अमेरिकी राज्य कोलोराडोको वेस्टमिनिस्टर शहरमा चारदिन अघि शनिवार साँझ ८:४५ बजेतिर सडकमा हिंडिरहेको बेला प्रहरीको गोलीबाट नेपाली युवा विरेन्द्र ठकुरीको मृत्यु भएको छ। डेनभरसंगै जोडिएको ब्रुमफिल्ड शहरमा स्थायी बसोवास गरिरहेका ठकुरी मारिनु अघि उनको दाईसंगै पैदल यात्रामा भएको प्रत्यक्षदर्षीको भनाई छ। स्थानीय फेडरल स्ट्रिट ड्राइभमा केही व्यक्तिले सडकमा होहल्ला गरेको सूचनाका आधारमा परिचालित प्रहरीको ठकुरी दाजु-भाईसंग जम्काभेट भएको बताईन्छ। निहत्था नेपाली युवालाई प्रहरीले किन गोली प्रहार गय्रो भन्ने कारण अझैसम्म खुली नसकेको एनआरएनए अमेरिकाको कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुँगानाले बताएका छन्।
घटना लगत्तै गिरफ्तार भएका ठकुरीका दाजुलाई प्रहरीले सोधपुछ पछि रिहा गरिसकेको छ। मृ्तक ठकुरीको परिवारमा आमा र दाजु-भाउज्यू रहेका छन्। घटनाबारे सुन्ने बित्तिकै कोलोराडो स्थित नेपाली समुदायका अगुवाहरु ठकुरीको घर पुगेको र घटनाको थप अनुसन्धानका लागि स्थानीय सिटीका मेयर लगाएत प्रहरी अधिकारीहरु, कानूनविद तथा अधिकारकर्मीहरुसंग परामर्श थालेको च्याप्टर अध्यक्ष ढुँगानाले बताएका छन। निहत्था युवालाई बिना कारण गोली प्रहार गरेर मारेको घटनाले कोलाराडो लगाएत अमेरिका भरिका नेपाली समुदायमा चिन्ता छाएको छ। एनआरएनए-अमेरिका, कोलाराडो च्याप्टर र रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल, नेपाली घर, नेपाली जनसम्पर्क समिति, लगाएत कोलोराडोमा रहेका नेपाली संघसंस्थाहरुको अगुवाईमा ठकुरीको मुद्दालाई सिभिल राइट्स सम्वन्धी कानूनविद मार्फत अदालती प्रकृयामा (सिभिल राइट-ल-सुट) लग्ने र त्यसको लागि आवश्यक सहयोग जुटाउन गोफण्डमी एकाउण्ट खोलिएको अध्यक्ष ढुंगानाले जानकारी गराएका छन्। घटनाको अनुसन्धानका लागि केहीदिन लाग्ने भएकोले ठकुरीको पार्थिव शरीरलाई अझै केहीदिन प्रहरी नियन्त्रण मै अस्पतालमा राखिने हुनाले अन्तिम संस्कार शनिवार मात्र गर्ने जानकारी कोलोराडोको नेपाली समुदायबाट प्राप्त भएको छ।
कुनै आधिकारिक तथ्याँक नभएपनि कोही नेपाली व्यक्ति प्रहरी कार्बाहीमा मारिएको संभवत यो पहिलो घटना हुनुपर्छ अमेरिकामा। त्यसैले पनि नेपाली समुदायमा कोलोराडोको यो घटनाले निकै चर्चा पाएको छ। कोलोराडो घटनाले नेपालीहरुमा बढाएको सुरक्षा चासो संगसंगै अमेरिकामा प्रहरीको गोलीबाट बर्षेनी मारिने गरेका करीब एक हजार व्यक्तिहरुको लिष्टमा एक नेपाली पनि थपिएका छन्।
