काठमाडौँ । सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।
समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।
उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताउनुभयो । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ । सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । कूल ६ सय ६२ सहसचिवमध्ये सङ्घमा ५ सय ६० र प्रदेशमा एक सय २ सहसचिवको समायोजन हुनेछ ।
रासस






प्रतिक्रिया लेख्नुहोस्:-