काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयतालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।
शनिबार नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरूको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरूलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन ।
अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसङ्गतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अङ्गहरू, राज्यका सबै अङ्गहरू बेथितिपूर्ण ढङ्गले अत्यन्त अराजक ढङ्गले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिङ्गो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ । त्यसै विरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ । हामी अत्यन्त गम्भीर अवस्थामा छौँ ।’
प्रतिक्रिया लेख्नुहोस्:-