अमेरिका ११ सेक्टेम्वर
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई एक महिना लामो भ्रमणमा अमेरिका उडान भरेको समाचार सार्वजनिक हुनसाथ सामाजिक सञ्जालमा उनलाई स्वागत गर्न हुने वा नहुने भन्ने टिकाटिपणी शुरु भएको छ । अमेरिकामा कतिपयले भट्टराईलाई स्वागत गर्न नमिल्ने धारणा राखेका छन् । केहीले द्वन्दकालीन परिवेशका घटनालाई कोट्याउन नहुने मत पनि जाहेर गरेको भेटिन्छ । बाबुरामकै डिजाइनमा भएको सशस्त्र युद्धमा नेपाल बस्न नसकी अमेरिका आएका ३० हजार भन्दा बढी नेपालीले उनलाई कसरी स्वागत गर्न मिल्छ भन्ने प्रश्न पनि गरिरहेका छन् । सामाजिक सञ्जालमा शुरु भएको टिकाटिप्पणीले भट्टराईको अमेरिका भ्रमण सुखद रहनेमा शङ्का उब्जिएको छ ।
पत्रकार तथा लेखक कृष्णराज खनालले आफ्नो फेसबुक वालमा तथाकथित जनयुद्धमा मारिएका १७ हजार मानिसको मृत्युको कारक बाबुराम हुन् भन्दै कडा टिप्पणी गरेका छन् । बाबुराम भट्टराईको व्यवहार स्वभाव प्रति कडा टिप्पणी गरिएको हरि अधिकारीको लेखलाई समेत खनालले आफ्नो फेसबुक वालमा राखेका छन् ।
”यिनको हृदयमा मानवताप्रति कुनै सम्मानको भाव छैन । यिनको नजरमा मान्छेको ज्यानको कुनै मूल्य नभएकाले गर्दा नै हो यिनी तथाकथित जनसरकारको प्रमुख हुँदा यिनको पार्टीको भन्दा फरक मत राख्ने सयौँ निर्दोष मानिसहरूको सफाय गरिएको थियो । आफ्नो दुस्साहस राजनीतिक अभियानको वलिवेदीमा यिनको पार्टीले १७ हजार भन्दा बढी मानिसहरूको हत्या मात्र गरेन । हजारौँलाई घाइते र घरवारविहिन बनाएर अलपत्र पारिदियो ।”
हरि अधिकारीको लेखको यो हरफमा उल्लेख भएजस्ता माअयोवादी युद्धको चपेटामा परेर घाइते, घरवारविहिन र अलपत्र भएका मध्ये ३० हजार भन्दा बढी नेपालीले अमेरिका आएर नयाँ जीवन सुरु गरेका छन् । उनीहरूसँगको अन्तरक्रिया बाबुरामका लागि सहज नहुने सामाजिक सञ्जालमा प्रतिक्रिया भेटिन्छ ।
भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एसियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एसियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भट्टराईले न्यु योर्क, डालास, लस एन्जलस, सानफ्रानसिस्को लगायतका प्रमुख सहरहरूमा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।डा भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गर्ने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-