विराटनगर, १८ भदौ / भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज यहाँ शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा राखी सो स्थलबाट अपराह्न ४ बजे रथयात्रा शुरु भएको हो ।
रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछीचोक हुँदै करीब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न हुने कार्यक्रम छ । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराइएने मूल समारोह समितिले जनाएको छ । रथयात्राको मार्गमा पर्ने सडकको दुबै पेटीमा हजारौँ श्रद्धालुका साथै भवनको छत र कौसीबाट रथमाथि फूलका साथै जल अर्पन गरिरहेका देखिन्थे ।
उक्त रथयात्राको अवधिमा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ र कलश यात्राका साथै विभिन्न सांस्कृतिक झल्कने दर्जनौँ झाँकी, नाचलगायत प्रदर्शन गरिएको थियो । रथको दर्शन गर्नका लागि आएका श्रद्धालुलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबद्वारा निःशुल्क रुपमा चिसो पेय पदार्थ वितरण गरिरहेको देखियो । मोरङ, झापा, सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालुले रथयात्राको दर्शन गर्न आएका छन् ।
रथयात्राका क्रममा हुन सक्ने अप्रिय घटनालाई दृष्टिगत गरी स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यस रथयात्राको अवधिभर नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शकको अत्याधिक चाप भएका स्थानमा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।
विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर) यात्राका रुपमा शुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । निकै सजिसजाउ बनाइएको रथ प्यागोड शैलीको रहने र यसको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लट्ठा तान्ने डोरी लगाइएको छ । डोरी तान्न युवायुवतीको तँछाडमछाड गरिरहेको देखियो भने प्रदेश सरकारले आज सुनसरी र मोरङ सार्वजनिक बिदा दिने निर्णय पनि गरेको थियो ।
–––
रे
प्रदेशसभामा तीन विधेयक सर्वसम्मत
हेटौँडा, १८ भदौ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभाबाट तीनवटा विधेयक सर्वसम्मत पारित भएको छ । अघिल्लो बैठकले दफावार छलफलका लागि विधेयक समितिमा पठाएको विधेयक आज बसेको प्रदेशसभाको बैठकले सर्वसम्मत पारित गरेको हो । बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले निर्णयार्थ पारित गरियोस् भनी प्रस्तुत गर्नुभएकोे प्रदेश प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभाले सर्वसम्मत पारित गरेको छ ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा निर्णयार्थ पारित गरियोस् भनी प्रस्तुत गर्नुभएकोे प्रदेश दुग्ध विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई पनि सर्वसम्मत पारित भएको छ ।
बलात्कारको विरोध
प्रदेश नं ३ को प्रदेशसभाको विशेष समयमा बोल्ने क्रममा अधिकांश सांसदले बढ्दै गएको बलात्कार जस्तो जघन्य अपराधको विरोध गरेका छन् । विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले बलात्कारीलाई कडा कारवाही हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सांसद रजनी अमात्य, रीना गुरुङ, कल्पना नेपाली, प्रेमबहादुर तामाङ, रीता माझी, शोभा शाक्य, लालकुमारी पुन, सुरेन्द्रराज गोसाई र बलराम पौडेलले महिला तथा बालिकाको सुरक्षामा गम्भीर हुँदै बलात्कारजस्ता घटना हुन नदिन र पीडितलाई न्याय दिन सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी सांसद राजेन्द्र पाण्डेले सरकारका धेरै काम सञ्चालन गर्न ऐन बनाउन ढिलाइ भएको भन्दै सांसदले संसद्मा दिएको समय थोरै भएको बताउनुभयो । बैठकमा सांसद जगतबहादुर सिम्खडा, रामकाजी महर्जन, भीमसेन खत्री, सन्तबहादुर प्रजा, राजेन्द्रमान श्रेष्ठ, ओमबहादुर घलान, चेतनाथ सञ्जेल र केशवराज पाण्डेले बोल्नुभएको थियो ।रासस







प्रतिक्रिया लेख्नुहोस्:-