कास्की, २० कात्तिक \ पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेकाे छ । मंगलवार भएकाे खेलमा चितवन राइनोजलाई तीन विकेटले हराउदै घरेलु टिमले उपाधि अाफै सँग राखेकाे हाे ।
पोखरा रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको एक सय ६१ रनको लक्ष्य पोखराले अन्तिम ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।
पिपिएललाइ उपाधि दिलाउने क्रममा रवीइन्दर सिँहले उत्कृष्ट ब्याटिङ गरे । ५८ बलमा उनले ९० रन जाेडे, जसमा तीन छक्का र १३ चाैका समावेस थियाे । त्यस्तै मोहम्मद नाभिदले २५ तथा शरद भेषवाकरले २२ रन जोडेका थिए । १९औँ ओभरमा दुई विकेट लिँदै चितवन खेलमा फर्कन खोजे पनि अन्तिम ओभरको दोस्रो बलमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै उपाधि पक्का गरेका थिए ।
चितवनका कप्तान पारस खड्काले ५१ रनको अर्धशतक तथा सन्नी पटेलले २१ बलमा ४३ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यही कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका थिए । चितवनका सन्नी पटेल प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै एक थान मोटरसाइकल पुरस्कार प्राप्त गरे । उत्कृष्ट बलर चितवनका करन केसी तथा उत्कृष्ट ब्याट्सम्यानको उपाधि काठमाडौँ रोयल्सका गौरव तोमरले जित्दै एक÷एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाए ।
सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेता पोखराले ट्रफीसहित रु २७ लाख तथा उपविजेता चितवनले रु १० लाखमा चित्त बुझायो ।
पोखराका ललितनारायण राजवंशी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर बन्दै रु एक लाख एक हजार तथा पोखराकै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै रु ५० हजार जित्न सफल भए । विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले पुरस्कार प्रदान गरे ।
राससकाे सहयाेगमा








प्रतिक्रिया लेख्नुहोस्:-