कठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन आज नेपाल आउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न यहाँ आइपुग्नुभएको हो ।
योहानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डले स्वागत गर्नुभयो । उहाँलाई करीब दुई वर्षका लागि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार २०१९ मार्च १ देखि २०२१ फेब्रुअरी २८ सम्म उहाँले नेपाली टोलीको नेतृत्व गर्नुहुनेछ ।
यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । पर्यटकीय भिसामा नेपालमा काम गर्नुभएका कोजीको श्रम स्वीकृतिलगायतका प्रक्रिया एन्फाले अघि नबढाउँदा उहाँ नेपाल आउन पाउनुभएको थिएन । उहाँको सम्झौता गत डिसेम्बरसम्म थियो । योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो ।
रासस
फाेटाे : साैजन्य गाेलनेपाल डट कम







प्रतिक्रिया लेख्नुहोस्:-