धनगढी । रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन शनिवार गरिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिताकाे उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गरे ।
बर्षाका कारण प्रतियोगिता उद्घाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो । दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।
डीपीएलको पुरस्कार राशीमा यस पटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा््िष्ट्रय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।
सहयोग गर्ने प्रदेश सरकारको प्रतिवद्धता
डिपिएलको उद्घाटन गर्दै सुदुरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगितालाई र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताए । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमनत्री प्रकाश शाह र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पनि मन्तव्य राखेका थिए । प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आयोजनापछि देशभर नै क्रिकेटमय भएको बताए । उनले डिपिएलपछि धेरै प्रतियोगिता हुँदा यसले खेलाडी उत्पादनमा टेवा पुराईरहेको बताए । फाप्लामा अन्तराष्ट्रिय मैदान निर्माणका लागि सार्वनिक निजि साझेदारी कार्यक्रम मार्फत अगाडी बढ्ने र त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताए ।
डीपीएल– ३ः उपाधिमाथि ६ टोलीको दावी
डीपीएलमा सदा झैँ ६ टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन् । यसपटक धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । र, एक उपाधिका लागि ६ वटै टोलीले नजर लगाएका छन् । प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छ । यस्तोमा ६ वटै क्लबका कप्तान र उपकप्तानले उपाधि जित्ने दाबी गरेका छन् । सबै टोलीले तयारी राम्रो गरेको कारण उपाधि आफ्नो बनाउने बताएका छन् ।
डीपीएलको प्रतिस्पर्धा अघि ६ टोलीका कप्तान र उपकप्तान के भन्छन त ?
सोमपाल कामी (कप्तान धनगढी स्टार्स )
उपाधि रक्षा गर्न चुनौती छ । हामीले सुरुमा र गत बर्ष ट्रफी जितेका छौं । यो तेस्रो पटक हुनेछ । त्यसैले हामीलाई दबाब भन्दा पनि चुनौती छ । नयाँ टिम ल्याएर खेल्दा चुनौती त भइहाल्छ । तर, हामी टिममा विश्वास गर्छौं । पानीको कारण क्याम्प भईरहेको छैन । नेट अभ्यास गर्न जाने योजनाहरु पानीले पुरा भएन । तर, खेलाडीहरुले फिटनेस क्याम्प गरिरहेका छ । होटलमा बसेर क्रिकेटकै बारेमा छलफल गरिरहेका छौं । खेलका लागि तयार छौं ।
दिपेन्द्र सिंह ऐरी (कप्तान, सिवाईसी अत्तरिया )
टिम तयारी राम्रो छ । विदेशी कोचहरु छन् त्यसले राम्रो प्रभाव पर्न सक्छ । विदेशी खेलाडी सन्नी पटेल र जयकिशन कोल्शावालाले डीपीएल र पीपिएल खेलिसकेका छन् । दुवै प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । मलाई लाग्छ राम्रो हुनेछ । हाम्रो टिम युवा टिम छ । सबैले राम्रो गरिरहेको छ । हाम्रो लक्ष्य उपाधि जित्ने रहेको छ ।
करण केसी (कप्तान, विराटनगर किंग्स)
तयारी राम्रो भईरहेको छ । बर्षाले अलिक बिगार्यो तर अभ्यासहरु राम्रो भईरहेको छ । टिम सन्तुलित छ । दुई विदेशी खेलाडी अभिनास यादव र शिवकान्त शुक्ला राम्रो छ । त्यो हाम्रो लागि बोनस जस्तै हो । तर, विदेशी खेलाडी धेरै निर्भर नहुँदा पनि टिम राम्रो छ । पहिलो पटक टिम कप्तान चुनिएको छु । खुशी लागेको छ । अब राम्रो प्रदर्शन गरेर अगाडी लैजाने योजना छ । टिमको लक्ष्य डीपीएल ट्रफी उचाल्ने रहेको छ ।
विक्रम शोव (उपकप्तान, रुपन्देही च्यलेञ्जर्स)
तयारी राम्रो भईरहेको छ । टिम राम्रो छ । हाम्रो प्राय अधिकांस खेलाडी युएईमा रहेको थियो । तर, हामीले भैरहवामा तयारी गरिरहेका थियौं । ७(८ दिनको क्याम्प राम्रो भयो । ब्याटिङ फिल्डिङ बलिङ सबै राम्रो छ । विदेशी खेलाडी बाबर हायत राम्रो छ । अर्को विदेशी खेलाडी पनि राम्रो छ । टिमको लक्ष्य उपाधि जित्ने नै रहेको छ ।
आरिफ शेख (उपकप्तान, महेन्द्रनगर युनाइटेड)
मौसमको कारण मैदानमा छिरेको छैन । तर, जिम र फिटमा तयारी गरिरहेका छौं । ट्रफी उठाउने लक्ष्य सबैको हुन्छ । हामीले पनि त्यहिँ अनुसार तयारी गरेका छौं । हाम्रो टिम एकदमै सन्तुलित छ । तर, जति सन्तुलित भएपनि मैदानमा देखाउनु पर्ने हुन्छ ।
अनिल कुमार साह (उपकप्तान,काठमाडौं गोल्डेन्स)
टिमको तयारी राम्रो छ । खेलाडीहरुले व्यक्तिगत रुपमा समेत तयारी गरेको छ । हाम्रो टिमको बलिङमा विविधता छ । ब्याटिङ लाइनअप पनि अन्तिमसम्म छ । अनुभवी खेलाडीहरु छ । विदेशी खेलाडीहरुको कारण पनि टिम सन्तुलित देखिएको छ । सबै टिमको चाहना ट्रफी जित्ने हुन्छ । जित्नु भन्दा पनि हामी राम्रो खेल्नुछ ।







प्रतिक्रिया लेख्नुहोस्:-