पुलिसद्वारा नेपाली मारिएको घटना यो पहिलो भएपनि अमेरिकाभर कन्भिनेन्ट स्टोरहरुमा कामगर्ने नेपालीहरु लुटेराहरुको आक्रमणमा परेर मर्नेहरुको संख्या बर्षेनी थपिइरहेको छ। यसैबर्ष मात्र डालास, भर्जिनिया लगाएतका स्थानहरुमा नेपालीहरुको कार्यस्थलमा लुटेराको गोलीबाट मृत्यु भएको थियो। यस बाहेक पनि कोलोराडो, वाशिंगटन लगाएतका मनोरन्जनात्मक उद्देश्यका लागि गाँजा प्रयोग गर्न छुट भएका राज्यहरुमा नेपाली युवाहरु समेत गाँजाको लतमा लागेर जीवन बर्वाद गरेका घटनाहरु सुनिन थालेको छ। यस्ता घटनाहरुले कालान्तरमा नेपाली समुदायले थप ‘ट्रेजेडी’हरु सामना गर्नु पर्ने संभावना बढाईदिएको छ।
नेपाली-अमेरिकन युवा विरेन्द्र ठकुरीको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाले निकै उद्वेलित मनलाई शान्त पार्न कै लागि भनेपनि अमेरिकामा केही बर्ष यता भएका बन्दुक प्रयोगबाट भएका हिंसाका बारेमा तत्काल अनलाइन रिसर्च गर्ने जमर्को गरियो। हालैका बर्षहरुमा भएका र अमेरिकी जनताहरुका लागि निकै पीडादायी घटनाका रुपमा दर्ज भएका केही आम नरसंहारकारी घटनाहरुलाई खोतल्दा आँग नै सिरिंग-सिरिंग भएका छन्। कनेक्टिकटको न्यूटाउनस्थित स्याण्डी हुड एलिमेन्ट्री स्कुलको गोलीकाण्ड आधुनिक अमेरिकी इतिहास कै दर्दनाक घटना हुनुपर्छ। तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामालाई समेत भाव-विह्वल बनाएको घटनालाई बन्दुकबादीहरु बाहेक कसैले पनि भुल्न सक्दैनन् होला।
प्रहरीकोगोलीबाट बर्षेनीसयौंकोज्यानजान्छअमेरिकामा
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) को प्रतिवेदनमा जनाइए अनुसार जायज प्रहरी कार्बाहीमा मारिने संभावित अपराधीहरु नै सयौंको संख्यामा हुने गर्छ। त्यसबाहेक प्रहरी कार्बाहीमा निहत्था सर्वसाधरणहरु पनि त्यत्तिकै मारिन्छन्। हालैका बर्षहरुमा प्रहरी कार्बाहीमा मारिने संख्या बर्षेनी हजार नाघ्न लागेको छ। यसका अतिरिक्त ‘मास-सुटिंग्स’बाट मारिने संख्या पनि त्यत्तिकै छ।
सन् २०१४ को अगष्ट महिनामा मिजौरीको फर्गुसन सिटीमा १८ बर्षीय निहत्था अश्वेत किशोर माइकल ब्राउन प्रहरी अधिकारी ड्यारेन विल्सनको गोलीबाट मारिएपछि प्रहरीहरुद्वारा हुने अत्यधिक बल प्रयोग र नागरिक हत्याका बारेमा अमेरिकाभर बहस निम्त्यायो र संसारभर कै संचार माध्यमको ध्यान खिच्यो। फर्गुसन शहरमा भड्किएको हिंसा र प्रदर्शनबाट कैयन व्यापारिक प्रतिस्ठान, स्टोरहरु लुटिए र जलाईए भने प्रहरीका सहित दर्जनौं नीजि गाडीहरु समेत जलाईए। महिनौं चलेको विरोध प्रदर्शन र दंगाले अमेरिकाभर ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन