अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको २०२३–२५ कार्यकालका लागि आगामी अक्टोबरमा हुने निर्वाचनमा नेपाली काँग्रेस र सत्ता गठबन्धनको तर्फबाट अध्यक्षमा महेश श्रेष्ठ अगाडि बढ्ने भएका छन् ।
अध्यक्ष कुल आचार्यले श्रेष्ठको नामलाई अगडि बढाउने विषयमा सबै पक्षसँग संवाद गरिरहेका छन् । महेश श्रेष्ठको जापान लगायत विश्वका विभिन्न देश र नेपालमा व्यापार व्यवसाय रहेको छ । आइसीसीको कोषाध्यक्ष भइसकेका श्रेष्ठ अहिले उपाध्यक्ष रहेका छन् । उनले एनआरएनए आइसीसीमा आउने हरेक समस्या र विवादमा मध्यमार्गी भूमिका निर्वाह गर्दै समाधानका लागि काम गरेका छन् ।
श्रेष्ठले नेतृत्व गर्ने समूहमा उपाध्यक्षमा डा केशव पौडेलको नाम लगभग निश्चित भइसकेको छ । एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर पौडेल अहिले आइसीसीका महासचिव हुन् । डाक्टर पौडेल अध्यक्षका दाबेदार समेत रहेका छन् । अध्यक्ष आचार्य र सो समूहले पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेको छ ।
कुल आचार्य, श्रेष्ठ र पौडेलले महासचिवमा बुद्धि सागर सुबेदीलाई अगाडि बढाउने भएका छन् । सुवेदी एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष हुन् । सुबेदी एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष हुँदा विश्व भरका एनसीसी अध्यक्षहरूको भेला गरी कुल आचार्यको अध्यक्ष अभियानलाई सहयोग गरेका थिए । त्यस यता सुबेदीको विश्व भरका एनसीसीहरुसँग राम्रो सम्बन्ध बनेको छ ।सुबेदीले गत साता आयोजना गरेको आइसीसी महासचिवको उम्मेदवारी कार्यक्रममा विश्व २१ देशका निर्वातमान अध्यक्ष र कतिपय देशका नव निर्वाचित अध्यक्षहरू समेत आएर शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । श्रेष्ठको समुहबाट महासचिवमा उठ्न चाहेका गंगाधर गौतमलाई अरू पदमा मिलाउने आन्तरिक गृहकार्य भइरहेको छ ।
एमालेको तर्फबाट भने बद्रि केसी अध्यक्षमा दोहोरिने लगभग निश्चित छ । केसीको समूहबाट महासचिवमा गौरी जोशी दोहोरिन चाहेको चर्चा छ ।। तर जापानका पारसमणि पोखरेल पनि केसी समूहको महासचिव हुने दौडमा रहेका छन् । २०१७–१९मा एनआरएनए अमेरिकाको अध्यक्ष दौडमा रहेको समयमा गौरीराज जोशीले डाक्टर केशव पौडेलको अध्यक्षमा दोहोरिन लाग्दा चर्को आलोचना गरेका थिए । पद लोलुपहरू संस्थामा एउटै पदमा दोहोरिएर संस्थालाई बरबाद गर्न चाहन्छन् भन्दै जोशीले आफू कुनै पनि संस्थामा एउटै पदमा दोहोरिएर नबस्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-