ह्युस्टन टेक्सस, अक्टुवर १६/ नेपाली समुदायले प्रवासमा दशैं-तिहारलाई सामुहिक उत्सवका रुपमा मनाउने क्रम बिस्तारै बढिरहेको छ। नेपालीहरुको बाक्लो बस्ती भएका स्थानहरुमा सांस्कृतिक कार्यक्रम सहितको दशैं भोज एवं शुभकामना आदान-प्रदान गर्ने परम्परा नेपाली समुदायले शुरु गरिसकेको छ। यसैबीच साइप्रस एवं नर्थ ह्युस्टन क्षेत्रका नेपालीहरुले यही शनिवार, अक्टोबर १३ मा रात्री भोज सहितको दशैं तिहार शुभकामना कार्यक्रम आयोजना गरेका छन्। सिर्जनशील नेपाली समाज, साइप्रस टेक्ससको आयोजनामा साइप्रसस्थित टेम्पुरा रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा करीब तीनसय नेपालीहरुको सहभागिता रहेको आयोजकहरुले बताएका छन्।
सामुहिक दशैं भोजका अतिरिक्त सांस्कृतिक कार्यक्रम, शुभकामना आदान-प्रदानको कार्यक्रम समेत रहेको नेपाली समुदायको जमघटमा स्थानीय कलाकारहरुले गीत तथा नृ्त्यबाट सहभागीहरुलाई मनोरन्जन गराएका थिए। कार्यक्रममा सीनियर र जुनियर समूहमा विभक्त गरेर दुई चरणमा नृत्य प्रतियोगिता समेत गरिएको थियो। यस अतिरिक्त बिबाहित जोडीहरुले नाच प्रस्तुत गरेर दशैं भोजको माहौललाई तताएका थिए। स्थानीय कलाकार बसिल अर्यालको नाट्य समूहको रोचक नाटक प्रस्तुतिले सहभागीहरुलाई गज्जबको मनोरन्जन दिएको बताईन्छ। युवा गजलकार सतिश त्रिपाठीले गरेको गजल बाचनले सबैलाई साहित्यिक मनोरन्जन समेत दिएको थियो।
कार्यक्रमको शुरुमा छोटो औपचारिक शुभकामना मन्तब्यहरु समेत राखिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गंगा शर्माले गरेका थिए। सचिब कृष्ण न्यौपानेद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष गीता आचार्यले सहभागीहरुलाई स्वागत गरेकी थिइन्। संस्थापक अध्यक्ष उमापति भुषाल, नेप्लिज हेरिटेज यूनियनका अध्यक्ष डा.चण्डी भण्डारी, अन्तराष्ट्रिय साहित्य समाज, ह्युस्टनकी साधना लुइँटेल, प्राध्यापक आरसी काफ्ले, विजय झा, सुशीला आचार्य , बिष्णु त्रिपाठी , घनश्याम अर्याल , बालकृष्ण बानिया, मिन विक्रम शाह लगाएतका सामाजिक व्यक्तित्वहरुले दशैं-तिहारको शुभकामना मन्तब्य दिएका थिए।
बाल-बालिकाहरु र नेपालबाट पारिवारिक भेटघाटका लागि आएका आमा-बुवाहरुको उल्लेख्य सहभागिता रहेको सामुहिक दशैं-भोजले विदेशमा भएपनि दशैंको रौनकता देखिएको थियो। शुभकामना संगसंगै जेष्ठ आमाबुवाहरुबाट आशिर्वाद समेत पाएकोमा कतिपय सहभागीहरुले खुसी व्यक्त गरेका थिए।
दशैं शुभकामना कार्यक्रममा समुदायकै ज्येष्ठ सदस्य उमानाथ पाठकलाई दोषल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो। जेष्ठ सदस्यलाई सम्मान गर्दै संस्थापक अध्यक्ष उमापति भुषालले भने-‘नर्थ ह्युस्टन क्षेत्रका नेपालीहरुलाई संगठित गर्दै नेपालीहरुको सुख-दुखमा काम लाग्ने संस्थाको रुपमा सृजनशील नेपाली समाजलाई विकसित गर्दै लगिने छ।’ भुषालको भनाईमा सबैले समर्थन जनाएका थिए। साँझ सात बजेबाट शुरु भएर राती अबेरसम्म चलेको कार्यक्रमको अर्को आकर्षण राफल चिठ्ठा पनि रहेको थियो।








प्रतिक्रिया लेख्नुहोस्:-