नै चल्यो। सामाजिक संजाल र संचार माध्यमहरुमा पुलिसद्वारा भएका थुप्रै गैरन्यायिक हत्याका घटनाहरु एकपछि अर्को सार्वजनिक हुन थाले। विभिन्न शहरका प्रहरी नेतृत्व र सिटीका मेयरहरुलाई पुलिसको अत्यधिक बल प्रयोग र निहत्थाहरु माथि गोली प्रहारका घटना रोक्न दबाव बढ्यो। फलस्वरुप धेरै शहरका पुलिसहरुलाई ड्यूटीका बेला ‘बडिक्याम’प्रयोग गर्न बाध्य तुल्यायो।
२०१५ यता मात्र प्रहरीको गोलीबाट मर्नेको संख्या ३,७०० नाघेको छ। मारिनेहरुमा दुईतिहाई भन्दा बढी सर्वसाधारण वा कुनै हतियार नबोकेकाहरु हुने गरेको तथ्याँकले पनि पुलिसबाट गैरन्यायिक हत्या पनि भइरहेको प्रष्ट छ। मारिनेहरुमा अधिकाँश अश्वेत हुनु र मार्ने पुलिस अधिकारीहरु धेरैजसो श्वेत जातीका हुनुले पनि अमेरिकामा जातीय विभेदको आवाज फेरि उठ्न थालेको हो कि भन्ने आशंका बढाएको छ।
कानूनी शासनको अधिक प्रत्याभूति भएको देशमा पनि २००५ यता जम्मा १३ जना पुलिस अधिकारीहरुलाई मात्र गैरन्यायिक हत्याका लागि दोषी बनाइएको तथ्याँक छ। अमेरिकामा निकै हलचल मच्चाएको २०१४ को मिजौरी घटनामा संलग्न समेत कुनै पुलिस अधिकारीलाई गैरन्यायिक हत्याका लागि दोषि बनाइएन भने २०१५ मा ५४ जना अधिकारीलाई मुद्दा चलाइए पनि ११ जनालाई मात्र दोषी ठानियो। देशभर ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको शुरुवातको कारक मिजौरीको फर्गुसन गोलीकाण्डका प्रहरी अधिकारी ड्यारेन विल्सन हुन् वा न्युयोर्कमा एक अश्वेत इरिक गार्नरलाई घाँटी अँठ्याएर मार्ने प्रहरी अधिकारी ड्यानियल प्यान्टालियो कसैलाई पनि ’क्रिमिनल चार्ज’ लगाइएको छैन। गार्नरको मृ्त्यु भएको चारबर्षपछि बल्ल न्युयोर्क पुलिस डिपारेटमण्टले घटनामा संलग्न पुलिस अधिकारीलाई अनुशासनको कार्बाही चलाएको छ।
बन्दुककोशिकारप्रहरीहरुपनिहुन्छन्
प्रहरीहरुद्वारा सर्वसाधरण मात्र मारिने होइनन्, कैयन पुलिस अधिकारीहरु समेत ड्यूटी कै दौरान बन्दुकको गोलीले मारिने गरेका छन्। नेशनल ल इन्फोर्समेण्ट अफिसर्स मेमोरियल फण्डका अनुसार गएको दशबर्षमा औसत १५१ जना पुलिस अधिकारीहरुले बर्षेनी कर्तब्य पालानाका शिलसिलामा ज्यान गुमाएका छन् भने सन् २०१५ मा १२३ जना, २०१६ र २०१७ दुबै बर्षमा १३५/१३५ पुलिस अधिकारीहरुको कामका दौरान हतियारधारीको आक्रमण वा दुर्घटनाका कारण मृत्यु भएको तथ्याँक छ। २०१८ को सात महिनामा मात्र ९८ जना पुलिस अधिकारीहरुले ज्यान गुमाएको तथ्याँक अफिसियल डाउन मेमोरियल पेजमा उल्लेखित छ। न्यूजर्सी डेटाका अनुसार ड्यूटी कै क्रममा गत पाँचबर्षमा