अगष्ट २१ स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
फेस्टिबल अफ ग्लोबले आइतबार आयोजना गरेको इण्डियन परेडमा नेपाली डायस्फोराले उत्कष्ट प्रदर्शन गरेर ट्रोफी समेत जितेको छ । एसिएन देशहरुको सहभागिता रहेको सो परेड नेपाली परेड जस्तै भएको सहभागीहरुले बताएका छन् ।
न्यान्सका अध्यक्ष प्रितेश कार्कीको नेतृत्वमा सहभागी भएको सो टोलीले नेपाली झण्डा बोकेर “यो नेपाली शीर उचाली संसारमा लम्कन्छ…..” “बुद्ध वाज बोर्न इन नेपाल”… लगायतका प्ले कार्ड बोकेर मार्चापास गरेको थियो । “हामीले अन्तिम समयमा सहभागी हुने निर्णय गरेका थियौं, तर त्यो परेडले नेपाल र नेपालीलाई चिनाउने थप मौका मिलेको महसुस भएको छ, हजारौं हजार सहभागीमाझ नेपाल चिनाउने अवसर मिल्यो,” न्यासका अध्यक्ष प्रितेश कार्कीले दूरबीनसँग भने । परेडमा अर्का सहभागीका अनुसार इण्डियन परेडमा नेपाली राष्ट्रिय गीत र “भगवान बुद्ध नेपालमा जन्मेका हुन् “भन्ने प्ले कार्ड बोकेर हिड्दा गत वर्ष स्यानफ्रान्सिस्कोमा गरिएको नेपाल डे परेडको जस्तै आभास भएको थियो ।
अध्यक्ष कार्की नेपाली समुदायले अन्य देशका समुदायसँग पनि सहकार्य र संस्कृति आदानप्रदान जस्ता कार्यहरु विस्तार गर्नु जरुरी रहेको बताउँदै भन्छन्, -“न्यान्सले आगामी दिनमा यस्ता कार्यक्रममा थप सहभागिता जनाउनेछ” ।
भारत, चीन, कोरिया, नेपाल लगायतका देशहरुका हजारौं सहभागीहरुले आफ्नो भेषभूषा र संस्कृति झल्काउने खालका प्रस्तुति दिएका सो कार्यक्रममा महासचिव यज्ञ नेपाल, एनआरएनए आइसीसीका सदस्य उत्तम कार्की, सुरेन्द्र मल्ल, एनआरएनए पश्चिम क्षेत्रका संयोजक विष्णु केसी लगायत दर्जनौं नेपालीहरु सहभागी भएका थिए ।
सो परेडमा नेपालले उत्कृष्ट भेषभूषा र सांक्कृतिक कार्यक्रममा उत्कृष्ट ट्रोफी जितेको थियो भने नेपाली वालवालिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-