समाचार विश्लेषण
काठमाडौं । तोकिएको मितिमा निर्वाचन र विश्वसम्मेलन भएको भए विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुले आगामी दुई वर्ष (२०२१–२०२३)का लागि नयाँ नेतृत्व चुनिसकेका सकेका हुने थिए । विश्व सम्मेलनबाट नयाँ कार्ययोजना तय हुने थियो । मातृभूमिको विकास र समृद्धिका लागि नयाँ खाका कोरिने थियो । असी लाख प्रवासी नेपालीहरुमा नयाँ आशाको रक्तसन्चार हुने थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जिम्मेवारी नयाँ नेतृत्वले सम्हाल्ने थियो ।
तर, अवस्था फरक रह्यो । न विश्व सम्मेलन भयो न निर्वाचन । दुई वर्षअघि निर्वाचित आइसीसी कार्यसमिति विधानको सहारामा ६ महिने आयु लम्ब्याएर बसेको छ । एनसीसीहरुको अधिवेशन भयो । नयाँ नेतृत्व पनि चयन भयो । केही एनसीसीहरुको निर्वाचन प्रक्रिया विवादित बनेपनि अधिकांश एनसीसीहरुमा लोकतान्त्रिक विधिबाटै नयाँ पदाधिकारी चुनिएका छन् । तर, आइसीसीले भने जबरजस्ती आफ्नो आयु आफैं लम्ब्याउँदै छ ।
खासगरी अक्टोबर २० का लागि प्रस्तावित निर्वाचन र २३देखि २५ सम्मका लागि तोकिएको विश्वसम्मेलन अनिश्चित भएको छ । विधान विपरित एकै पटक ६ महिना म्याद बढाएको दावी गरेको आइसीसीले आफ्नो म्याद बढाउनु पर्ने कारण र औचित्य भने स्पष्ट पार्न सकेको छैन । अठार वर्ष लामो एनआरएनएको इतिहासमा पहिलो पटक संस्था नै कुहिरोको काग बनेको छ । कुमार पन्त नेतृत्वको वर्तमान नेतृत्व आफै हराएको छ । हेमराज शर्मा नेतृत्वको सचिवालय एकपछि अर्को अवैध योजनामा लागेको छ । संस्था र सचिवालयको नेतृत्व एकसाथ बरालिएको छ । संस्थापक, संरक्षक र नियामक सबै निकायबाट टाढिएको छ । समग्रमा आम गैर आवासीय नेपालीहरुको नजरबाट गिरेको छ । नेतृत्व गिर्दा संस्थाको गरिमा, मर्यादा र साख पनि गिरेको छ । तर, नेतृत्व ‘बहादुरी प्रदर्शन गरेको भावमा’ बहकिएको छ ।
आइसीसीको नेतृत्वले समयमा निर्वाचन र विश्व सम्मेलन गर्न नसकेको अवस्थामा यसैसाता एनसीसीहरुको विश्व सम्मेलन सम्पन्न भएको छ । एनसीसीहरुको सम्मेलनले आइसीसी नेतृत्वलाई बलियो झापड हानेको छ ।
जुर्मुराएका एनसीसी
संघको संशोधित विधानमा जुलाई महिनालाई एनसीसीहरुको अधिवेशन महिनाको रुपमा उल्लेख गरिएको छ । जुलाई महिनामा सबै एनसीसीहरुको अधिवेशन र निर्वाचन गरिसक्नुपर्ने हुन्छ । सोही अनुसार अधिकांश एनसीसीमा अधिवेशन र निर्वाचन भयो । अमेरिकाले उसको आफ्नो परम्परा अनुसार एक महिना अगावै अधिवेशन र निर्वाचन गर्यो भने केही एनसीसीले जुलाईमा सुरु गरेर अगस्टमा निर्वाचन प्रक्रिया सम्पन्न गरे ।
एनसीसीहरुले आफ्नो नेतृत्व मात्रै चुनेनन्, महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) पनि चयन गरे । विधानले नै तोकेबमोजिम ६५, २५ र १० प्रतिशतको प्रावधान अनुसार नै डेलिगेट्सको सूची एनसीसीहरुले आइसीसीमा पठाए । एनसीसीहरुले यी सबै काम गर्नुको एउटा प्रमुख उद्देश्य थियो, अक्टोबर २३–२५ मा विश्व सम्मेलन गर्नु र त्यसअगावै नयाँ नेतृत्व निर्वाचन गर्नु ।
तर, अक्टोबर २० का लागि प्रस्तावित निर्वाचनको तीन दिनअघि आइसीसीले निर्वाचन स्थगित भएको सूचना जारी गर्यो । निर्वाचन रोकिएपछि विश्व सम्मेलन पनि रोकियो ।