सबभन्दा धेरै पुलिस मारिने अमेरिकी राज्यमा टेक्सस अग्रपंक्तिमा रहेको छ। जहाँ पाचबर्षमा दुर्घटना र हतियारको प्रयोगबाट ११५ जना प्रहरी अधिकारीहरु मारिएका छन् भने क्यालिफोर्नियामा ८५ जना, जर्जियामा ५२, फ्लोरिडामा ५१ र न्युयोर्कमा ४२ जना प्रहरी अधिकारीहरुले ज्यान गुमाएका छन्। पाँच बर्षमा एकजना पनि प्रहरी अधिकारीहरुले आपराधिक गतिविधिको शिकार हुनु नपरेको अमेरिकी राज्यहरुमा हवाई, कनेक्टिकट र मेइन् छन्। उपरोक्त राज्यहरुमा अन्य अपराधको दर पनि अलि कम नै रहेको पाइएको छ। एफबिआईको रिपोर्ट अनुसार मेइन् त कम अपराध हुने अमेरिकी राज्यमा एक नम्बरमा नै पर्दछ। अमेरिका भर करीब नौ लाखको संख्यामा पुलिसकर्मीहरु रहेको अनुमान छ भने वर्षेनी डेढसयको हाराहारीमा ड्यूटीको क्रममा मारिने पुलिसकर्मीहरुको संख्याले देशैभर उनीहरुको सुरक्षा खतरा बढाईदिएको छ। सुरक्षाकर्मीहरु उपर बढेको खतरासंगसंगै उनीहरुले प्रयोग गर्ने अधिक बल र गोली प्रहारको दर पनि बढिरहेको देखिन्छ।
कतिपय बेला सामाजिक द्वन्द वा घृणाको शिकार भएर पनि प्रहरी अधिकारीहरु मारिने गरेका छन्। आधुनिक हतियार, प्रविधिले सुसज्जित भएर पनि बर्षेनी सयौंको संख्यामा पुलिसहरु मारिनुले उनीहरुको सुरक्षा सतर्कता बढाइदिएको र कतिपय घटना उनीहरुले संभावित सुरक्षा खतराको अति आँकलन गर्नाले पनि भएका छन्। आफूलाई अलिकति पनि खतरा होला कि भन्ने लाग्नासाथ गोली बर्साईहाल्ने पुलिस मनोबृ्त्तिले निहत्था सर्वसाधरण मात्र मारिने होइन कि त्यसैको बदलामा कहिले कहीं पुलिस अधिकारीहरु पनि मारिएका छन्। २०१४ मा भएको फर्गुसन घटना पछि भड्किएको रंगभेदी घृणाको शिकार जुलाई ७, २०१६ मा डालास, टेक्ससका प्रहरी अधिकारीहरु समेत भए। एक अश्वेले स्नाइपर राइफलको प्रयोग गरेर पाँचजना प्रहरी अधिकारीलाई मारेको घटनाले पनि अमेरिकाभर पुलिस अधिकारीहरुको सुरक्षा चासो बढाएको थियो।
बन्दुकअधिकार र ‘मासकिलिंग’काघटना
अमेरिकी राजनीतिमा ‘सेकेण्ड एमेण्डमेण्ट’ निकै चर्चामा रहने गरेको छ। सन् १७९१, डिसेम्वर १५ मा भएको अमेरिकी संविधानको दोश्रो संशोधनबाट अमेरिकीहरुले आफ्नो सुरक्षाका लागि बन्दुक (फाएर-आर्म्स) राख्न पाउने भएका हुन्। संविधानको सो संशोधनलाई बोलीचालीको भाषामा ‘सेकेण्ड एमेण्डमेण्ट’ भन्ने गरिएको छ। अमेरिकी राजनीतिमा उदारवादी धारको नेतृत्व गर्ने डेमोक्रेटहरु नियन्त्रित बन्दुक अधिकारको पक्षमा रहने गरेका छन् भने अनुदारवादी शक्तिको पक्षमा रहेका रिपव्लिकनहरु बन्दुकको अधिकारमा कुनै सम्झौता गर्न कहिल्यै सहमत हुने गरेका छैनन्। राष्ट्रपति बाराक ओवामाले आफ्नो आठ बर्षे कार्यकालमा बन्दुक नियन्त्रणमा गरेको प्रयासहरु रिपव्लिकनहरुकै असहयोगले असफल भएको थियो। अमेरिकामा बन्दुक राख्ने अधिकार संगसंगै बन्दुकको प्रयोगबाट हुने हत्या-हिंसा पनि निरन्तर बढ्दो छ।
