काठमाडाैं पुस १२ : सरकारले नेपाल र अमेरिका बीचकाे पर्यटन भिषा शुल्कमा परिमार्जन गरेकाे छ । मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न बिहवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिमार्जित भिषा शुल्कबारे जानकारी दिए ।
नेपाल र संयुक्तराज्य अमेरिकाबीच पर्यटक प्रवेशाज्ञा पारस्पारिकतासम्बन्धी प्रस्तावलाई समेत सरकारले स्वीकृत गरेको छ । नयाँ व्यवस्थाअनुसार पर्यटक प्रवेशाज्ञा लिँदा बुझाउनुपर्ने दस्तुरमा सन् २०१९ जनवरी १ देखि पर्यटक प्रवेशाज्ञामा पाँच वर्षे (१८० दिन प्रति वर्ष) बहुप्रवेशी प्रवेशाज्ञा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्नेछ ।
हाल अमेरिकी नागरिकले अमेरिकी डलर १६० र नेपाली नगारिकले अमेरिकी डलर १०० दस्तुर तिर्ने व्यवस्था छ । नेपाली नागरिकले अध्ययन प्रवेशाज्ञा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क अमेरिकी डलर २०० हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-