अमेरिका । प्रजातन्त्रका सेनानी श्यामकुमार तामाङको निधन प्रति तामाङ समाज अमेरिकाले दु:ख व्यक्त गरेको छ । श्याम कुमारको वैशाख ७ गते नेपालगन्ज स्थित आफ्नै निवासमा हृदयघातको निधन भएको थियो । उहाँ ९० वर्षको हुनुहुन्थो ।
समाजकी अध्यक्ष सानुमाया तामाङले विज्ञप्ति जारी गर्दै श्याम कुमार प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेकी छिन् । यस्तै उनले दिवंगत आत्माले चीरशान्ति प्राप्त गरोस् भन्दै भगवान बुद्धसँग हामी प्रार्थना गर्दछौ भनेकी छिन् ।
श्यामकुमार तत्कालिन राणा शासन विरुद्ध आन्दोलन गर्न गठित जनमुक्ति सेनाका कमाण्डर हुन् । समाजको विज्ञप्तिमा भनिएको छ,’२००७ सालमा निरंकुश जहानिया राणा एकतन्त्रीय शासन व्यबस्थालाई उन्मुलन गर्न सफल भएका तत्कालिन जनमुक्ति सेनाका एक प्रमुख कमान्डर श्याम कुमार तामाङ क्रान्तिको एक कमान्डर मात्र नभएर उहाँ सफल योजनाकार पनि हुनुहुन्थ्यो।’
विधार्थीकालमै प्रजातान्त्रिक आन्दोलनमा होमिएका तामाङले २००७ सालको क्रान्तिमा जनमुक्ति सेनाले खेलेको भूमिकालाई “जनमुक्ति सेना: नलेखिएको एउटा इतिहास” भन्ने पुस्तक मार्फत उजागर गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-