यो बर्ष अहिलेसम्म गत आइतबार फ्लोरिडामा भएको सहित पाँच गोलीकाण्डका घटनामा मात्र ३६ जनाको ज्यान गएको छ। यो बर्ष पार्कल्याण्ड फ्लोरिडास्थित स्टोनम्यान डग्लस हाइस्कुलमा भएको गोलीकाण्डमा त्यही स्कुलका पूर्व विद्यार्थी निकोलस क्रुजले चलाएको गोलीबाट १७ जना विद्यार्थी तथा शिक्षकहरुले ज्यान गुमाए भने टेक्ससको स्यान्टा-फे स्थित ‘स्यान्टा फे हाइस्कुल’मा एक विद्यार्थीले गराएको गोलीकाण्डमा ८ जनाको ज्यान गएको थियो। यसैगरी यसै बर्ष टेनेसीको वाफललहाउस रेष्टुरेण्ट र मेरिल्याण्डको एनापोलिसस्थित क्यापिटल न्यूजपेपरको कार्यालयमा भएको गोलीकाण्डमा क्रमश चार र पाँचजनाको ज्यान गएको थियो। यो बर्ष गत आइतबार मात्र पनि ज्याक्सनभिल फ्लोरिडामा म्याडेन भिडियो गेम टुर्नामेण्टका क्रममा सहभागी हुन मेरिल्याण्डबाट आएका भिडियो गेमर डेभिड केटले आफ्नो प्रतिस्पर्धी भिडियो गेमरहरुलाई लक्षित गरेर हानेको गोलीबाट दुईजनाको मृत्यु भयो भने दशजना घाइते भएका छन्। आक्रमणकारीले पछि आफैंलाई गोली हानेका थिए।
आधुनिक अमेरिकी इतिहास कै सबभन्दा भयानक गोलीकाण्ड अक्टूबर १, २०१७ मा लस-भेगसमा भएको थियो। ६४ बर्षीय श्वेत हत्यारा स्टेफेन प्याडकले आफैं बसेको एक बहुतल्ले होटलको ३२ औं तलाबाट सोही होटलको छेउ मै भएको कन्ट्री म्यूजिक कन्सर्टमा जम्मा भएका २० औं हजार दर्शकहरुको भिडमा अन्धाधुन्ध गोली हान्दा ५९ जनाको मृत्यु भयो भने ५०० जना भन्दा बढी घाइते भए। यसैगरी नोभेम्वर ५, २०१७ मा टेक्ससको सुदल्याण्ड स्प्रिंगको चर्चमा प्रार्थनाका बेला अर्को नरसंहारकारी घटना भयो जहाँ डेभिन प्याट्रिक केली नामका हत्याराको राइफलबाट निस्केको गोलीले २६ जनाको ज्यान लियो।
केही सन्की र आपराधिक मनोबृ्त्ती भएकाहरुको हातमा आमहत्याका लागि सहज हुने खालका बन्दुक हुनु आम मानिसहरुका हकमा जहिल्यै जोखिमको विषय हुन सक्दो रहेछ। ‘फायर-आर्म्समा’ सहज पहुँचका कारण सन् २०१६ पनि कम कहाली लाग्दो भएन ओर्ल्याण्डो, फ्लोरिडाका बासिन्दाका लागि। जुन १२ को रात समलिंगी पुरुषहरुका लागि प्रख्यात नाइटक्लब ‘पल्स’मा रमाइरहेकाहरुलाई अकस्मात ज्यान जाला वा ज्यान बचाउन भागदौड गर्नुपर्ला भन्ने कल्पनासम्म पनि थिएन होला। तर भैदियो त्यस्तै, ओमार मिर सिद्दीक़ी मातिन नामका आतंकवादीको बन्दुकको गोलीले सप्ताहन्तमा रमाइरहेका ४९ जनाले ज्यान गुमाउन परेको थियो भने ५३ जना घाइते भए।
