महासंघ (Federation Internationale de Football Association- FIFA अर्थात International Federation of Association Football) ले हरेक चार बर्षमा आयोजना गर्ने विश्वकप फुटबलको सिजनमा त यसका दर्शकहरु ह्वात्तै बढ्ने गर्दछ।
मित्र राजेश खनालले रसियामा जारी विश्वकप फुटबलको सेमी-फाइनलिष्टहरु चयन हुने बित्तिकै आफ्नो फेसबुक वालमा लेखे-‘विश्वकप अब यूरो-कपमा बदलियो’। उनले त्यति लेखेपछि यो पंक्तिकारलाई विश्वकपको ८८ बर्षीय इतिहासमा कतिपटक यूरोपका देशहरु मात्र सेमी-फाइनलमा पुगेका रहेछन्, थाहा पाउन मन लाग्यो। फिफाको आधिकारिक वेबसाइट लगाएतका स्रोतहरुबाट खोज-तलास गरेर विश्वकप फुटबल, फिफा र यसका गतिबिधीका बारेमा यो संक्षिप्त आलेख तयार हुन सकेको हो।
फिफाको स्थापना
सन् १९०४ मे २१ मा फ्रान्सको राजधानी पेरिसमा स्थापना भएको र स्विजरल्याण्डको जुरिचमा मुख्यालय रहेको विश्व फुटबल महासंघ (फिफा)को शुरुवाती उद्देश्य बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, स्पेन, स्विडेन, नेदरल्याण्ड र स्विजरल्याण्डका राष्ट्रिय फुटबल एशोसियसनहरुका अन्तराष्ट्रिय प्रतियोगिताहरुको व्यवस्थापन गर्नु थियो। सीमित उद्देश्यका लागि सीमित यूरोपियन देशहरुको मात्र संलग्नतामा ११४ बर्ष पहिले स्थापित फिफामा हाल २११ राष्ट्रिय फुटबल एशोसियसनहरु सदस्य छन् र अर्बौं डलरको कमाई गर्ने हैसियतमा छ, फिफा। फ्रान्समा भेला भएर स्थापनाको निर्णय भएकाले यसको छोटकरी नाम ‘फिफा’ (FIFA) फ्रेन्च भाषाबाटै लिइएको छ र अंग्रेजीमा समेत फ्रेन्च भाषा कै छोटकरी रुप फिफा प्रयोग भएको छ। रोबर्ट ग्यूरिन फिफाका संस्थापक अध्यक्ष हुन् भने सेप ब्लाटरले १७ बर्षपछि भ्रष्टाचारको आरोप लागेर २०१५ मा पद छाडे यता स्विजरल्याण्ड र इटाली दुबै देशको नागरिकता लिएका गियानी इन्फानटिनो यसका अध्यक्ष रहेका छन्। ब्लाटर सहित फिफाका ९ जना उच्च पदस्थ अधिकारीहरुलाई अमेरिकी न्याय मन्त्रालय (यूएस डिपार्टमेण्ट अफ जस्टिस)ले आर्थिक अपचलन र धोखाघढीको मुद्दा दायर गरेपछि फिफाको इतिहास मै सबभन्दा ठूलो भ्रष्टाचार काण्डको पर्दाफास भएको थियो। हाल रसियामा जारी विश्वकप र सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप आयोजनाका सन्ददर्भमा भएका आर्थिक चलखेल र भोट किनबेच भएको आशंकामा जारी अनुसन्धानले फिफाको अस्तित्व मै प्रश्न उब्जाएको थियो। बार्षिक २५ लाख पाउण्ड भन्दा बढी तलब सुविधा पाउने फिफाको अध्यक्ष हुन हानाथाप हुनु अनौठो होइन। पद, प्रतिष्ठा र अर्बौं डलरको फिफा बजेटमा जो कोहीको आँखा लाग्नु पनि स्वभाविकै हो।
फिफा विश्वकप
