काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा संसद्को कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु समेतको साझा भएको बताए । कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरे पनि समयमै ल्याउन नसकिएको उनले बताए ।
मन्त्री यादवले २ लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको दाबी गरे । समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रियासमेत सुरु गरिएको उनले बताए । मन्त्री यादवले साल्ट ट्रेडिङ कम्पनीले ल्याएको २० हजार मेट्रिक टन डीएपी, २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भावना रहेको बताए ।






प्रतिक्रिया लेख्नुहोस्:-