–राजेन्द्र उप्रेती
केहीदिनको मुगु यात्राको सिलसिलामा म अप्रिल १, २०१८ बिहान ७:३० बजे नेपालगंज उडें | मलाई कति छिटो मुगु पुगुँ र सुन्दर राराको अवलोकन गरुँ भन्ने उत्साह र हतार थियो | समयमा नेपालगंज पुगें र सिधै काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको लागि ट्राभेल एजेन्सी भएको ठाउँ गएँ। तर, एजेन्सीले मलाई निराश बनाएर पठायो। रारा-कर्णाली महोत्सब शुरु हुन लागेकोले बैसाख पहिलो हप्तासम्म टिकट पाउन कठिन भएको बताउँदै टिकट दिन असमर्थता जनायो। परेन फसाद! अब के गर्ने होला ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किनु अघि रारा बोलाउँछु, रारा घुमाउँछु भन्नेदेखि अरु कति कति..। तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकानाचुर भए जस्तो लाग्यो | अब के गर्ने गर्ने, अरु धेरै ठाउँ बुझें, तर टिकट पाउन गाह्रो सकिएन | केहीसिप नलागेपछि गाडीबाट जान्छु भनेर बसपार्क तिर गएँ। धेरै प्रयास गरें तर मुगु भन्ने बितिकै बस काउन्टरदेखि ट्राभल एजेन्सीसम्म नाक खुम्च्याउन थाले। त्यो प्रयास पनि संभव भएन। अब प्लेनको टिकटको लागि थप प्रयास गर्न कै लागि भएपनि नेपालगंज नै बस्नु पर्ने भो।
दोस्रो दिन प्लेन टिकटको लागि धेरै ठाउँमा प्रयास गरें। एकजनाले भोलिको लागि टिकट मिलाउन सकिएला भनेर आश्वासन दिएका थिए तर बिहान सम्पर्क गर्दा मोबाइल अफ गरेर गायब भएछन्।अब के गर्ने होला ? अब जे होला होला भनि सबेरै एयरपोर्ट गएँ र समान चेकइन गरी सिधै काउन्टरमा ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भनें – ‘म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्नेछ।’ तर कसैबाट पनि टिकट मिल्ने प्रतिक्रिया पाइएन |
अन्ततः एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै बादविवाद गरेर टिकेट पाउन सफल भएँ। युद्द जिते झैँ लाग्यो। नेपालगञ्जबाट रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजा बाहक जहाज चैं आधा प्लेन खाली हुन्छ रे । यसको कारण नीजि बिमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो। हाम्रो भन्दा पहिले २ वटा प्लेन उडे – एउटा तारा र नेपाल एअरलाइन्सको। लगभग २ घण्टापछि ताराको जहाज फर्कियो। रारा जाने सबै यात्रुहरु प्लेनतिर हानिए। यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडमा चल्ने कुनै लोकल बस जस्तो।न कुनै सरसफाई, न कुनै परीक्षण। सिधै झर्ने यात्रु झरे, अनि चड्ने यात्रु चढे | म चढेको विमानमा लगभग १० जना बिदेशी यात्रीहरु थिए, उनीहरुका लागि चार्टर्ड गरिएको जहाज थियो सायद| प्लेन उड्यो।