फुटबल विश्वकपको शुरुवात सन् १९३० बाट भएको हो। १९२९ मा तत्कालिन फिफा अध्यक्ष जुलस रिमेट (फ्रान्स) को अगुवाईमा फुटबलको विश्वस्तरीय प्रतियोगिता गर्ने निर्णयसंगै १९३० बाट फुटबलको अन्तराष्ट्रिय प्रतियोगिता अर्थात विश्वकपको शुरुवात भएको हो। तत्कालीन अवस्थामा ओलम्पिक गेमका बेला मात्र फ़ुटबलको विश्वस्तरीय प्रतियोगिता हुने गर्थ्यो। उरुग्वे सन् १९२४ र १९२८ मा लगातार फुटबलको ओलम्पिक च्याम्पियन भएको थियो। तसर्थ युरोपका अन्य देशहरु विश्वकप आयोजनाका लागि अघिसर्दै गर्दा प्रतियोगिताको सबै खर्च र प्रतियोगी देशका खेलाडी तथा अफिसियलहरुको सहभागिता खर्च समेत बेहोर्ने सर्तमा उरुग्वेले प्रतियोगिता आयोजना गर्ने जिम्मा पायो।
महिनौंको सामुद्रिक यात्रा र लामो समय नियमित कामबाट छुट्टी लिनु पर्ने र फर्केर आएपछि जागिरको निरन्तरताको अनिश्चयका कारण यूरोपियन देशका फुटबल खेलाडीहरु उरुग्वेमा हुने विश्वकपमा सहभागी हुन अनिच्छुक देखिए। फलस्वरूप, ईंगल्याण्ड, इटाली, जर्मनी, स्पेन र हल्याण्ड जस्ता तत्कालीन बेलाको यूरोपियन फुटबलमा प्रभुत्व जमाएका देशहरुले पहिलो विश्वकपमा सहभागिता जनाएनन्। तत्कालीन फिफा अध्यक्ष रिमेटको व्यक्तिगत सक्रियतामा उरुग्वेले सबै खर्च बेहोर्ने भएपछि फ्रान्स, बेल्जियम, रोमानिया र युगास्लाभिया सहित चार यूरोपियन देशहरु पहिलो विश्वकपमा सहभागी भए। अपेक्षा गरिएजति यूरोपियन देशहरु विश्वकपको पहिलो श्रृंखला (१९३०) मा सहभागी भएनन् र जम्मा १३ वटा देशका फुटबल एशोसियसनले मात्र सहभागिता जनाए। युरोपबाट चार, दक्षिण अमेरिकाबाट आयोजक उरुग्वे सहित अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली (चिले), पाराग्वे, पेरु र उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका र मेक्सिकोले पहिलो विश्वकपमा सहभागिता जनाएका थिए। पहिलो विश्वकपमा आयोजक तथा ओलम्पिक फुटबलको तत्कालीन च्याम्पियन उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई हराउँदै विश्वकप जित्यो।
फिफाले पहिलो विश्वकप सफलतापूर्वक आयोजना गरेपछि १९३४ र १९३८ का विश्वकप यूरोप मै आयोजना भए। १९३४ मा इटालीमा विश्वकप आयोजना भयो र आयोजक देशले नै विश्वकपको उपाधि पनि जित्यो। पहिलो विश्वकपमा १३ देश सहभागी भएकामा दोश्रोमा १६ देशले सहभागिता जनाएका थिए। तर १९३८ मा फ्रान्समा आयोजित विश्वकपमा भने १५ देशले मात्र भाग लिए। फ्रान्समा आयोजना भएको तेश्रो विश्वकपमा भने पहिलो र दोश्रोमा जस्तो आयोजक देशले कुनै पनि उपाधि जित्न सकेन र इटाली दोश्रो पटक विश्व च्याम्पियन बन्न सफल भयो।
सन् १९४२ को प्रस्तावित विश्वकप दोश्रो विश्वयुद्धका कारण भएन भने १९४५ मा विश्वयुद्ध समाप्त भएपनि प्राय यूरोपियन देशहरु यु्द्धका कारण जर्जर भएकाले प्रतियोगिता आयोजनाको स्थिति बनेन र १९४६ मा हुनुपर्ने विश्वकप पनि स्थगित भयो। आठबर्षको अन्तरालपछि सन् १९५० मा ब्राजिलको रियो दि जिनेरियोमा फेरि फुटबलको विश्वकप आयोजना हुन सक्यो। शुरुवाती चरणमा निकै उतार-चढाव पार गरेको फिफा विश्वकप १९५० पछि भने कहिल्यै अबरुद्ध भएको छैन र २०१८ मा रसियामा आयोजना हुँदासम्म यसले आफ्नो २१ औं संस्करण पुरा गरिसकेको छ।
