अमेरिका ।
गैर आवासीय नेपाली सङ्घमा स्थापना काल देखि कायम रहेको रसियन ब्लक र कम्युनिस्टको सिन्डिकेट भत्काउन यस पटक नेपाली काँग्रेसले शक्तिशाली समिति गठन गरेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा डाक्टर प्रकाश सरण महत, डाक्टर मिनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे,अर्जुन जोशी, नविन्द्र राज जोशी, विश्व प्रकाश शर्मा, र गगन थापा गरी नौ जना प्रभावशाली नेताहरू रहेका छन् ।
लेख्दा र बोल्दा देश बाहिर बस्ने नेपालीहरूले राजनीति गर्नु हुँदैन भन्ने तर व्यवहारमा नेकपा पार्टीको योजना र निर्देशनमा मात्र चल्न सक्ने गरी कज्याएर राखेको एनआरएनएलाई सबैको साझा संस्था बनाउन काँग्रेसले बाध्य भएर कदम चाल्नु परेको एक जना केन्द्रीय सदस्यले बताए ।
तीनतिर फर्किएको काँग्रेस नेतृत्व एनआरएनएको विषयमा भने एक ढिक्का भएको छ । नेपाली जन सम्पर्क समितिको कोपनहेगनमा भएको विश्व प्रशिक्षण भेलामा उपाध्यक्ष बिमलेन्द्र निधीको उपस्थितिमा भएको प्रारम्भिक छलफलले अहिले आएर ठोस रूप लिएको हो । काँग्रेस नेतृ सुजता कोइराला एनआरएनएको विषयमा पहिला नै प्रस्ट छन् । जी पी कोइराला फाउण्डेशन मार्फत एनआरएनएको निर्वाचनमा नेपाली काङ्ग्रेससँग निकट रहेकालाई सहयोग गर्न कोइरालाले अपिल समेत गरेकी छन् ।
समिति गठन गरिनुका ५ कारण
केही अपवाद बाहेक रसियन मूलका व्यापारी र नेकपाका प्रभावशाली केही नेताहरूको दबदबामा मात्र एनआरएनए चलिरहेको थाहा पाएर पनि नेपाली काँग्रेसले त्यसलाई चुनौती दिएको थिएन । एनआरएनए राष्ट्रिय समन्वय समितिको निर्वाचनमा कतिपय देशमा जनसम्पर्क समिति भिडिरहेको भए पनि केन्द्रमा भने नेपाली काँग्रेस सधैँ मौन बस्तै आएको थियो । कम्युनिष्टहरुले सजिलै आफ्नो अनुकूलमा चलाउन सक्ने नाम मात्रका केही काँग्रेस निकट व्यक्ति र व्यापारीहरूलाई च्यापेर देखावटी सन्तुलनका नाममा अगाडि बढिरहेको छ भन्ने गुनासोको समितिले अध्ययन गर्ने छ ।
गैर राजनीतिक संस्था भए पनि एनआरएनएमा कम्युनिस्टको हालीमुहाली र दबदबालाई बल पुर्याउने स्वार्थगत सम्बन्ध र त्यसका अन्तरबस्तुमा समितिले विश्लेषण गर्ने छ ।
आवरणमा नेपाली काङ्ग्रेससँग नजिक देखिने तर व्यवहारमा कम्युनिस्ट पक्षधरलाई सहयोग पुर्याउनेहरूको सूचि तयार गर्ने छ ।
नेपाली जन सम्पर्क समिति भित्रको अन्तरकलहलाई एनआरएनएको निर्वाचनमा कम्युनिस्ट पक्षधरले उपयोग गर्दै काँग्रेस निकट व्यक्तिहरूलाई हराएको वा निरुत्साहित बनाइएका घटना पनि समितिको दायरामा पर्ने भएका छन् ।
गैर आवासीय नेपाली सङ्घको आसन्न निर्वाचनमा केन्द्रीय नेतृत्वमा अगाडि बढिरहेका पार्टी निकट व्यक्तिहरूलाई कसरी सहयोग पुर्याउने भन्ने विषयमा पनि समितिले आन्तरिक रणनीति बनाउने छ ।
यस पटक गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् एनसीसीको निर्वाचनमा अधिकांश देशमा नेपाली काँग्रेस निकट उम्मेदवारहरू विजयी भएका छन् । अमेरिका, अस्ट्रेलिया, चिन लगायत दुई तिहाइ राज्य समितिहरूमा कुनै समय नेपाली काँग्रेसको भातृ, भगिनी र जनसम्पर्क समितिमा बसेर काम गरिसकेका उम्मेदवारहरू विजयी भएका छन् । काँग्रेसले आन्तरिक रूपमा गठन गरेको खड्का नेतृत्वको समितिले एनआरएनएको विषयमा सार्वजनिक आह्वान नगरे पनि आन्तरिक सर्कुलर र मौखिक निर्देशन भने दिने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-