काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आज भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनीलाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो ।
त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालबाट घातक बलिङ गरेका ललितनारायण राजवंशीले पाँच विकेट लिए । ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक एकै खेलमा पाँच विकेट लिएका हुन् । ७।५ ओभर बलिङ गरेका ललितले दुई मेडन राख्दै २० रन मात्र खर्चिए ।
सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक विकेट लिए ।
प्रतिक्रिया लेख्नुहोस्:-