काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न १० लाखसम्म भक्तजन आउन सक्ने बताएको छ।
महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारेमा जानकारी गराएको हो ।
कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले यस वर्षको महाशिवरात्रिमा सवा करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै भीड व्यवस्थापन गर्न करिब १० हजार सुरक्षाकर्मी परिचालित हुने जानकारी गराए । कोषले १० वटा उपसमिति पनि गठन गरेको छ।
कोरोनाको तेस्रो लहर सकिएसँगै पशुपतिनाथको मूल मन्दिर शिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ। शिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरेको छ। शिवरात्रिको तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-