काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। आज भएको खेलमा उसले कोशी प्रदेशलाई ११ रनले हराएको हो ।
रुविनाले रन बनाए पनि १ सय १६ रनको लक्ष्य लिएर आएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा कोशीलाई विजयका लागि १७ रन चाहिने अवस्थामा करुणा भण्डारीले रुविनालाई ज्योति पाण्डेबाट स्टम्प आउट गराइन् । रुविनाले ५८ बल खेली ७ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाइन् ।
रुविना र अप्सरी बेगमले सुरुआतमा खेल्न सकेका थिएनन् । अप्सरी २२ बल खेली ८ रनमा सोनु खड्काको सिधा थ्रोमा रनआउट भइन् । रुविनाले दोस्रो विकेटमा काजल श्रेष्ठसँग ६० रनको साझेदारी गरिन् । काजलले २९ बल खेली १ चौका प्रहार गरि २२ रन बनाइन् । लकिता राजवंशी ६ रनमा रनआउट भइन् । एपीएफबाट कप्तान सीता रानामगर र करुणाले १–१ विकेट लिइन् ।
राउन्ड रोबिन लिगको खेलमा एपीएफ अपराजित रहि विजेता बनेको हो । टोलीले राउन्ड रोबिन लिगमा सबै ७ खेल जितेको थियो । एपीएफले राउन्ड रोबिन लिग र क्वालिफायर १ मा कोशीलाई पराजित गरि फाइनल पुगेको थियो ।
दुई वर्षपछि एपीएफ पुनः प्रधानमन्त्री कप जित्न सफल भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-