काठमाडौं । । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल सन् २०२३–०२५ का लागि महेश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान उपाध्यक्ष हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले आफ्नो पाँच बुँदे प्रतिबद्धता अघि सारेका छन् ।
सो अवसरमा श्रेष्ठले विश्वभरका गैरआवासीय नेपाली समुदायसँगको घनीभूत छलफल, सुझाव र प्रेरणापछि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ बनाउने प्रण गर्दै आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहने बताए । एनआरएनएको आईसीसी सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रेष्ठले संघको एमआईएस सिस्टमलाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन फेस भेरिफिकेसनलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।
आगामी कार्यकालमा अध्यक्षका रूपमा आफूले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्य योजना प्रस्तुत गरेको उनको भनाइ छ । उक्त नीतिगत प्राथमिकताको उद्देश्य हासिल गर्न ठोस कार्य योजना पनि श्रेष्ठले अघि सारेका छन् । घोषणा कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नरेन्द्र भाट, महासचिव केशव पौडेल, प्रवक्ता सोम सापकोटा, एनसीसी अमेरिकाका सभापति बुद्धिसागर सुवेदी, युरोप संयोजक चिन्तामणि सापकोटा लगायतकाहरुले उनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-