जुलस रिमेट ट्रफी र फिफा वर्ल्डकप ट्रफी
सन् १९३० मा पहिलोपटक विश्वकप आयोजना हुँदा विजेतालाई दिइने ट्रफीलाई ‘भिक्ट्री ट्रफी’ भनिन्थ्यो। पछि १९४६ आएर विश्वकप फुटबल आयोजनामा अगुवाई गरेका तत्कालीन फिफाका अध्यक्ष फ्रान्सका जुलस रिमेटको सम्मानमा त्यसको नाम परिवर्तन गरेर ‘जुलस रिमेट कप’ राखियो।
सन् १९६६ मा बेलायतमा विश्वकप हुनु पूर्व हराएर फेरि फेला पारिएको जुलस रिमेट ट्रफी सन् १९७० मा ब्राजिलले तेश्रो पटक विश्वकप जितेपछि संधैका लागि राख्न पायो। सक्कली जुलस रिमेट ट्रफी १९८३ मा पून हरायो र त्यो कहिल्यै फेला परेन।
फिफाले १९७४ मा इटालीका शिल्पकार सिल्भियो गज्जानिंगाले डिजाइन गरेको ‘फिफा वर्ल्डकप ट्रफी’ले १९३० देखि १९७० सम्म अस्तित्वमा रहेको जुलस रिमेट ट्रफी प्रतिस्थापन गरेदेखि अहिलेसम्म विश्वकप ट्रफी परिवर्तन भएको छैन। हाल फिफाले विश्वकप च्याम्पियनलाई दिने ट्रफी ३६.८ सेमी अग्लो र ६.१ केजी तौलको रहेको छ। १८ क्यारेटको सुनबाट बनेको फिफा ट्रफीको हालको मूल्य १० मिलियन अमेरिकी डलर बराबर रहेको छ।
फुटबल’ कि ‘सकर’?
अमेरिकन फुटबललाई (अमेरिकामा हामीले भन्ने फुटबललाई सकर भनिन्छ) छाडेर संसारभर नै फुटबल भन्ने बित्तिकै ११-११ जना खेलाडीकाबीच खुट्टाले मात्र खेलिने गोलो भकुण्डोलाई बुझाउँछ। अठारौं शताब्दिको शुरु तिरैबाट बेलायतमा फुटबल खेलको बिकास भएको मानिन्छ। सन् १८६३ मा बेलायती विश्वविद्यालयहरुमा फुटबल (तत्कालीन बेलामा एशोसियसन फुटबल अर्थात ‘सकर’ र खुट्टा र हात दुबैले खेलिने खेल ‘रग्बी’ अर्थात ‘रगर’का नियमहरु बन्न थालेको भनाई छ। त्यो बेला रग्बीलाई ‘रगर’ र एशोसियसन फुटबललाई सकर’ भनिन थालियो। बेलायतबाट एशोसियसन फुटबल ‘सकर’ र रग्बी बिस्तार भएर एटलाण्टिक पार गरेर दक्षिण र उत्तर अमेरिकासम्म आइपुग्यो। बेलायतमा प्रचलनमा रहेको एशोसियसन फुटबल अर्थात ‘सकर’लाई अमेरिकामा पनि ‘सकर’ नै भनियो। अमेरिकीहरुले रग्बी अर्थात ‘रगर’को केही परिमार्जित खेलको विकास गर्दै त्यसलाई फुटबल नामाकरण गरे। बेलायतीहरुले एशोसियसन फुटबल ‘सकर’लाई पछि गएर फुटबलमात्र भन्न थाले भने अमेरिकीहरुले चाहीं रग्बी कै अर्को रुप अमेरिकन फुटबलको विकास गरिसकेकाले यूरोप, एशिया, अफ्रिका तथा दक्षिण अमेरिकामा फुटबलको रुपमा प्रचलित खेललाई ‘सकर’ मात्र भन्दछन्। अमेरिकीहरु भने बेलायतले ‘सकर’लाई पछि फुटबल मात्र भन्न शुरु गरेकाले अन्यत्र फुटबल भनिने खेललाई ‘सकर’ भन्छन् र हातले समेत खेलिने र झण्डै रग्बी झैं लाग्ने खेललाई चाहीं अमेरिकन फुटबल भन्दछन्।
विश्वकप कि यूरो कप?