अमेरिकी इतिहासमा सबभन्दा पीडादायी घटना कनेक्टिकट राज्यको स्याण्डी हुक इलिमेण्ट्री स्कुलमा भएको घटनालाई लिइन्छ। डिसेम्वर १४, २०१२ का दिन भएको सो घटनामा २० बर्षीय हत्यारा एडम लान्जाले आफ्नी आमा सहित २६ जना साना बालबालिकाहरुको निर्मम हत्या गरेको थियो। सो घटनाबाट अत्यन्त भावुक राष्ट्रपति ओवामाले बन्दुक नियन्त्रणका लागि कार्यकारी आदेशका माध्यमबाट धेरै प्रयासहरु गरे तर उनका कैयन प्रयासहरु अमेरिकी संसदमा समेत पहुँच बनाउन सफल नेशनल राइफ़ल एसोशिएशन (एनआरए) का हर्ताकर्ताहरुले सफल हुनै दिएनन्। स्याण्डी हुकको दर्दनाक नरसंहार पछि घातक बन्दुक नियन्त्रणमा केही प्रयास भएको भए फ्लोरिडा, लस भेगस वा सुदरल्याण्ड नरसंहार नहुने थिए कि?
अमेरिकामा ठूलो संख्यामा मान्छे मर्नेगरी भएका गोलीकाण्डमा एप्रिल १६, २००७ मा ब्ल्याकबर्ग्सस्थित भर्जिनिया टेक युनिभर्सिटीमा भएको घटना पनि पर्दछ। त्यहीं पढ्ने विद्यार्थी सेंग हुइ चोले चलाएको गोलीबाट ३२ जनाको ज्यान गएको थियो। गोलीकाण्डमा २७ जना विद्यार्थी र ५ जना फ्याकल्टी मेम्वरहरु मारिएका थिए। त्यस अतिरिक्त हालैका बर्षहरुमा भएका ठूला नरसंहारका घटनाहरुमा डिसेम्वर २, २०१५ मा सानबर्नाडिनो, क्यालिफोरेनियामा १४ जनाको ज्यान जानेगरि भएको गोलीकाण्ड, मे २०१५ मा वेको, टेक्ससमा बिरोधी मोटर साइकल ग्यांगका बीच भएको गोली हानाहानमा ९ जना ग्यांग मेम्वर मारिएको घटना अलि चर्चामा रहे। अमेरिकामा सन् २००० यता भएका तीन दर्जन जति ठूला गोलीकाण्डहरु प्राय स्कुल, कलेज, चर्च/मन्दिर, फेस्टिवल वा कन्सर्ट, मुभि थिएटर, रेष्टुरेण्ट, पब्स, नाइटक्लब, क्याफ्टेरिया,एपार्टमेण्ट र सार्वजनिकस्थल लगाएतका ठाउँहरु मुख्य रहेका छन्। सन् २००९ मा फोर्टहुड, टेक्ससमामा मेजर नदाल मलिक हुसैनले ब्यारेक भित्रै गोली चलाएर १३ जनाको ज्यान लिएको घटनाले पनि अमेरिकामा ठूलै कभरेज पाएको थियो। पछि घटनामा संलग्न मेजर हुसैनलाई २०१३ मा मृत्युदण्डको सजायँ सुनाएको थियो।
बन्दुकप्रयोगबाटहुनेहिंसा
संसारभर बन्दुक प्रयोगबाट करीब दुईलाख ५० हजार मान्छेहरुको ज्यान जाने गरेकोमा त्यसको आधा हिस्सा ब्राजिल कोलम्बिया, ग्वाटेमाला, मेक्सिको, र भेनेजुयला र संयुक्त राज्य अमेरिकाको भागमा पर्दछ। अमेरिका एक्लै संसारमा सबभन्दा धेरै बन्दुकको प्रयोगबाट मान्छे मारिने देशमा गनिन्छ। यसका दक्षिणी छिमेकी मुलुकहरु पनि लागुऔषध तस्करी र बन्दुकको