अमेरिका २८ डिसेम्बर/
अमेरिका आएर विभिन्न क्षेत्रमा विज्ञता र अनुभव हासिल गरेका नेपालीहरू आगामी जनवरी १९ तारिख वासिङटन राज्यको सियाटलमा भेला हुने भएका छन् । विज्ञता र अनुभवको प्रस्तुति साथै नेपाल र नेपालीका हितमा यसलाई उपयोग गर्ने विषयमा भेलामा पेचिलो छलफल हुनेछ । ‘एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स’ नाम दिइएको यो भेलामा करिब २० जना विज्ञहरूको प्रस्तुति रहने छ ।
एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डेका अनुसार एक दिन चल्ने यो कार्यक्रम माइक्रोसफ्टको हेड अफिस भित्रकै कार्यक्रम हलमा हुने छ । कार्यक्रममा विज्ञहरूको प्रस्तुति पछि त्यस माथि अन्तरक्रिया समेत हुने छ ।
कार्यक्रममा डाक्टर तारा सिग्देलले बायो टेक्नोलोजी, डाक्टर नवीन खनालले सूचना प्रविधि, डाक्टर द्रोण रसाइलीले सोसोलोजी, वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले विदेशी भूमिमा नेपाली भाषाको जगेर्ना ई पशुपति पाण्डेले साइन्स, टेक्नोलोजी, इनोभेशन समितिले गरिरहेका काम र भावी योजना, सुवास प्रजापतिले सङ्गीत, सुनिल शाहले योग इन्टरपिनर र डाक्टर अर्जुन बन्जाडेले शिक्षा सम्बन्धमा प्रस्तुति दिने निश्चित भइसकेको छ । अरू विज्ञहरूको प्रस्तुति छिटै प्राप्त हुने पाण्डेले बताए । सियाटल पछि स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा हुने छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्:-