विदेशीहरु भएर हो कि सँधै यस्तै हो थाहा भएन, तर आज विमानले ताल्चा विमानस्थलमा ल्याण्ड गर्नु अघि रारा तालको पुरै चक्कर लगाएर अद्भूत प्राकृतिक सुन्दरताले सजिएकी राराको हवाई अवलोकन गराइदियो। विमानस्थलको अवस्थिति हेर्दा अवतरण गर्नु अघि निकै डर लागेको थियो। विमान पहाडमै ठोकिन्छ कि झैँ लाग्ने। भर्खरै राराको एरिएल-भ्यूबाट दंग परेका विदेशीहरु पनि एकछिन् त आत्तिए। विमान सजिलै अवतरण गर्यो | हामी सबै खुसी भयौं।
विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटें। मैले ‘दाई मलाई त् टिकेट पाउन सारै गारो पो भयो त’ भनेको त उहाँले जवाफ दिनु भयो ‘भाई यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले टिकट मिल्यो भनि आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो ” | उहाँ केहिसमय अगाडी नेपाल एअरलाएन्सको प्लेनबाट मुगु आउनु भएको रैछ।
अब म जानु पर्ने गमगडी। गाडीको मनपरी रहेछ। जम्मा ५ कि.मि. दूरी छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो। अर्को बिकल्प नै छैन।
गमगडी बजारमा होटेलको खोजि गरें। एउटा होटलमा गएको जम्मा ४ रूम थिए तर सब प्याक। अर्कोमा गएँ, त्यहाँ पनि त्यस्तै। अनि साथीलाई फोन गरें, एउटा होटेलको नाम दियो । होटेल भिजिट कर्णाली। त्यहाँ रूम भेटियो अनि बसियो २ दिन गमगडीमा र आफ्नो काम सकाएँ।
मलाई गमगडीबाट रारा हुदै पिना भन्ने गाउँमा जानु थियो। बिहानै ५:३० तिर रारासम्म गाडी जान्छ भन्ने सुनेर गाडी भएको ठाउँमा गएको त भाडा पाचँ हजार रुपैया रे। कम्तिमा ४ जना हुनै पर्ने। कुरा मिलेन अनि सहयोगी साथीलाई सोधे – ‘हिडेर कति समय लाग्छ ? “ उसले भन्यो ‘रारा ३/४ घण्टा अनि पिना गाउँ पुग्न त्येस्तै रारा घुमेर गयो भने ७/८ घण्टा”। त्यसपछि मैले हिंडेरै जाने निधो गरें। बिहान १० बजे तिर रारा पुगियो | आहा!!आकाशबाट देखिएको त्यो दृश्य अनि जमिनबाट हेर्दा साँच्चिकै रारा त धर्तीमा स्वर्गको एउटा टुक्रा खसे जस्तै लाग्यो। बिछट्टै सुन्दर रारा, त्यसै भनेका होइन रहेछन् राजा महेन्द्रले ‘रारा कि अप्सरा?’ राराको दृश्याबलोकन पछि रारा ताल छेउ मै रहेको होटेलमा खाना खायौं र भबिस्यमा साथीहरुलाई घुमघाममा सहज होस् भनि केही सूचना संकलन पनि गर्यौं।
होटेल र स्थानीयस्तरको सुविधाको वास्तविकता (मैले जे देखें)
- दुईवटामात्रहोटलरहेछन्, पुरैमनोमानी।अझसुनेकोतदुईमध्ये एउटाहोटलमाओवादीरअर्कोएमालेनामबाटथानीयरुपमापरिचितरैछ। सायददुईटामात्रभएरहोलाकांग्रेसनामकोहोटलपनिछभनेरकसैलेभनेनन्।
- काठै-काठले बनेको होटलको एउटा कोठाको रु दुई हजार भाडा र टेन्टको दुई हजार पाँच सयसम्म पर्दों रे’छ।
- फलफूल र ड्राई फुड पनि खासै नपाउने। पाइलहाले पनि अचाक्ली महंगो। एक बोतल पानीलाई रु. ७०,चाउचाउ रु. ७०, एक प्याकेट ७० बिस्कुटको रु. ६०। सायद व्यवसायमा सीमित व्यक्तिको एकाधिकारले त्यस्तो भएको होला।
- मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन। अलि भिड्भाड् भएको बेला न खाना पाइन्छ, न बस्न। तसर्थ समुहमा जानेहरुले पोर्टेवल टेन्ट लगाएतका केही ड्राई-फुड लिएर जानु निकै बुद्धिमानी हुन्छ।
- बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो । लगेको गाडी बिग्रेर यात्रीहरुको बिचल्ली त्यस्तै। मर्मत गर्ने न मेकानिक्स, न ठाउँ। बाटोको अवस्था त झनै नाजुक।
- धर्तीको स्वर्गमा मान्छेहरुको अव्यवस्था र जताततै देखिने बिजोग व्यवस्थापन साह्रै खट्किने खालको।
- राराको बिकासको लागि भएको करोडौं खर्च पटक्कै सदुपयोग भएको पाइएन।
- स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
- राराबाट फर्किने जुनसुकै यात्रुको जाँदाको उत्साह फर्कँदा पाइएन। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि होटल, यातायत लगाएतका आधारभूत सुविधा बढाउन लागे मात्र स्थानीयहरुले फाइदा पाउने देखिन्छ।
राराको सुन्दरताले उत्प्रेरित हुँदै ८ घण्टा हिढेर पिना गाउँ गैयो। राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी मान्छेहरुको बस्ति। त्यहाँ समुदाय संगको अन्तरक्रिया सकाएर जुम्ला फर्किएँ। कतै हिंड्दै, कतै स्थानीय यातायातको प्रयोग गर्दै १६ घण्टामा पिनाबाट जुम्ला पुगियो। जुम्लामा मित्र सम्पूर्ण पौडेलसंगको भेटले झनै रमाइलो बनायो। शनिवार एकदिन सम्पूर्णले मेरो त्यहाँको बसाईमा साथ मात्र दिएनन्, मेरो कामलाई समेत सहजीकरण गरिदिए। जुम्लाको काम सकाएर सडकमार्गबाटै कालिकोट हुदै नेपालगंज फर्किएपछि मलाई मात्र होइन पहिलो पटक राराको यात्रा गर्नेहरु सबैलाई जीवनमा निकै साहसिक यात्रा गरेको अनुभव हुँदो रे’छ। त्यही साहसिक यात्रा टुंग्याएर फर्के पछि लाग्यो, मैले पनि त्यही साहसिक यात्रा गर्न तम्सनेहरु र रारालाई गतिलो पर्यटन गन्तव्य बनाउन लागिपरेकाहरुका लागि सहज होस् भनेर केही बुँदागत सुझाव लिपीबद्द गर्न मनासिब सम्झें।
राज्य तथा सरोकारवालाहरुलाई सुझाब:
- प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएकोछ। अब सरकारले त्यहाँसम्म जाने बाटो सजिलो र छिटो बनाओस्। बस्नका लागि यथेष्ट होटल/लजको व्यवस्था।
- हावाई यातायातको भरपर्दो व्यवस्था। विमनस्थलको स्तरोन्नती गरेर नीजि विमान सेवाहरुलाई उडान भराउने व्यवस्था।
- आधारभूतरआकस्मिकस्वास्थसेवा।यात्रीहरुकोसुरक्षाव्यवस्था।स्थानीयश्रम, स्रोतरसाधनकोउपयोगमाजोड्।
- मोवाइल फोन र इन्टरनेटको भरपर्दो व्यवस्था।
- नेपालगंजबाट मुगु मात्र होइन, काठमाण्डू लगाएतका क्षेत्रीय विमानस्थलहरुबाट समेत रारासम्मको हवाईसेवा संचालनमा जोड्।
- पैदल तथा हवाईयात्रीहरुले पोर्टेवल टेन्ट लगाएतका आधारभूत सामानको जोहो गरेर गएमा बस्ने होटल नपाए पनि अलपत्र हुनु पर्दैन।
- राष्ट्रिय ध्वजाबाहक जहाजको संचालन र व्यवस्थापनमा भैरहेको लापर्बाही तत्काल सुधार हुनुपर्छ र दुर्गम गन्तव्यहरुमा उडानको भरपर्दो सेवा दिइनु पर्छ।
- बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटिबाट जानकारी दिने व्यवस्था।
- ताल्चा विमानस्थलबाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाबिक भाडा हो र ? यसको प्रभावकारी अनुगमन होस् र यात्रीहरुलाई जथाभावी ठग्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ।
- स्थानीय होटल लगाएतका व्यवसायहरुबाट यथोचित कर संकलनको व्यवस्था भैहाल्नु पर्छ।
- रारामा केही व्यक्तिहरुको सिण्डिकेट रहेको होटल व्यवसायमा खुल्ला प्रतिस्पर्धाबाट स्तरीय र सस्ता होटलहरु खुले मात्र आन्तरिक र बाह्य पर्यटक बढ्ने हुन्। एकपटक पुगेकालाई दोहर्याएर जाने बनाउने र गएकाहरुबाट अरुलाई जान प्रोत्साहित गरिए मात्र पर्यटक बढ्ने हो। स्थानीयस्तरमा बढी पर्यटक आउने र उनीहरुलाई सेवा दिन सक्ने सामर्थ्य र सुविधा नबढाई गरिने प्रचार-प्रसारले मात्र आन्तरिक वा बाह्य पर्यटक बढ्ने होइन।
- कर्णालीको बिकाशमा अन्तराष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोग लिएर भए पनि रारा लगाएतका सुन्दर प्राकृतिक उपहारलाई समग्र कर्णालीको विकासका लागि प्रयोग गर्न सकिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट पर्यटन विकासको बिगुल त फुके, अब जनता यसको सफल कार्यान्वयन भएको हेर्न चाहन्छन्। रारा पर्यटनले त्यहाँका विपन्न र गरीब जनताहरुको जीवनस्तरमा देखिने गरि परिवर्तन भयो भने मात्र त्यहाँबाट तपाईंले गरेका सुन्दा मज्जा लाग्ने विकासे योजना मिसिएका भाषण काम लाग्छन्।
रारा आउन चाहनेहरुका लागि केही सुझाब:
- देशभित्रै भएको प्रकृतिको सुन्दर उपहार रारा जानै पर्छ। तर जानका लागि केही तैयारी भने गर्नै पर्छ। सकेसम्म समुहमा जाने र यात्राका लागि चाहिने पोर्टेवल टेन्ट, स्लिपिंग ब्याग, खानेकुरा र पानी, औषधी, संचार साधनको राम्रो व्यवस्था गरेर जाने।
- हिंड्न नसक्ने र स्वास्थ्य समस्या भएकाहरुले आउने-जाने प्लेनको टिकट सुरक्षित गरेर मात्र जाने। केही दिन प्लेन उडेन भनेपनि पुग्ने खर्च र थप समय बिचार गरेर मात्र यात्रामा निस्कने।
- सकेसम्म स्थानीय उत्पानहरुको उपभोग र स्थानीयहरुलाई फाइदा पुग्ने सामग्रीको प्रयोग गरिदिने।
- स्थानीय सामान/ खाद्य सामग्री नभएको बेलाका लागि केही ड्राई फुड र पानीको व्यवस्था आफै गरेर हिड्ने ।
- यदि आफ्नै वा भाडाको गाडी लिएर जाने हो भने गाडीको टायर लगाएतको प्राविधिक जाँच राम्रो संग गराएर मात्र जाने। सके कम्तिमा दुईवटा स्पेयर टायर र केही जगेडा ईन्धन समेत लिएर जाने। पहाडी बाटोमा गुड्न सजिलो हुने, हाई-ग्राउण्ड क्लियरेन्स भएको, फोर-व्हील ड्राइभ भएको गाडी हुनु अति जरुरी छ।
यहाँहरु सबैको आगामी रारा यात्रा सुखद र अविस्मरणीय रहोस्।
-(यात्री डढेल्धुराका बासिन्दा र सामाजिक परिवर्तनका लागि दशकौं देखि निकै सक्रिय युवा हुन्।)
प्रतिक्रिया लेख्नुहोस्:-