फिफा विश्वकपको रसियामा जारी २१ औं संस्करणको सेमी-फाइनल खेल अबको केही घण्टामा शुरु हुनेछ। यो पाली सेमीफाइनलिष्ट चारवटै टिम यूरोपका हुन्। विश्वकपको अन्तिम चारमा पुगेका सबै देश यूरोपका भएकाले पनि जारी विश्वकपलाई यूरो-कप समेत भनेका हुन् फुटबल पारखीहरुले। क्वार्टर फाइनलसम्म पुगेका दक्षिण अमेरिकी देश ब्राजिल र उरुग्वे त्यहाँबाट बाहिरिएपछि अब यूरोपियन देशहरु बेल्जियम, फ्रान्स, बेलायत (ईंग्ल्याण्ड) र क्रोयसिया मात्र सेमी-फाइनलमा भिडन्त गर्दैछन्। यूरोपबाट १४, एशियाबाट ५, अफ्रिकाबाट ५, दक्षिण अमेरिकाबाट ५ र उत्तर अमेरिकाबाट ३ सहित ३२ देश सहभागी विश्वकप फुटबल प्रतियोगिताको अन्त्यतिर पुग्दा यूरोपका मात्र टिम बाँकी रहेपछि धेरैले यो विश्वकपलाई यूरो-कप पनि भन्न थालेका हुन्।
२१ मध्ये पाँचवटा विश्वकप श्रृंखलमा यूरोपका देशहरु मात्र सेमी-फाइनल पुगेका रहेछन्। १९३४ को दोश्रो विश्वकपमा इटाली बिजयी भयो भने चेक रिपब्लिक, जर्मनी र अस्ट्रिया क्रमश: रनर-अप, तेश्रो र चौथो भएका थिए। बेलायतमा १९६६ मा आयोजित विश्वकपमा बेलायत, जर्मनी,पोर्चुगल र तत्कालीन सोभियतसंघ सेमीफाइनलमा पुगेका थिए। यसैगरी १९८२ मा इटाली, जर्मनी, पोल्याण्ड र फ्रान्स सेमीफाइनलमा पुगेका थिए भने २००६ मा इटाली, फ्रान्स, जर्मनी र पोर्चुगल सेमीफाइनलमा खेलेका थिए। जारी विश्वकपमा समेत गरेर पाँच पटक यस्तो संजोग परेछ, जहाँ सेमी-फाइनल खेल्ने सबै मुलुक यूरोपका मात्र परेका छन्।
यसर्थ जारी विश्वकपलाई धेरै फुटबल पारखीहरुले यूरो-कप भनेपनि अन्यथा लिइरहनु पर्दैन। विश्वकप भित्रै यूरो-कपको समेत मज्जा लिन पाउनु पनि दर्शकको हैसियतले गज्जब कै संयोग जुरेको मान्नु पर्छ।
फिफाको नारा ‘ जीवन्त फुटबल’ जिन्दावाद!
स्रोत: फिफा डट कम
प्रतिक्रिया लेख्नुहोस्:-