स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
सेप्टेम्वर २१
गैर आवासीय नेपाली संघ, क्यालिफोर्निया च्याप्टरले नेपालीहरुको बाक्लो उपस्थिति रहेको क्यालिफोर्निया राज्यका कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री प्रचण्डसंग माग गरेको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले एक अनुरोध पत्र बुझाउदै यथाशक्य शीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको हो ।
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्धारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले न्युयोर्क पुगेर बुधवार प्रधानममन्त्रीलाई बुझाएका थिए ।
प्रधानमन्त्रीलाई अनुरोधपत्र बुझाएका ढुंगानाले प्रधानमन्त्री एनआनरएनहरुको मागमा सकारात्मक भएको बताए । “प्रधानमन्त्रीले क्याबिनेटमा प्रस्ताव राख्छु भन्नुभएको छ”, आशा जागेको छ- ढुंगानाले भने, “परराष्टमन्त्रीले पनि जिम्मेवार निकायसंग परामर्श गरेर अगाडी बढ्ने भन्नुभएको छ” ।
प्रधानमन्त्रीलाई बुझाइएको अनुरोध पत्रमा क्यालिफोर्निया राज्यमा करिव एक लाख नेपालीहरुको बसोवास भएको र अत्यावश्यक कामको लागि नेपालीहरुलाई कठिनाई भएको स्मरण गराउदै कन्सुलर कार्यालय शीघ्र स्थापनाको माग गरिएको छ । नेपालीहरुले आफ्नो आवश्यक कागजातको लागि निकै कष्ट र ब्ययभार बेहोर्नुपरेका अवगत गराउदै पत्रमा भनिएको छ-“हालका प्रधानमन्त्रीकै पहलमा कन्सुलर कार्यालयको स्थापना हुनेछ भन्ने विश्वास लिएका छौ” ।
केही समय अघि एनआएनए अमेरिकाको कार्यक्रममा सहभागी हुन शिकागो आएका कानुनमन्त्री धनराज गुरुंग समक्ष पनि क्यालिफोर्निया विभिन्न्न संस्थाको नेतुत्वमा रहेका अगुवाहरुले क्यालिफोर्निया राज्यका कन्सुलर कार्यालय स्थापना गर्न पत्र बुझाएका थिए ।
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले सबै संध संस्थाहरुसंग हातेमालो गरि कन्सुलर कार्यालय स्थापनाको लागि पहल जारी राख्ने दूरवीनलाई बताए ।
विगत लामो समयदेखि क्यालिफोर्निया कन्सुलर कार्यालय स्थापनाको लागि यहाँका विभिन्न सामाजिक संघ संस्थाहरुले आवाज उठाउदै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-