अमेरिका । जुडो प्रशिक्षक राजेश कर्माचार्यले अन्तर्राष्ट्रिय जुडो महासंघ आइजेएफद्वारा सन्चालित कोचिङ्ग कोर्ष सकेण्ड लेवल उत्तिर्ण गरेका छन् । आइजेएफको यो लेवलको परिक्षामा सफल हुने कर्माचार्य तेस्रो नेपाली प्रशिक्षक हुन् । यस अघि पृथ्वी आलोक र मोहन बमले यो सफलता पाएका थिए ।
डोमिनिक रिपब्लिकमा अक्टोबर २७ देखि नोभेम्वर ३ सम्म भएको परिक्षामा कर्माचार्यले ९० प्रतिशत अंक सहित सफलता हात पारेका हुन् । यस्तो परिक्षामा राष्ट्रिय जुडो संघको सिफारिसमा भाग लिन पाइन्छ । यस पटकको परिक्षामा १२ देशका ३६ जना सहभागि थिए । सहभागि सबै उत्तिर्ण भए । कर्मचार्यले अमेरिकी जुडो संघको सिफारिसमा भाग लिएका हुन् ।
पछिल्लो पाँच बर्ष देखि कर्मचार्य अमेरिकामा रहदै आएका छन् । कर्मचार्यले १७ बर्ष नेपालमा जुडो प्रशिक्षकको रुपमा विताएका थिए । नेपालमा पटियाला कोर्षमा पनि सबै भन्दा धेरै अंक ल्याएर उत्तिर्ण हुने प्रशिक्षक हुन् । यस पटकको परिक्षाका लागि कर्माचार्यले नेपाल जुडो संघ सँग सिफारिसका लागि अनुरोध गरे पनि संघले नदिएको बताए ।
‘ मैले नेपालबाट कुनै प्रशिक्षकले भाग लिने भए म पनि केही सहयोग गरौला, यदी नेपालबाट कुनै पनि प्रशिक्षकले यो परिक्षामा भाग नलिने हो भने मेरो नाम सिफारिस गरिदिनुस म आफ्नै खर्चले जान्छु भनेर अनुरोध गरेको थिए तर संघका पदाधिकारी मानेनन् ।’ उनले गुनासो गरे ।
उनले पहिला रेफ्रि परिक्षामा पनि यस्तै गरेको बताए । ‘ हुदैन पनि नभन्ने, बैठक बसेर निर्णय गर्छौ भन्ने तर काम नगरिदिने गरियो, एउटा नेपाली जो जहाँ भए पनि यस्ता परिक्षामा सहभागि हुनु भनेको देशकै लागि फाइदा हो तर संघका पदाधिकारीले कुण्ठा पाले, म बाध्य भएर अमेरिकी जुडो संघको सिफारिसमा गए र यो सफलता पाए ।’
आइजेएफले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिदा अब देखि रेफ्रि र प्रशिक्षकलाई अपग्रेट गराउने तयारी गरेको छ । आइजेएफले अब अन्तराष्ट्रिय प्रशिक्षकलाई पनि कम्तिमा लेवल वान कोर्ष अनिवार्य गराउदै छ ।
कर्माचार्यले गत जनवरीमा डोमेनिकमा नै भएको लेवल वान परिक्षा पनि पास गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-