सानफ्रानसिस्को १३ डिसेम्बर
एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा कार्यसमिति भित्र रहेकाले आफ्नो उम्मेदवारी र प्रचार प्रचारका काम एक महिना अगाडिसम्म गर्न नपाउने गरी कोड अफ कन्डक्ट जारी गर्न लागेको छ । गत आइतबार बसेको कार्यसमिति बैठकले चुनावी प्रतिस्पर्धामा संस्थाको जिम्मेवारी बोकेकाहरू उत्रँदा संस्थाको काम, गतिविधि र विस्विसनियतामा आँच आउन सक्ने भन्दै आचार संहिता लागु गर्ने सहमति भएको हो । निर्वाचनको प्रक्रिया सुरु भएपछि निर्वाचन समितिले ‘निर्वाचन आचार संहिता’ लागु गर्ने भए पनि त्यस अगाडि संस्थाका गतिविधि प्रभावित नहोस् भन्नका लागि संस्थाको आचार संहिता लागु गर्न कार्यसमिति एकमत भएको छ । “हामी निर्वाचनमा मात्र केन्द्रित भयौँ भने संस्थाका काम ठप्प हुन्छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्न संस्थालाई दुरुपयोग गर्ने सम्भावना पनि रहन्छ ।” एनआरएनए अमेरिकाका महासचिव बी आर लामाले दूरबिन नेपालसँग कुरा गर्दै भने “संस्थाको काम र मर्यादामा आँच आउन नदिन आचार संहिता जारी गर्न लागेका हौँ ।”
आचार संहिता संस्थाको विधान जस्तो हुबहु पालना गर्नै पर्ने बाध्यकारी हुँदैन । पालना नगर्नेलाई कारबाही गर्न पनि मिल्दैन । संस्थाले जारी गर्ने आचार संहिता त्यसको दायरामा पर्ने व्यक्तिले स्वइच्छाले पालना गर्ने मात्र हो । कार्यसमिति भित्रकै मानिसहरू चुनावी दौडमा होमिएर एनआरएनलाई छिटै चुनावमय बनाउने प्रक्रियामा भने यो नैतिक बन्धनका रूपमा रहने छ । एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले दूरबिन नेपाललाई भने “संस्थागत मर्यादालाई उँचो बनाइ राख्न संस्थाले आचार संहिता बनाउनु राम्रो अभ्यास हो । संस्थाले दिएको जिम्मेवारी पुरा नगरी चुनावको प्रचार प्रचारमा मात्र हिँड्न त सबैलाई नैतिक सङ्कट हुन्छ । यी दुवै मोरल अब्लिगेशन हुन् । हामीले हेक्का राख्नै पर्छ ।”
एनअनरएन अमेरिकाका कतिपय सदस्यहरू लामो समय संस्था र व्यक्ति चुनावमा केन्द्रित हुँदा काम भन्दा बढी हल्ला र बदनाम भएको अनुभव सुनाउँछन् । एनआरएनए अमेरिकाका कार्यसमिति सदस्य डाक्टर अर्जुन बनजाडे भन्छन् “संस्थामा आएपछि कसरी राम्रो काम गर्ने भन्दा पनि अर्को पटकको निर्वाचनमा आफूलाई कसरी अगाडि बढाउने भन्नेमा शुरुबाटै लागेको देखिन्छ । यसले गर्दा संस्थालाई आम सदस्यले चाहेजस्तो संस्था आफ्नै हो भन्ने बनाउन सकिँदैन ।”
कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको भनाइ पनि डाक्टर बनजाडेसँग मिल्दोजुल्दो छ । “चुनाव अगाडि केही समय प्रचार प्रचार गर्न समय खर्च गरौँ भनेर आचार संहिता माथि छलफल भयो त्यो राम्रो हो ।” भट्टराईले थपे “चुनावी दौड भन्दा पनि संस्था र सदस्यको हितमा काम गर्नु प¥यो । अहिले सबैले मेम्वरसिप ड्राइभमा समय दिनु पर्छ । सबै सदस्यलाई एनआरएन हामी सबैको साझा संस्था हो भन्ने बनाउनु पर्छ ।”







प्रतिक्रिया लेख्नुहोस्:-