निर्वाचन र विश्व सम्मेलन रोकिएपछि अक्टोबर २४, २०२१ मा एनसीसीहरुको विश्व सम्मेलन गरियो । अमेरिका, बेलायत, अष्ट्रेलिया सहितका केही ठूला एनसीसीहरुको अग्रसरतामा आयोजना गरिएको भर्चुअल विश्व सम्मेलनमा ८० प्रतिशत भन्दा बढी एनसीसीका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रह्यो। त्यही सम्मेलनमा आइसीसीका अध्यक्ष कुमार पन्त अनुपस्थित रहनुले एनसीसीहरु सक्रिय छन् र आइसीसी नेतृत्व निकम्मा छ भन्ने स्पष्ट पारेको छ ।
संरक्षकदेखि आइसीसी पदाधिकारीहरुको सहभागिता
एनसीसीहरुको विश्व सम्मेलनमा अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मा सहभागी नभए पनि आइसीसीका अधिकांश पदाधिकारी, आइसीसी सदस्यहरु, क्षेत्रीय संयोजक तथा सहसंयोजकहरुको उपस्थिति रह्यो । संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन पनि सम्मेलनमा सहभागी भए । सहभागी सबैले एनसीसीहरुको सक्रियताको खुलेरै प्रशंसा मात्रै गरेनन्, आइसीसीलाई ठोस मार्गनिर्देशन दिन पनि सुझाए ।
संस्थाको नेतृत्वकर्ता पन्त र सचिवालयको नेतृत्वकर्ता शर्मा र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका बद्रि केसी भने सम्मेलनलाई नै असफल पार्न प्रयत्नरत रहे । यी तीन मुख्य पदाधिकारीहरुको बुझाइ थियो, सम्मेलन उनीहरुका विरुद्ध थियो । गलत बुझाइसहित यी तीन पदाधिकारी सम्मेलन असफल पार्न, सहभागी हुन नदिन र विधान विपरीत छ भन्ने भ्रम फैलाउन भरमग्दुर प्रयासमा लागे । अध्यक्ष पन्त र महासचिव शर्माले त अधिकांश एनसीसीहरुलाई इमेल नै गरेर सम्मेलनमा सहभागी नहुन र सहभागी भए कारबाही हुने धम्की पनि दिए । सम्मेलनमा भएको सहभागिताले उनीहरुको धम्कीको पनि कुनै तुक देखिएन । पन्त र शर्माको नेतृत्व पूर्ण रुपमा असफल भएको सिद्ध मात्रै भएन कि उनीहरु नेतृत्व र दायित्वबाट समेत च्युत भएको स्पष्टै देखियो ।
नेतृत्वको मिथ्या प्रचारबाजी, सम्मेलनको ठोस जवाफ
आइसीसीको नेतृत्वले एनसीसीहरुको विश्व सम्मेलनलाई विरोधी समूहको भेलाको रुपमा परिभाषित गर्ने असफल प्रयास गर्यो । विभिन्न जालझेल र तिकडम गरेर महाधिवेशन नै स्थगित गरेको आइसीसीको नेतृत्वको सबै प्रयास त्यतिबेला विफल भयो, जतिबेला एनसीसीहरुको विश्वसम्मेलनमा व्यापक सहभागिता देखियो ।
विश्व सम्मेलनको अध्यक्षता गरिरहेका एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले सुरुमै ‘यो सम्मेलन कसैको विरोध र कसैको समर्थनमा नभई संस्था र समग्र पन्जीकृत सदस्यको हितका लागि आयोजना गरिएको हो’ भनेर प्रष्ट पारिदिए, त्यसपछि पन्त–शर्मा–केसी समूहका लागि तर्क गर्ने कुनै ठाउँ नै रहेन ।
एनसीसीहरु आइसीसीका मेरुदण्ड हुन् । एनसीसीहरु नै नभए आइसीसी नै हुँदैन । १८ वर्ष पुरानो संस्थामा रहेकाहरुले यो तथ्यलाई राम्ररी बुझेका छन् । तर, पनि एनसीसीहरुलाई सहयोगी र पिछलग्गु संस्थाको रुपमा व्यवहार गर्न छाडेका छैनन् । आइसीसी नेतृत्वले यस सम्मेलनबाट गतिलो पाठ सिकेको हुनुपर्छ ।
सम्मेलनको सुझाव र संरक्षकहरुको सक्रियता
