ओक्लोहमा (अमेरिका), जुलाई २५
अमेरिकाको राज्यको एटोका स्थित ‘बडिज ह्याण्डी मार्ट’ नामको स्टोरमा कार्यरत नेपाली चेली रचना श्रेष्ठ माथि एक अश्वेत वर्णका व्यक्तिले सोमवार मध्यान्ह अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटना लगत्तै एअर-लिफ्ट गरिएकी रचनाको टुल्सा अक्लोहमा स्थित सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ। शरीरका बिभिन्न भागमा गोली लागेकी घाइते रचनाको उनको शरीरबाट गोलीहरु निकालिने क्रम जारी रहेको र स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ।
नेपालमा गोरखा जिल्ला घर भएकी २५ बर्षीय घाइते रचनाको श्रीमान कपिल श्रेष्ठ र अढाई बर्षीय छोरा करीब एक बर्ष अघि मात्र डिभी मार्फत अमेरिका आएका थिए।
स्थानीय प्रहरीले घटनामा संलग्न १८ बर्षीय जिमुन्टेज हिललाई गिरफ्तार गरिसकेको छ भने घटनामा प्रयोग भएको भनिएको हतियार नजिकैको म्याक डोनल्ड रेष्टुरेण्टबाट बरामद भएको एटोका काउण्टी सेरिफका अधिकारीहरुले जनाएका छन्।
घटना लगत्तै नेपाली समुदायका व्यक्तिहरु घाइते रचनाका श्रीमान र स्टोर संचालकसंग सम्पर्कमा रहिरहेको र आवश्यक सहयोगको अपील गरिएको छ। एनआरएनए अमेरिकाका बोर्ड अफ डिरेक्टर तथा डालासस्थित नेपाली समाजसेवी कृष्ण लामिछानेले पीडित श्रेष्ठको परिवारलाई आवश्यक आर्थिक सहयोग जुटाउन परिवारसंग समन्वय गरिरहेका छन्। सहयोगको लागि ‘गोफण्डमी’को तल उल्लेखित लिंकमा गएर आर्थिक सहयोग गर्न सकिने जानकारी प्राप्त भएको छ। हिजोबाट शुरु भएको आर्थिक संकलनबाट एकदिन मै करीब ३३ हजार डलर संकलन भैसकेको छ।
https://www.gofundme.com/help-rachana-atoka-shooting-victim
तस्वीर: रचना श्रेष्ठको फेसबुक तथा केटिइएन
प्रतिक्रिया लेख्नुहोस्:-