बिष्णुहरि घिमिरे / दूरबिन नेपाल
अमेरिका । नेपाली काँग्रेसले आफ्ना विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिको निर्वाचन क्रियाशिल सदस्यताको टुङ्गो लगाएपछि मात्र गर्न लिखित निर्देशन दिएको छ । महामन्री पूर्णबहादुर खड्काद्वारा फागुन ८ गतेको मितिमा हस्ताक्षरित परिपत्रमा चैत मसान्त सम्ममा क्रियाशिल सदस्यता आवेदन फारम भराइ केन्द्रमा पठाउन भनिएको छ ।
महामन्रीको नयाँ परिपत्रले नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनात्मक संरचना पनि भताभुङ्ग नै हुने सम्भावना बढेको छ । जनसम्पर्क समिति अमेरिकामा च्याप्टर र केन्द्र गरि दुई तहको समिति रहदै आएको छ । महामन्रीको पत्र जनसम्पर्क समितिको विधान, अहिले विद्यमान संरचना र च्याप्टरहरुका बारेमा मौन रहेको छ । जनसम्पर्क समिति अमेरिकाले यस अधि पहिला च्याप्टर र त्यसबाट छानिएका प्रतिनिधिद्वारा केन्द्रको अधिवेशन गराउदै आएको थियो । केन्द्रको अधिवेशन पछि क्रियाशिल सदस्यता वितरण गर्ने गरिएको थियो । तर अहिले जारी पत्रमा क्रियाशिल सदस्यता वितरण गरेर मात्र निर्वाचन गर्न भनिएको छ ।
काँग्रेसको विधानमा क्रियाशिल सदस्य हुनका लागि नेपाली नागरिकता अनिवार्य छ । महामन्री खड्काको पत्रले अमेरिकामा रहेका नेपाली काँग्रेस समर्थित सयौँले जनसम्पर्क समितिको पनि सदस्यता लिन बन्चित हुनु पर्ने भएको छ । जनसम्पर्क समिति अमेरिकाले नेपाली नागरिकता त्यागेकाहरुका लागि जनसम्पर्क समितिको मात्र सदस्यता दिने र नेपाली नागरिकता कायमै रहेका मध्येबाट क्रियाशिल सदस्यता र काँग्रेसको महाधिवेशन तथा महासिमितका लागि प्रतिनिधि छनौट गर्ने मोडालिटिमा अधिवेशन गराउने निर्णय गर्दै त्यसको अनुमोधनका लागि पार्टीमा सिफारिस गरेको थियो ।
महामन्रीको पत्र जनसम्पर्क समिति अमेरिकाको सिफारिसका बारेमा पनि मौन बसेको छ । जनसम्पर्क समिति अमेरिकाले अप्रिल ११ र १२ तारिकका लागि (चैत २९ र ३० गते) निर्वाचनको मिति तय गरेको थियो । यस्तै मार्च २८ सम्ममा च्याप्टरको अधिवेशन गर्ने तय भएको थियो । कतिपय च्याप्टरले अधिवेशनको तयारी पनि शुरु गरेका छन् । तर महामन्रीको पत्रमा चैत मसान्त सम्ममा क्रियाशिल सदस्यता वितरणको समय तोकिएको छ ।
पत्रमा भनिएको छ,”जनसम्पर्क समितिका लागि के कति संख्यामा क्रियाशिल सदस्यता फारम आवश्यक पर्ने हो, जनसम्पर्क समितिको बैठक बसी, बैठकको निर्णय प्रतिलिपि समेत संलग्न राखी यथाशिध्र केन्द्रमा फारम माग गर्न हुन जानकारी गराइन्छ ।’ क्रियाशिल सदस्यता फारम भरेर केन्द्रमा पठाए पछि, त्यसमा छानविन गरि केन्द्रले अनुमोदन गरे पछि मात्र जनसम्पर्क समितिको निर्वाचन गर्न पाइने छ ।
काँग्रेसका आमन्रित केन्द्रिय सदस्य एंव जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द बिष्टले महामन्रीको नयाँ परिपत्र पछि अब कसरी अगाडि बढ्ने भन्नेबारेमा शनिवार बैठक बसि निर्णय गर्ने प्रतिक्रिया दिएका छन् । दूरबिन नेपाल सँगको कुराकानीमा बिष्टले भने,” महामन्रीको पत्रले विदेशमा रहेर पनि नेपाली काँग्रेस प्रति शुवेच्छा राख्ने सयौँ जना जनसम्पर्क समितिको सदस्य बन्नबाट बन्चित हुनु पर्ने अवस्था आएको छ, यो निकै दुखदायी विषय हो, यसले विदेशबाट पनि सहयोग गर्दै आएकाहरुलाई पार्टी सँगको सम्पर्क विच्छेद गराउछ ।’
सभापति बिष्टले विदेशमा रहेका नेपाली काँग्रेस समर्थकले समय समयमा पार्टीलाई सहयोग गर्दै आएको स्मरण गर्दै उनीहरुलाई जनसम्पर्क समितिको पनि सदस्य बन्न नदिने हो भने भोली पार्टीलाई आवश्यक पर्दा किन सहयोग गर्ने भन्ने प्रश्न आउने बताए । बिष्टले थपे,’ विदेशमा रहेका नेपालीले आफैले सहयोग र नेपालमा रहेका परिवारका सदस्य मार्फत पार्टीका लागि सांगठनिक सहयोग गर्दै आएका छन् अब उनीहरुलाई जनसम्पर्क समितिको सदस्य बन्नबाट बन्चित गर्नु भनेको पार्टीका लागि ठूलो घाटा हो ।”