गैरआवासीय नेपाली संघको लगातार दुई कार्यकाल नेतृत्व गरेका डा शेष घले संघका प्रमुख संरक्षक हुन् । उनले केही दिनअघि एनआरएनए डेको अवसरमा बेलायतमा आयोजित एक कार्यक्रममा भनेका थिए, एनआरएनएको विवाद सुल्झाउन संरक्षक परिषद तयार छ ।
संघका पूर्व अध्यक्षहरु संरक्षक छन् । पूर्वअध्यक्षहरु संरक्षकको भूमिकामा सक्रिय छन् । संस्थाको गरिमा गिर्दै गएकोमा उनीहरु पनि चिन्तित छन् । उनीहरुको चाहना छ, विवाद समाधान गरौं र जतिसक्दो छिटो महाधिवेशन गरौं ।
संरक्षकहरुको चाहनासँग मेल खाने गरी एनसीसीहरुको विश्वसम्मेलनले निर्णय गरेको छ । विवाद समाधानका लागि पहल गर्न सम्मेलनले संरक्षक परिषद्लाई औपचारिक रुपमा नै आग्रह गरेको छ । विश्व सम्मेलनको आग्रह अनुसार नै केही पूर्वअध्यक्ष (संरक्षक) ले चासो व्यक्त गरिसकेका छन् । केही दिन भित्रै सो चासोको परिणाम देखिने अनुमान पनि गरिएको छ ।
आचार्यको पक्षमा अत्यधिक समर्थन
संघका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार कुल आचार्य दशौं महाधिवेशनमा २०२१-२३ का लागि अध्यक्ष पदका उम्मेदवार हुन् । आचार्यले आफ्नो उम्मेदवारी औपचारिक रुपमा नै घोषणा गरिसकेका छन् । लामो समय विभिन्न पदमा बसेर काम गरिसकेका आचार्यलाई अध्यक्षमा निर्वाचित हुन नदिन आइसीसीकै केही पदाधिकारी सबैखाले हतकण्डा अपनाउँदै लागिपरेका छन् । खासगरी अध्यक्ष पन्त, महासचिव शर्मा र उपाध्यक्ष केसीले एनसीसीहरुको विश्व सम्मेलनलाई आचार्य पक्षधरको सम्मेलनका रुपमा भ्रम फैलाउने प्रयास गरे । तर, सम्मेलनमा भएको सहभागिता र सम्मेलनले जारी गरेको घोषणापत्रले उक्त भ्रमलाई राम्ररी चिरेको छ ।
सम्मेलनमा सहभागी भई सफलताको लागि शुभकामना व्यक्त गरेका आचार्यले महाधिवेशन हुन नसक्नुको कारणको चर्चा गरे । आइसीसीको नेतृत्वले विवाद समाधानका लागि पहल नै नगरेको र समय हुँदासम्म विवाद सिर्जना गर्ने काम मात्रै गरेको स्पष्ट पारे । संघको सल्लाहकार समेत रहेका आचार्यले विवाद समाधानका बारेमा नेतृत्वले आफूसँग कुनै सल्लाह नै नगरेको स्पष्ट पारिदिए । विगतको विशेष महाधिवेशनमा उत्पन्न विवाद सुल्झाउन समन्वयकारी भूमिका निर्वाह गरेका आचार्यको भनाइमा अधिकांश एनसीसीले सहमति जनाए ।
नेतृत्वमा रहेका केही व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ र चाहनाका आधारमा संस्थालाई सन्चालन गर्न खोज्दा अहिलेको अवस्था आएको आचार्यको बुझाइमा पनि सहभागीहरुले समर्थन जनाए । अधिकांश सहभागीहरुको जोड थियो, अब संस्थाको नेतृत्व आचार्यले गर्नुपर्छ । आचार्यको समन्वयकारी नेतृत्वबाट मात्रै संस्थाले गति लिनसक्ने धेरैको धारणा रह्यो । वर्तमान नेतृत्व असफल भएको र संस्थालाई गति दिन आचार्यको विकल्प नभएकोमा धेरैले सहमति जनाए ।
विधान विपरीत नियमावली बनाएर एनसीसीहरुमा पठाउने महासचिव शर्मा, विधान विपरीत सदस्यता वितरण गर्ने उपाध्यक्ष केसी, स्मार्ट एनआरएनएका नाममा एमआइएस सिस्टमकै दुरुपयोग गर्ने सचिव गौरी जोशी र यी सबै कुरामा समर्थन जनाउने अध्यक्ष कुमार पन्त पछिल्लो सम्मेलनसँगै प्रतिरक्षात्मक स्थितिमा पुगेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-