जापान । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को एघारौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुँदैछ । ६ जना उपाध्यक्षका लागि हुने निर्वाचनमा २५ जना भन्दा बढिले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणाको लहरमा उभिएका मध्ये जापानका रोविन प्रसाद शेरचन पनि एक हुन् । उनले आइसीसीको आगामी २०२३ – २०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । हालको कार्यसमितिका उनी एनआरएनए आईसीसी सदस्य हुन।
लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका उनी सामाजिक, परोपकारी क्षेत्रमा पनि क्रियाशील रहेका छन् । विश्वभरि रहेका नेपालीमाझ परिचित उनी एक बलियो उम्मेदवार मानिन्छन् ।
उनी भन्छन ” एनआरएनए स्थापना भएको करिब २० वर्ष भयो । मैले करिब ३५ वर्ष जापानमा बिताएको छु, एनआरएनए स्थापना हुनु पूर्व पनि विभिन्न सामाजिक कामहरू गर्दै आएको थिएँ । ती सबै संस्थागत थिएनन् तर पनि एक किसिमको आत्मसन्तुष्टि प्राप्त भइरहेको थियो ।”
परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रिय स्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनले बताए ।
उनी भन्छन् “यो विश्वभर फैलिएको नेपालीहरूको गैर राजनीतिक संस्था हो । यहाँ जोडिएर संस्थागत रुपमा नेपाल र नेपालीका लागि निस्वार्थ रूपमा व्यापक काम गर्न सकिन्छ। त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाइहरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
एनआरएनए एक विशुद्ध गैर राजनीतिक संस्था भए पनि यसभित्र राजनीतिक हस्तक्षेप र नेतृत्वमा देखिएको विवादका कारण सङ्घको १० औँ महाधिवेशन समयमा हुन सकेको थिएन । नेतृत्वमा उत्पन्न विवादका कारण सहमतिका नाममा पालै पालो गरेर तीनै जना अध्यक्ष रहने कार्यसमिति गठन भयो । यस्ता विवादका कारण संस्थाको गिर्दो छवि र घट्दो विश्वासलाई माथि उठाउन आफूले काम गर्ने शेरचनको भनाई रहेको छ ।
उपाध्यक्षका प्रत्याशी रोविन शेरचनका विचारमा गुट उपगुट र स्वार्थ समूहबाट बाहिर निस्किएर संस्था स्थापनको पवित्र उद्देश्य र लक्ष हासिल गर्न निस्वार्थ काम गर्नु आवश्यक छ ।







प्रतिक्रिया लेख्नुहोस्:-