प्रयोगबाट हुने हिंसाका लागि प्रख्यात नै छन्। अमेरिकामा मात्र बर्षेनी १५ हजार भन्दा बढी ब्यक्ति बन्दुक लगाएतका घातक हतियारको प्रयोगबाट मृत्यु हुने गरेको तथ्याँक छ। सिएनएन, दि न्यूयोर्क टाइम्स, दि वाशिंगटन पोष्ट, दि गार्डियन लगाएतका समाचारपत्रहरुले अमेरिकामा पुलिसको गोलीबाट हुने नागरिक हत्या लगाएत आम नरसंहारकारी घटनाहरुका फेहरिस्त राख्दै आएका छन्। रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्र ( US Center for Disease Control and Prevention) का अनुसार सन् १९६८ यता मात्र अमेरिकामा १५ लाख मान्छेहरुको ज्यान बन्दुकको कारण गएको तथ्याँक छ। यो संख्या अमेरिकी स्वतन्त्रता संग्राम देखि हाल जारी आतंकबाद बिरुद्दको लडाईंमा मारिने अमेरिकी सेनाको संख्या भन्दा पनि करीब तीन लाख बढी हो।
संविधानको दोश्रो संशोधनले दिएको बन्दुक राख्न पाउने अधिकारले कैयन व्यक्तिहरुको ज्यान जोगिएको वा धनसम्पति लुटिनबाट जोगिएको भएपनि बन्दुक हिंसामा आपराधिक मनोवृत्ति भएकाहरुले धेरैजसो (३५%) परिवारका सदस्य वा साथीभाईको बन्दुक प्रयोग गर्ने पाइएको छ। यसैगरी ड्रग डिलरहरु (१५%), रिटेल स्टोर (१५%), कालो बजार (९%), फ्लि मार्केट तथा ‘गन शो’हरुबाट किनिएका बन्दुकको पनि प्रयोग भएको पाइन्छ। यसका अतिरिक्त करीब १० प्रतिशत जति हत्यामा प्रयोग भएका बन्दुक चोरी गरिएका हुने गरेको तथ्याँक पाइन्छ।
तसर्थ, बन्दुकको सहज पहुँचले ज्यान बचाउने मात्र होइन, आपराधिक मनोवृत्ति भएकाहरुको हातमा पुग्यो भने जघन्य अपराध गर्ने साधन पनि बनिरहेको छ। ठूला र घातक फायर आर्म्सहरु व्यक्तिगत सुरक्षाका लागि आवश्यक हुँदैनन्। यस्ता घातक हतियारको नियन्त्रण नहुने हो भने हिंस्रक चेतना भएका जो कोहीले फेरी लस भेगस नरसंहार वा ओर्ल्याण्डो गोलीकाण्ड वा स्याण्डीहुड एलिमेन्ट्री स्कुलको जस्तो उपद्रो मच्चाउन सक्ने संभावना जहिल्यै बढिरहन्छ। सरकारी नियन्त्रण र निगरानीमा भएका सुरक्षाकर्मीहरुबाट त कतिपय समयमा अनावश्यक बल प्रयोग भएर निहत्था जनताले ज्यान गुमाउनु पर्ने अवस्थामा ठूला र घातक फायर आर्म्स समेत व्यक्तिको हातमा हुनु भनेको सार्वजनिक सुरक्षामा ठूलै खतरा हो। अमेरिकी राजनीतिको उपल्लो स्तरमा बन्दुक हिंसाका विषयमा हुने छलफल र नियन्त्रणका उपायहरुको फितलो कार्यान्वयनले भने बन्दुक बिरोधी ठूलो जनसमुदायको आवाज कम सुनिए झैं लाग्दैछ अमेरिकामा। बन्दुक हिंसा न्यनीकरणमा सम्वन्धित पक्षको ध्यान जाओस्, बिनाकारण कसैले पनि बन्दुकको गोली खानु नपरोस्।
प्रतिक्रिया लेख्नुहोस्:-