दमौली । तनहुँको भानु नगरपालिका–९ काउरेटारका २७ वर्षीय राजु विकको हत्या गरेको अभियोगमा तीनलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भएका हाल काउरेटारमा बस्ने २८ वर्षीया मनकुमारी विक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर भएर हाल सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक र लमजुङ दूधपोखरी–२ का ३५ वर्षीया मनमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विकको शव सोमबार काउरेटारस्थित रामप्रसाद हड्खलेको बारीमा खनिएको इनारभित्र फेला परेको थियो । दिदी मनकुमारी समेतले गत मङ्सिर १२ गते राति कुटपिट एवं चिर्पट प्रहार गरेर घाँटीमा नाम्लोले कसेर राजुलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये मनकुमारी र मनमाया दिदी हुन् भने आयुष भाइ हुन् । उनीहरुले राजुलाई कर्तव्य गरी मारेपछि इनारभित्र फालेर माथिबाट ढकन लगाएर शवलाई छोपेका थिए । राजुको शव कुहिएर गन्ध आउन थालेपछि स्थानीयवासीले इनार खोलेर हेर्दा शव भेटिएको थियो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदातलमा आज म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।
लागुऔषधसहित पक्राउ
प्रहरीले लागुऔषधसहित तीन जनालाई बन्दीपुर गाउँपालिका–१ चिसापानीबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर–१ का २६ वर्षीय इन्द्रबहादुर बाचे मगर, भानु नगरपालिका–१ का ३० वर्षीय बहरुल अमिन मियाँ र धादिङ गल्छी गाउँपालिका–१ का २४ वर्षीय भूपेश अधिकारी रहेका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत चिसापानीमा शङ्कास्पद रुपमा भेटिएका उनीहरुको शरीर खानतलासी गर्दा डाइजेपाम सिसी दुई एम्पुल, फेनरागन सिसी चार एम्पुल र नुफिन सिसी एक एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
रासस






प्रतिक्रिया लेख्नुहोस्:-