सभापति बिष्टले क्रियाशिल सदस्यताको फारम लिनका लागि पनि पहिला नै संख्या तोकिनु पनि अव्यवहारिक भएको बताए । ‘क्रियाशिल सदस्यता नविकरण र नयाँका लागि आह्वान भए पछि कति जना योग्य र इच्छुक हुन्छन त्यो शुरुमा नै कसरी थाहा हुन्छ र ? तर हामीलाई कति संख्यामा फारम चाहिने हो त्यो पहिला नै तोकेर पठाउन भनिएको छ, यो पनि अव्यवहारिक छ ।’
जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीले भने महामन्रीको पत्र नेपालको संविधान र पार्टीको विधान अनुसार नै भएको प्रतिक्रिया दिए । उनले भने,’पहिला हामीले टेक्सासमा निर्वाचन गराउदाको जस्तो अब परिस्थिति रहेन, पहिला जनसम्पर्क समितिलाई शुवेच्छुक संस्थाको रुपमा मात्र राखिएको थियो तर अब पार्टीकै इकाइको मान्यता दिएको छ ।’
च्याप्टरको संरचना अब के गर्ने भन्ने बारेमा साथीहरु बीचमा छलफलबाट टुङ्गो लगाउनु पर्ने सुवेदीको धारणा छ ।’२५ जना सम्म क्रियाशिल भएको च्याप्टर अस्थित्वमा रहन सक्छन् तर यदी कुनै राज्यमा २५ जना पनि क्रियाशिल सदस्य भएन भने ति च्याप्टर अब खारेज पनि हुन सक्छन् ।’
कानुनी झमेलामा जनसम्पर्क समिति
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन र निर्वाचन जुन मोडालिटीबाट गए पनि कानुनी झमेलामा पर्ने देखिन्छ । सिद्धान्तत नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन हो । तर जनसम्पर्क समिति अमेरिका अहिले अमेरिकी कानुन अनुसार गैरनफामुलक सामाजिक संस्था (५०१ सि) अन्तर्गत दर्ता भइ संचालित छ । अमेरिकामा दर्ता भएको संस्थाले अमेरिकामा बसोवास गर्ने व्यक्तिलाई सदस्यता दिन्न भन्नु कानुन विपरित हुन सक्छ । यस्तै नेपालको कानुनले गैर नेपालीलाई नेपालको राजनैतिक दल र उसका भातृ संस्थाको सदस्यता दिन बन्देज लगाएको छ ।
अर्को पाटो अमेरिकाको कानुनले अन्य मुलुकको राजनैतिक दलको भातृ संगठनको गतिविधिलाई बन्देज लगाएको छ । त्यस्तै अमेरिकामा बैधानीक रुपमा दर्ता नभएको संस्थाले आर्थिक करोवार गर्न पाउदैन । त्यसको अर्थ संस्थाको सदस्यता शुल्क देखि कुनै पनि आर्थिक कारोवार अवैध हुन्छ ।
यस्तै झमेलालाई चिर्न जनसम्पर्क समिति अमेरिकाको पछिल्लो बैठकले मध्यमार्गि बाटो रोजेको थियो । अमेरिकामा रहेका नेपाली काँग्रेस समर्थित सबैलाई जनसम्पर्क समितिको सदस्यता दिने तर क्रियाशिल सदस्यता काँग्रेसको विधान अनुसार नेपाली नागरिकता वहाकलाई मात्र दिने । समितिको यो मोडालिटिलाई पूर्व संयोजक सुवेदी पक्षले असहमति जनाउदै आएको छ । सुवेदी पक्षले पार्टी विधान अनुसार क्रियाशिल सदस्यबाट मात्र जनसम्पर्क समितिको अधिवेशन गराउनु पर्ने अडान राख्दै आएको छ ।
कदमकदाचित कुनै व्यक्तिले मैले जनसम्पर्क समिति अमेरिकाको सदस्यता किन नपाउने भन्दै कानुनी ढोका ढकढकायो भने त्यो संस्थाका लागि भारी पर्न सक्छ । किनिक अमेरिकामा दर्ता भएको सामाजिक संस्थामा नेपाली नागरिक बाहेक अन्यले सदस्य बन्न पाउदैन भन्नु कानुन संगत देखिदैन । हामी नेपाली काँग्रसको भातृ संगठन हौं त्यसकारण नेपालको संविधान र काँग्रेसको विधान अनुसार मात्र जनसम्पर्क समितिको सदस्यता दिन्छौ भन्नु पनि आफैमा गैर कानुनी हुन्छ । किनकी अमेरिकामा अर्को देशको राजनैतिक दलको संगठन खोल्न पाइदैन । जसरी नेपालमा अर्को मुलुकको राजनैतिक दलको संगठन खोलेर गतिविधि गर्न पाइदैन ।
जनसम्पर्क समिति अमेरिका ५०१ सि बाट बाहिर निकाल्ने हो भने पनि फेरि अर्को गैरकानुनी काम गर्नु पर्ने हुन्छ । त्यो भनेको आर्थिक पाटो हो । अमेरिकामा दर्ता नै नभएको संस्थाले कुन आधारमा सदस्यता शुल्क र बैक खाता संचालन गर्ने ? अझ त्यो भन्दा ठूलो कुरा महामन्री खड्काको पत्रमा क्रियाशिल सदस्यता शुल्क र पार्टीको लेभि अनिवार्य बैक खातामा दाखिला गर्नु पर्ने भनिएको छ । अमेरिकामा दर्ता नभएको संस्थाले नेपालमा पैसा पठाउनाका लागि ‘हुण्डी’ को भर पर्नु पर्ने हुन्छ । त्यो भनेको अमेरिका र नेपाल दुबै देशका लागि गैरकानुनी काम हो ।
महामन्री खड्काको पत्रको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नु होस ।
16-Janasampark-samiti-Circular
प्रतिक्रिया लेख्नुहोस्:-