अमेरिका । प्रख्यात कथावाचिका एवं अध्यात्म चेतनाकी प्रवर्तक राधिका दासीको प्रवचनमा अमेरिकका विभिन्न शहरहरुमा भक्तजनको विशाल उपस्थिति देखिएको छ । गत हप्ता ओहायो राज्यमा GBHO ले आयोजना गरेको विश्वशान्ति महायज्ञ (ओम सेन्टर र दिव्यधाम ओहायो)मा ३० हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो । ओहायोमा भएको धार्मिक अनुष्ठानमा भक्तजनहरुको उपस्थिति देख्दा आफू नेपालमै रहेको अनभूति भएको कथा प्रवचक राधिका दासी माताले बताइन् । ‘पत्याउनै गार्हो उपस्थिति ….३० हजार भन्दा बढि भक्तजन’ उनले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै लेखेकी छन्।
ओहायोमा भएको महायज्ञमा १०८ श्रीमद्भागवत पाठ पारायण, चतुर्वेद पाठ-पारायण, पञ्च कुण्डीय हवन, कोटिवर्तिका प्रज्ज्वलन, स्तम्भ कलश, १०८ शंखनाद, १०८ विष्णुसहस्रनाम पाठ पारायण, विभिन्न विग्रहको स्थापना, रुद्राभिषेक, सप्तशती पाठ, मन्त्रजप, भजन-कीर्तन, योग-ध्यान एवं सङ्गीतमय कथा-प्रवचन जस्ता धार्मिक महत्वका क्रियाकलापहरु समावेश थिए ।
त्यसैगरी ओहायोपछि गत बुधवार मेरिल्याण्ड र भर्जिनियामा भएको सत्संग एवं प्रवचन कार्यक्रममा पनि सयौं भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । हिन्दु बुद्ध मन्दिर वाल्टिमोरमा भएको सत्संग कार्यक्रममा सहभागी भक्तजनहरुले कार्यक्रम केही समयका लागि लम्ब्याउन आग्रह समेत गरेका थिए ।
त्यसैगरी स्यानफ्रान्सिकोकी रिचमण्डस्थित मुक्तिनाथ मन्दिर परिसरमा तीनदिने ‘शिव महिमा प्रवचन तथा सत्संग’ कार्यक्रम तय भएको छ । मातृभूमि नेपालको आयोजनामा हुने उक्त धार्मिक एवं अध्यात्मिक प्रवचन आगामी जुलाई २६, २७ र २८ गरी तीनदिन सम्म संचालन हुने जानकारी दिइएको छ । श्रावण महिनामा शिव महिमा एवं शिव स्तुतिका लागि निकै महत्वपूर्ण मानिन्छ । कार्यक्रम तालिका अनुसार कार्यक्रमको पहिलो दिन मुक्रिनाथ धाम परिसरमा कलश यात्रा हुनेछ भने त्यसपछि प्रवचन, सतसंग एवं भजनकीर्तन कार्यक्रम सम्पन्न हुनेछन् ।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले कथावाचिका दासीवाट श्रावण महिनाको अवसरमा हुने शिव महिमा एवं शिव स्तुती र सतसंगवाट बे एरिया र आसपासका नेपाली भक्तजनहरुलाई अध्यात्मिक चेतनाको विकासमा प्रेरणादायी भूमिका खेल्न सहयोग पुग्ने बताए ।
राधिका दासी (माता) ले आफू अमेरिकामा रहेका भक्तजन एवं अध्यात्मिक दर्शक एवं श्रोतासंग हुने सत्संग कार्यक्रमका लागि व्यग्र प्रतिक्षारत रहेको प्रतिकृया दिएकी छन् । दूरबीनसंगको कुराकानीमा कथावाचक दासीले आफ्नो भ्रमणवाट नेपालको अध्यात्म ज्योती अमेरिकाभर फैलने विश्वास व्यक्त गर्दै मुक्तिनाथ धाममा हुने शिव महिमा एवं सत्संगमा सरिक हुन सबैमा आव्हान समेत गरेकी छन् । कथा प्रवचक दासी अमेरिकाको कार्यक्रम सकेर बेलायतको लण्डनमा हुने धार्मिक अनुष्ठान एवं सत्संग कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।









प्रतिक्रिया लेख्नुहोस्:-