राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । शवपरीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।
उखु खेतमा आगलागी
सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको उखु खेतमा आज आगलागी हुँदा रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।
सोही नगरपालिका–२ बस्ने इन्द्रेव लौगीले करीब १० कट्ठामा लगाएको उखु खेतमा अचानक आगलागी हँुदा पूर्णरुपमा उखु जलेर नष्ट भएको छ । उखुमा आगो लागेको देखेपछि स्थानीयवासी कृष्ण खड्गाले निभाउन खोज्दा उनी घाइते हुनुभएको छ । उहाँको जीउमा आगोले पोलेपछि भारदहस्थित भारदह अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्थानीयवासी इन्द्रनारायण राउतले जानकारी दिनुभयो ।
उखु खेतमा लागेको आगोलाई स्थानियबासी,प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट आएको बारुणयन्त्रले निभाएको थियो । आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
रासस
–––






प्रतिक्रिया लेख्नुहोस्:-